१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

हनुमानढोका–स्वयम्भू पदयात्राको गुरुयोजना तयार

काठमाडौं महानगरपालिकाले हनुमानढोका दरबार क्षेत्रदेखि स्वयम्भू स्तुपासम्मको पैदयात्राको गुरुयोजना सार्वजनिक गरेको छ। महानगरले विश्वसम्पदा दिवसको अवसरमा बिहीबार गुरुयोजना सार्वजनिक गरेको हो। विश्व सम्पदा दिवस २०१९ को सन्दर्भ पारेर महानगरको सम्पदा तथा पर्यटन समितिले बिहीबार स्वयम्भूबाट निकालेको सम्पदा -याली हनुमान ढोका पुगेपछि आयोजना गरिएको समारोहमा गुरुयोजना र मोबाइल एप सार्वजनिक गरेको थियो। स्वयम्भूको भुइँखेलबाट निकालिएको -याली बिष्णुमती नदी पार गर्दै, नरदेवी, ढोकाटोल हुँदै मरुगणेशबाट हनुमानढोका पुगेको थियो।

महानगरका प्रमुख विद्यासुन्दर शाक्यले गुरुयोजना सार्वजनिक गर्दै जीवन्त सांस्कृतिक सम्पदालाई पर्यटनसँग जोडेर स्थानीयको जीविकोर्पाजनमा सुधार आउने बताए। ‘जबसम्म पर्यटनलाई स्थानीयको जीविकोपार्जनसँग जोड्न सकिँदैन। तबसम्म जनताको जनस्तरमामा सुधार आउँदैन,’ उनले भने, ‘अहिले गुरुयोजना तयार पारिसक्यौं। अब हामी कार्यान्वयनतर्फ अघि बढ्नेछौं।’

प्रतिनिधिसभाका सांसद् जीवनराम श्रेष्ठले दुई किलोमिटर दुरीमा विश्व सम्पदामा सूचीकृत दुई सम्पदासहित अन्य २० ऐतिहासिक सम्पदा हुनु गौरव विषय भएको बताए। ‘एकै ठाउँमा यति धेरै ऐतिहासिक एवं पुरातात्विक महत्वका कलाकृति हुनुलाई विश्वको आठौं आश्चर्यका रूपमा लिनुपर्ने देखिन्छ,’ उनले भने, ‘यहाँका सम्पदालाई विश्वस्तरमा  चिनाउनुपर्ने चुनौती थपिएको छ।’

काठमाडौं महानगरपालिकाले सम्पदा संरक्षण तथा पर्यटन प्रवद्र्धनका लागि योजनाबद्ध कार्यक्रम अघि सारेको छ। सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले सम्पदा मार्गजस्तै पर्यटन वर्ष २०२० लाई लक्षित गरेर अरु पनि कार्यक्रम ल्याउन लागिएको जानकारी दिए।

सहरी योजना आयोगकी सहायकविज्ञ रजिता शाक्य उदासले गुरुयोजनामा समेटिएका कार्यक्रमको खाकाका विषयमा प्रस्तुति दिएकी थिइन्। उनका अनुसार सम्पदा मार्गमा भएका सांस्कृतिक ऐतिहासिक सामान तथा वस्तुको महत्व उजागर गर्ने, पर्यटकलाई वस्तु, ठाउँ तथा सामानका बिषयमा जानकारी दिने व्यवस्था गर्ने, मौलिक कला संस्कार तथा संस्कृतिको प्रवद्र्धन गर्ने, हस्तकला, खानपानजस्ता स्थानीय सम्भावनालाई आयमा रूपान्तरण गर्ने काम गुरुयोजनामा समेटिएका छन्।

सम्पदा पदयात्राको कार्यान्वयनसँगै स्थानीय सांस्कृतिक सम्पदाहरूको प्रवर्द्धधन, स्थानीय जनताको आर्थिक विकासमा टेवा, आन्तरिक एवं बाह्य पर्यटनको विकास र सम्पदाको मूल्य मान्यताबारे जनमानसमा चेतना अभिवृद्धि हुने अपेक्षा गरिएको छ। मूर्त एवं अमूर्त सम्पदाहरूको पहिचान, पुस्तान्तरण तथा सम्बर्द्धनका लागि अघि सारिएको कार्यक्रममा महानगरका वडा १५, १८, १९, २०, २३ र २४ समेटिएका छन्। यी वडा भएर जोडिने विश्व सम्पदा क्षेत्रको २.२ किलोमिटर दूरीमा करिब २० वटा महत्वपूर्ण सम्पदास्थलको अवलोकन गर्न सकिने छ।

हरेक वर्ष अप्रिल १८ मा इन्टरनेसनल डे फर मोनुमेन्ट्स एण्ड साइट्स अर्थात् विश्व सम्पदा दिवसका रूपमा मनाउने गरिन्छ।

प्राकृतिक तथा मानव सृजित सम्पदाको महत्वलाई प्रवद्र्धन गर्ने, पुस्तान्तरण गर्ने तथा संरक्षणका उपाय र सिकाइ आदानप्रदान गर्नु यो दिवस मनाउनुको मुख्य उद्देश्य हो। यस्ता सम्पदाको समाजसँग अन्तरनिहित नाता हुनाले संरक्षण र प्रवद्र्धनको खाँचो छ भन्ने सन्देश दिनु पनि दिवसको लक्ष्य हो। यस वर्षको दिवस ‘सराउण्डिङ रुलर ल्याण्डस्केप’ ‘ग्रामीण भूभागको सेरोफेरो (औपचारिक अनुवाद प्राप्त नभएको)’ भन्ने भावमा आधारित बनाएर मनाइँदैछ। विश्व सम्पदा दिवसकै अवसरमा गत वैशाख २ गते पनि सम्पदा मार्गमा यसरी नै पदयात्रा सहित कार्यक्रम सञ्चालन गरिएको थियो।

सम्पदा पदमार्गको रुट: हनुमानढोका–काष्ठमण्डप–मरु गणेश–मरु हिटी–सन्तानेश्वर महादेव–मरुबही–मिच्याः गल्ली–बन्जाः हिटी–साः (तेल मिल)–चस्वांद्व–दमाइ टोल–सुन्ता गल्ली–पाछै गल्ली–नरदेवी द्यःछेँ–आयुर्वेदिक अस्पताल–सामुदायिक (लोकेश्वर) गल्ली –बुरांखेल–म्येछ्यों हिटी–तप्यँताँ–रञ्जित मल्ल सतः घाट–भेलु महादेव–डल्लु चौतारा–निपु हिटी (भीमसेन मन्दिर)–धिमे ल्वहं–चारा हिटी–भुइँखेल हुँदै स्वयम्भू।

प्रकाशित: ६ वैशाख २०७६ ०४:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App