coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

सडकपेटी नहुँदा समस्या भोग्नुपरेको छ

काठमाडौं महानगरपालिका वडा १ नक्सालमा यस्ता छन् समस्या
सडकपेटी नहुँदा समस्या भोग्नुपरेको छ
सचेनकुमार तण्डुकार (स्थानीय, नागपोखरी नक्साल)
सडकपेटी नहुले पैदल यात्रुले समस्या भोग्नुपरेको छ। मेलम्ची खानेपानी आयोजनाले पानीको पाइप बिछ्याउन केही महिनाअघि सडक खनेको थियो। तर, अहिलेसम्म पिच गरिएको छैन। जसले गर्दा धुवाँ र धुलो खान बाध्य छौँ। पानी पर्दा सडक हिलाम्मे हुन्छ। ढलको पाइप १२ इन्चको हाल्नु पर्ने ठाउँमा ६ इन्चको मात्रै हालिएको छ। त्यसैले पाइपको क्षमताभन्दा धेरै ढल भएकाले बारम्बार ढल फुट्छ। सडकमा पनि खाल्डाखुल्डी छन्। जसका कारण यात्रु र सवारी चालक मारमा परेका छन्। अर्को समस्या होटलको छ। हाम्रै अगाडि एउटा ठूलो होटल छ। प्राकृतिक विपत्ति आइरहेको बेला अहिले त्रास लिएर बस्नुपरेको छ।

खानेपानी मध्यरातमा आउँछ, जसले गर्दा निद्रा बिथोलिन्छ। नन्दीकेशर बहाल बनाइएको छैन। रानी पोखरीको स्तम्भमा टेको लगाएको दुई वर्ष हुँदा पनि अझै निर्माण हुन सकेको छैन। यस्ता थुप्रै समस्या छन्। तर, सरकारी जनप्रतिनिधिले यसलाई बेवस्ता गरेका छन्।

ढल व्यवस्थापन भएन
श्याम मानन्धर (स्थानीय, नक्साल)
सडकको समस्या छ। सबै वडाको मुख्य सडक नागपोेखरी, भगवतीबहाल लगायतमा खाल्डाखुल्डी छन्। खानेपानीको लागि सडक खनिएको एक महिना बित्दा समेत सडक पिच हुन सकेको छैन, जसले गर्दा पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे भएको छ। अर्को ढलको ठूलो समस्या छ। ढलको मंगाल अग्लो ठाउँमा राखिएकोले ढल फुट्दा ओरालोमा बगेर सबै  घरको पेटी नाघेर घरभित्र ढल छिरेको हुन्छ। त्यसैले सम्बन्धित निकायले तत्काल यो सडक पिच र ढलको मर्मत गर्नु पर्छ। यो ठाउँमा अहिलेसम्म पनि ब्रुमर पनि चलेको छैन। साँघुरो सडक भएकोले यहाँ अत्यधिक सवारी जाम हुने गरेको छ। बिजुली र इन्टरनेटका तार अव्यवस्थित छन्। यसले यो टोलको शोभा नै घटाएको छ। स्थानीयको ज्यान जाने समेत उच्च जोखिम छ।
सडक पिच भएन
अजय श्रेष्ठ (स्थानीय, भगवतीवहाल)
यहाँ ढलको व्यवस्थापन छैन। मेलम्ची खानेपानी आयोजनाले भगवतीवहालदेखि चारढुंगे चोकको करिव आधा किलोमिटरको सडक पाइप हाल्न केही महिनाअघि खनेको थियो। तर, अहिलेसम्म पिचसँगै ढल निर्माण हुन सकेको छैन। ढल निकास नहुँदा पानी परेको समयमा टोल डुबान हुन्छ। सडकबाट सबैको घरभित्र ढल पस्छ। हप्ता–हप्तामा खानेपानी आउनु पर्ने थियो। तर, अझै पानी आएको छैन। सडक साघुरो हुँदा र पानी परेको बेला यहाँ एक घण्टासम्म सवारी जाम हुने गर्छ। बिजुली र इन्टरनेटको तार व्यवस्थित नहुँदा टोल र सहर नै कुरूप बनेको छ।  
नक्साललाई पर्यकीय गन्तव्य बनाउने छु
भरतलाल श्रेष्ठ (वडा अध्यक्ष)
मेलम्ची खानेपानी आयोजनाले यहाँको पाइप हाल्न सडक खनेकाले उनीहरूले नै ग्राबेल गरी सडक पिच गर्नुपर्छ, हामीले होइन। तर, पनि मैले छिटो पिच गर्न आयोजनालाई ध्यानाकर्षण गर्दै आएको छु। नागपोखरी लगायको मुख्य सडकमा पैदल मार्ग बनाउन आवश्यक छ। यसको लागि वडावासीमा जानकारी राखेका छौँ। सडकपेटीको काम आर्थिक वर्षबाट सुरु गछौँ।

कमलपोखरी देखी सिंहदोबाटोसम्मकोे करिब एक किलोमिटर जीर्ण सडक वैशाखसम्ममा निर्माण गछौँ। अरु ठाउँको पनि सडक धमाधम मर्मत गरिरहेका छौं। अग्रवाल भगवतीदेखि कुमारीथान (कमलपोखरी)सम्म को सडकमा ढल सानो भएकोले फेरि मर्मत गर्ने योजनामा छौँ। ढल जाम गर्न नदिनको लागि मंगाल बेलाबखतमा सफा गर्छाैं। पहिलेभन्दा अहिले ढलको राम्रो व्यवस्थापन भएको छ। ढल निर्माणमा निरन्तर लागि परेका छौँ।
नक्साललाई पर्यटकीय गन्तब्य बनाउनको लागि स्वीकृति लिएर नै होटल बनाएका हुन्। विकास गर्ने क्रममा केही समस्या आउन सक्छ। तार व्यवस्थापन नहुँदा महानगरपालिका र मेरो वडा नै कुरूप बनेको छ। यो ठूलै समस्या हो। यसको व्यवस्थापनको लागि हामीले काम गर्ने होइन। सरकारले तार अन्डर ग्राउन्ड गर्ने योजना ल्याएको भन्ने सुनेको छु। त्यसपछि यसको समाधान होला।

नक्साललाई हेरिटेजको विकास गर्न खोजेका छौँ। यस वडामा वार्षिक बजेट तीन करोड विनियोजन भएको थियो। सबै बजेटबाटै विकास निर्माणको काम गर्दे आएका छौँ। म जनप्रतिनिधि भएपछि यहाँका जनताको समस्या पहिचान गरी यसैमा केन्द्रित रहेर काम गरेको छु। भगवतीमार्गको एक किलोमिटर बाटोमा ब्लाक छाप्ने काम सम्पन्न भइसकेको छ। मलाई हाम्रो वडा सम्पन्न भएको जस्तो लाग्छ। शंककृति महाविहार पुरातत्व विभागबाट निर्माणको लागि अन्तिम चरणमा पुगेको छ। नन्दिकेशर महादेव मन्दिर बनाउनको लागि पहल गरेको छु। यसको काम आर्थिक वर्षमा सुरु हुन्छ। वडामा देखिएका समस्या समाधान गर्दै जानेछु। मेरो कार्यकालमा मैले गरेका प्रतिवद्धता पूरा गर्नेछु। वडाको पर्यटकीय विकासका लागि काम गर्ने मेरो सोच छ। काम गर्दा भएका कमीकमजोरीलाई सुधार्दै जाने छु।
प्रस्तुति: श्याम राई

प्रकाशित: ६ वैशाख २०७६ ०५:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App