coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

गोश्वारा हुलाकको कार्यालय भत्काइँदै

सुन्धारास्थित गोश्वारा हुलाकको कार्यालय भवन भत्काइने भएको छ। धरहरा पुनर्निर्माणको क्रममा अवरोध पुग्ने भएपछि उक्त भवन भत्काउन लागिएको हो।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भवन भत्काउन चिह्न लगाइसकेको जनाएको छ। प्राधिकरणका सहसचिव शिवहरि शर्माले हुलाक सार्नका लागि आवश्यक ठाउँ खोजिसकेको जानकारी दिए। उनले लामो समयदेखि सो ठाउँमा गोश्वारा हुलाक सेवाको कार्यालय रहे पनि धरहरामा अवरोध भएपछि उक्त भवन भत्काउने निर्णय भएको हो। धरहराको केही क्षेत्रफल बढेको र नक्साअनुसार गोश्वारा हुलाक कार्यालयतर्फ खिँचिएकाले उक्त भवन भत्काउनुपर्ने स्थिति आएको उनको भनाइ छ। उनले भने, ‘बबरमहलस्थित वाणिज्य विभागको साइटमा कार्यालय सार्नको तयारी भइसकेको छ, हामीले भवन तयार गरिदिएपछि हुलाक कार्यालय सर्नेछ।’ भवन भत्काएपछि धरहराको कामले निरन्तरता पाउने उनले बताए।

उनका अनुसार नेपाल राष्ट्र बैंकको धनादेश विभाग नजिकै वाणिज्य विभाग परिसरमा हुलाक सेवाको कार्यालय सारिने छ। उक्त ठाउँमा भवन तयार पारेर सार्ने जिम्मा पुनर्निर्माण प्राधिकरणले लिएको छ। प्राधिकरणले प्रिफ्याक भवन बनाएर गोश्वारा हुलाक कार्यालयलाई सार्ने जनाएको छ।

लामो समय सुन्धाराबाट सेवा प्रदान गर्दै आएको गोश्वारा हुलाक कार्यालय बबरमहल सरेपछि थप भद्रगोल अवस्थामा रहने अनुमान गरिएको छ। ठूलो क्षेत्रफलमा फिजिएको कार्यालय साँघुरो ठाउँमा सरेपछि सेवा प्रवाहमा असहजता थपिने देखिएको छ।

लामो समय सुन्धाराबाट सेवा प्रदान गर्दै आएको गोश्वारा हुलाक कार्यालय बबरमहल सरेपछि थप भद्रगोल अवस्थामा रहने अनुमान गरिएको छ। ठूलो क्षेत्रफलमा फिजिएको कार्यालय साँघुरो ठाउँमा सर्न लागेको छ। 

गोश्वारा हुलाक कार्यालयका प्रमुख हुलाक अधिकृत वेद प्रसाद भण्डारीले बबरमहल सरे पनि सुन्धाराकै शैलीमा कार्यालयले सेवा प्रवाह गर्ने जानकारी दिए। उनले कार्यालय सरेपछि साँघुरो हुने भएपछि त्यसलाई मिलाउँदै जाने बताए। ‘असारको पहिलो सातासम्म सर्नुपर्ने अवस्था देखिएको छ, त्यतिबेलासम्म कार्यालय सारियो भने धरहराको काममा पनि कुनै अवरोध हुन्न,’ उनले भने, ‘उक्त अवधिसम्म प्राधिकरणले सुन्धारामा भएका सबै सामान लगेर नयाँ ठाउँमा सिफ्ट गरिदिनुपर्छ।’

उनका अनुसार गोश्वारा हुलाक कार्यालयले पछिल्लो समय इ–कमर्सकै भरमा चल्दै आएका छन्। प्रविधिको फड्कोसँगै मानिसले हुलाकलाई आधुनिक रूपमा प्रयोग गर्न थालेका हुन्। कार्यालयमार्फत् संस्थागत चिठीपत्र, भिसा कार्डसँगै विभिन्न सामान पठाइने गरिन्छ। जसमा मोबाइल, लुगा, खाद्यान्न सामग्री, मह, औषधि, फलफूल, दूध, अचारलगायत हुन्छन्। ‘हिजोआज दैनिक हजारभन्दा बढी मालसामानका चिठीपत्र आउँछन्, पार्सल र इएमएस सेवाबाट पठाएका डकुमेन्ट र अन्य सामान पनि आउँछन,’ उनले भने, ‘हुलाकबाट हरेक किसिमका माल–सामान सस्तोमा पठाउन र प्राप्त गर्न सकिन्छ।’ वैदेशिक रोजगारमा जानेको संख्या बढ्नु र आधुनिक प्रविधिको विकासले पछिल्लो समय नेपालमा हुलाक सेवा इ–कमर्समा चल्न थालेको उनको निष्कर्ष छ। 

 

प्रकाशित: ६ वैशाख २०७६ ०४:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App