काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीका विरुद्ध संसदमा दर्ता गरिएको महाअभियोगका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ।
प्रधानमन्त्री दाहाल बिहीबार विहानै सभापति देउवाको निवास बुढानिलकण्ठ पुगेका थिए। दुई नेताबीच संसदमा दर्ता भएको महाभियोग प्रस्ताव बारे छलफल भएको थियो। ‘प्रधानमन्त्री विहानै सभापतिलाई भेट्न आउनु भएको थियो,’ देउवाका स्वकीय सचिव भानु देउवाले भने।
एमाले र माओवादीका एक सय ५७ सांसदको हस्ताक्षरसहित बुधबार संसद सचिवालयमा अख्तियार प्रमुख कार्की विरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपनि कांग्रेसले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छैन। कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठले महाभियोग प्रस्तावका विषयमा कांग्रेसलाई कुनै जानकारी नभएको बताएका छन्। तर, प्रधानन्त्री दाहालले देउवालाई संसदमा दर्ता भएको महाभियोगको समर्थन गर्न आग्रह गरेको निकट स्रोतले जनाएको छ। महाभियोगलगायका विषयमा छलफल गर्न माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठक जारी छ।
प्रकाशित: ४ कार्तिक २०७३ ०५:०९ बिहीबार