coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

गर्मीमा लस्सी

मौसम बदलिँदो छ। त्यसकारण यस्तो मौसममा रोग लाग्न नदिन सचेत हुनुपर्ने चिकित्सक बताउँछन्। यो मौसममा बिरामी पर्ने जोखिम रहेकाले खानेकुरामा विशेष ध्यान दिनुपर्ने चिकित्सकको सुझाव छ।

बजारमा विभिन्न प्रकारका पेय पदार्थ पाइन्छन्। बजारमा पाइने पेय पदार्थभन्दा घरमा नै लस्सी बनाएर खानु लाभदायक मानिन्छ। घरमा नै विभिन्न फ्लेबरको लस्सी बनाउन सकिन्छ।

पाटनकी पुष्पा कार्की घरमै दैनिक दुई गिलास लस्सी खान्छिन्। ‘बिहानको खानापछि हामी सधैँ लस्सी खान्छौं, कहिले नुनिलो स्वादमा त कहिले गुलियो,’ उनी भन्छिन्।

बजारमा पाइने लस्सीभन्दा घरमै बनाइएको लस्सी खानु स्वास्थ्यका लागि फाइदाजनक भएको उनको भनाइ छ। ‘सरसफाइ र पानीको कारणले थरीथरीका रोग लाग्ने हुँदा सकेसम्म घरमै लस्सी बनाएर खानु राम्रो हुन्छ,’ उनले भनिन्।

कहिलेकाहीँ दहीमा पानी राखेर खाने गरेको उनी बताउँछिन्।

लस्सीको सुरुवात भारतको पञ्जावबाट भएको मानिन्छ। पञ्जावमा एउटा भनाई नै छ– लस्सी ते लडाई जिनी बढाब बढ जंदी है। अर्थात्, लस्सी र लडाइ जति चाहे उति बढ्दै जान्छ।

पञ्जावी संस्कृती अनुसार लस्सी पिउने गिलास नै छुट्टै हुन्छ।

गर्मीमा लस्सीको अत्याधिक प्रयोग गर्मी छल्नको लागि प्रयोग गरिन्छ।

बजारमा पाइने पेयपदार्थभन्दा लस्सी पिउन रुचाउने ग्राहक धेरै रहेको बताउँछन्, पाटनढोकाको गणेश मन्दिर नजिकै रहेको लस्सी स्टेसन एन्ड टि सपका सञ्चालक चन्द्र महर्जन। उनी मौसम अनुसारको फलफूल राखेर भेराइटी बनाउँछन्।

‘अहिले त लस्सी हरेक क्याफे तथा रेस्टुराँमा अनिवार्यजस्तै भइसकेको छ,’ उनले भने। विदेशी पाहुनाले पनि लस्सी रुचाएको उनको अनुभव छ। उनी भन्छन्, ‘पर्यटकहरू चिसो मौसममा पनि लस्सीको स्वाद चाख्न आउँछन्, उनीहरूलाई मौसमले फरक पार्दैन, स्वाद मात्र चाख्न रुचाउँछन्।’

काठमाडौंमा लस्सी खान पर्यो भने धेरैको मुखमा नाम आउँछ– इन्द्रचोकको लस्सी पसल। केही दिनअघि पसल पुग्दा कपनकी मञ्जु बुढाथोकी लस्सी खाँदै थिइन्। गर्मीले अत्याएपछि एक गिलास चिसो ड्राइ फुडयुक्त लस्सी खाएको उनले बताइन्। ‘दिनभरी हिँड्दा गर्मीले थाकिन्छ, पानी जति खाए पनि प्यास मेटिँदैन। त्यही भएर लस्सी खान आएकी हुँ,’ उनले भने। एक गिलास लस्सी खाँदा पनि शरीरमा ऊर्जा आउने उनी बताउँछिन्।

गर्मीमा केमिकलयुक्त पेयपदार्थ पिउनु विषसरह भएको पोषणविद् डा. अरूणा उप्रेती बताउँछिन्। यस्तोमा लस्सी उपयुक्त हुने उनको भनाइ छ।  उनी भन्छिन्, ‘घरमा नै लस्सी बनाउन सके लाभदायक हुन्छ।’ लस्सीमा पानीको मात्र प्रशस्त हुने भएकाले अति उपयोगी हुने उनी बताउँछिन्।

लस्सी खाँदा अपज, पेटको गडबढी, कब्जियत लगायत रोग नियन्त्रणमा प्रभावकारी हुने उनी बताउँछिन्। त्यस्तै, दहीको लस्सीले हड्डी पनि बलियो बनाउने उनको भनाइ छ।  ‘दहीमा प्रशस्त क्याल्सियम हुन्छ, जसले हड्डी बलियो बनाउँछ। त्यसैले शरीरका लागि लस्सी उपयोगी मानिन्छ,’ उनले भनिन्।

गर्मीमा दैनिक रूपमा बिहान अथवा बेलुकी लस्सी पिउनु पर्ने उनी सुझाउँछिन्। उनी भन्छिन्, ‘शरीरले सहन सक्ने गरी खानुपर्छ। कतिपयलाई एलएर्जी हुन सक्ने भएकाले सचेत हुनु पर्छ,’ उनी सुनाउँछिन्।

लस्सी गर्मी मौसममा रुचाइने पेयपदार्थ हो। गर्मी छल्नका लागि लस्सी खाने गरिन्छ। बजारमा सामान्य प्लेन लस्सीदेखि विभिन्न स्वादका लस्सी पाइन्छन्।

रुचि र स्वाद अनुसार घरमा नै लस्सी बनाएर खान सकिन्छ। यसका लागि भान्छामा उपलब्ध हुने सामग्रीको प्रयोग गर्न सकिन्छ।

प्रकाशित: ६ वैशाख २०७६ ०५:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App