८ वैशाख २०८१ शनिबार
राजनीति

कागजमै सीमित पशु यातना मापदण्ड

पृथ्वी राजमार्ग हुँदै मापदण्डविपरीत राजधानी काठमाडौं लैजादै गरेका राँगा। तस्बिर : सरिता/नागरिक

धादिङ - एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा र वध गर्नुअघि कुनै पनि पशुलाई चरम यातना दिन नपाइने कानुन नेपालमा पटक–पटक बने पनि कार्यान्वयन भने हुन सकेको छैन। उदाहरणका रूपमा राजधानीमा मासु बिक्रीका लागि पृथ्वी राजमार्ग हुँदै गरिने पशु ढुवानीलाई लिन सकिन्छ। यो राजमार्ग भएर दैनिक सयौंको संख्यामा राजधानी भित्र्याइने राँगा, भैंसी र खसी–बाख्राहरूलाई चरम यातना दिँदै कष्टपूर्ण तरिकाले लैजाने गरिएको छ।

सामान्यतया ठूलो ट्रकमा १५ देखि २० र सानोमा आठदेखि १० वटा राँगा–भैंसी बोक्नुपर्ने हुन्छ। तर पशु ढुवानीककर्ताले एउटै ट्रकमा ३० देखि ५० वटासम्म राँगा–भैंसी ढुवानी गर्दै आएका छन्। तर पशु ढुवानी नियमावली लागू गराउने मुख्य सरोकारवाला प्रहरी भने यो विषयमा मौन र बेखबर रहेको छ।

‘ढुवानी मापदण्ड के हो र त्यसको उल्लंघन गरे के–कस्तो जरिवाना हुन्छ भन्ने जानकारी छैन,’ जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख हेमराज घिमिरेले भने, ‘हामीले जाँच चाहिँ गर्ने गरेका छौं तर कारबाही गर्ने अधिकार हामीमा हुँदैन।’

हरेक हप्ता तराईमा आयोजना हुने पशुमेला तथा हाटबजारबाट खरिद गरिएका राँगा–भैंसी रातारात भोकभोकै राजधानीसम्म ढुवानी गर्ने गरिएको छ। सामान्य अवस्थामा दैनिक १२ वटासम्म र चाडपर्वमा २० देखि ४० वटासम्म राँगा–भैंसी र पाडा–पाडी बोकेका ढुवानी साधनहरू राजधानी भित्रिने गर्छन्। यसरी लैजाने राँगा–भैंसीलाई रगताम्य हुने गरी कुटपिट गर्नेलगायत धेरैजसोले गाडीमा चढाएदेखि नओरालेसम्म खानेकुरा र पानीसमेत नखुवाई लैजाने गर्छन्। कानुन बने पनि राजमार्ग भएर राजधानीलगायत देशका विभिन्न भागमा लगिने पशुहरूलाई यातना दिने क्रम रोकिएको छैन।

मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद २७ मा ‘पशुपक्षीसम्बन्धी कसुर’ मा पशुपक्षीप्रति निर्दयी व्यवहार गर्न नपाइने व्यवस्था स्ष्ट किटान गरिएको छ। पशुपक्षीलाई निर्दयी व्यवहार गर्नेलाई तीन महिनासम्म कैद अथवा पाँच हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था ऐनमा रहेको छ।

राँगा–भैंसीलाई उभ्याएर राख्ने, पुच्छर फर्काएर बाँध्ने, एउटै ट्रकमा क्षमताभन्दा धेरै कोचेर बाँध्ने, भैंसी वा राँगा थाकेर बस्न खोजेमा व्यापारीहरूले फलामका रड र बाँसका भाटाले पिट्दै रगताम्मे पारेर उभ्याई राख्ने जस्ता निर्दयी व्यवहार गर्ने गरेका छन्। यसरी निर्दयी ढंगबाट भैंसी तथा राँगाको ढुवानी हुने गरेको वर्षौ बितिसकेको छ तर यस्तो निर्दयी कार्य रोक्न बनेको कानुन कार्यान्वयन हुन सकेको छैन। पशु चौपाया ढुवानीका क्रममा पशुलाई यातना नदिई ढुवानी गर्नुपर्ने अन्यथा कानुनअनुसार कारबाही हुने सरकारी प्रतिबद्धता भए पनि अहिलेसम्म न पशु चौपाया ढुवानीमा कुनै सुधार आएको छ न गलत तरिकाले ढुवानी गर्ने कुनै व्यापारी वा ढुवानीकर्ता कारबाहीमा परेका छन्। पशु ढुवानी मापदण्ड कागजमै सीमित भएको छ।

मासुका लागि ल्याउने राँगा–भैंसीहरू एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा क्वारेन्टाइन जाँच–पास गराउनुपर्ने कानुनी मान्यता रहेको धादिङका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयले बताए। ‘देशका विभिन्न भागहरूमा लाग्ने साप्ताहिक हाटबजारहरूबाट ट्रकमा खाँदेर दुईदेखि तीन दिन समय लगाई राजधानीसम्म हुने ढुवानी मापदण्डविपरीत छन्,’ प्रजिअ पाण्डेले भने, ‘पशु क्वारेन्टाइन गरेको पत्र हेरी निगरानी राख्ने गरेका छौं।’ पश्चिमबाट आउने पशुका लागि नवलपरासी र पूर्वबाट राजधानी आउने पशुका लागि चितवनमा पशु क्वारेन्टाइन पोस्ट स्थापना गरिएको छ।

पशु ढुवानी गर्ने तरिका तथा अपनाउनुपर्ने सावधानी नियमावलीमा स्पष्ट उल्लेख गरिएको छ। नियमावलीमा पशुलाई पैदल, गाडा, गाडी, ट्रक, पिकअप, रेल, हवाईजहाज, पानी जहाजमा राखेर स्थलमार्ग, जलमार्ग वा हवाई मार्गबाट ढुवानी गर्न सकिने र यसरी ढुवानी गर्दा विभिन्न सावधानी अपनाउनुपर्ने उल्लेख छ। अव्यवस्थित ढुवानीका कारण पशुको स्वास्थ्य, कार्य क्षमता, उत्पादन क्षमता र गुणस्तरीयतामा समेत प्रतिकूल प्रभाव पर्ने भएकाले उपभोक्तालाई गुणस्तरीय पशुजन्य पदार्थ उपलब्ध र ढुवानी व्यवस्थित गर्न नेपाल सरकारले नियमावली बनाएको धेरै भए पनि कार्यन्वय हुन सकेको छैन।

...
पृथ्वी राजमार्ग हुँदै मापदण्डविपरीत राजधानी काठमाडौं लैजादै गरेका राँगा। तस्बिर ः सरिता÷नागरिक

प्रकाशित: ६ वैशाख २०७६ ०३:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App