८ वैशाख २०८१ शनिबार
अर्थ

फोरजी विस्तारको साइट सर्भे सुरु

काठमाडौं - नेपाल टेलिकमले मुलुकभर चौथो पुस्ताको मोबाइल नेटवर्क (फोरजी) विस्तार परियोजनाअन्तर्गत साइट सर्भेको काम ६५ प्रतिशत सकिएको बताएको छ। साइट सर्भेसँगै नेटवर्क विस्तारको लागि चाहिने उपकरण आयातको काम सुरु भएको नेपाल टेलिकमले जनाएको छ।

बिहीबार पत्रकार सम्मेलन गर्दै नेपाल टेलिकम प्रवक्ता प्रतिभा वैद्यले फोरजी विस्तार परियोजनाको साइट सर्भे ६५ प्रतिशत सकिसकेको जनाकारी गराइन्। ‘फोरजी सेवाको साइट सर्भेको काम धमाधम भइरहेको छ,’ वैद्यले भनिन्, ‘साइट सर्भेसँगै फोरजीका लागि आवश्यक सामग्रीको पहिलो खेप आइसकेको छ।’

देशभर सातै प्रदेशमा सेवा विस्तार गर्न २०७५ माघ २० मा तीनवटा सम्झौता भएका थिए। कोर नेटवर्कका लागि चीनको जेडटिई कर्पोरेसन तथा नेटवर्क १ र नेटवर्क २ का लागि हङकङको सिसिएसआईसँग सम्झौता भएको थियो। नेटवर्क १ अन्तर्गत प्रदेश २, ३, ५ र ६ तथा नेटवर्क २ अन्तर्गत प्रदेश १, २, ४, ५ र ७ का विभिन्न स्थान पर्छन्।

सम्झौता अनुसार १२ महिनामा कार्य सम्पन्न गर्न साइट सर्भेको काम शुरु गरिएको टेलिकमले जनाएको छ। कम्पनीले नेपालमै पहिलोपटक २०७३ पुस १७ मा काठमाडौं उपत्यका र पोखराबाट फोरजी सेवा सुरु गरेको थियो। पत्रकार सम्मेलनमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कम्पनीले आफ्नो व्यवसायसँगै प्रत्येक क्षेत्रका उपभोक्तालाई सेवा उपलब्ध गराउनु टेलिकमको दायित्व रहेको बताए। आगामी दिनमा शिक्षा, स्वास्थ्य लगायत सबै क्षेत्रमा परिवर्तन ल्याउन कम्पनीले पहल गर्ने बताए। छोटो अवधिमै फोरजी सेवालाई देशव्यापी रुपमा विस्तार गर्ने योजनाका साथ कम्पनी अगाडि बढेको उनको भनाइ छ।

टेलिकमले चालु आर्थिक वर्षको चैत मसान्तसम्म चार सयवटा थ्रीजी बिटिएसहरुको स्तरोन्नति गरिसकेको समेत जानकारी गराएको छ। त्यसैगरी, सो अवधिमा चार सय सात बिटिएस थपेको छ। एक करोड लाइन मोबाइल आयोजना अन्तर्गत ग्राहकको माग र प्राविधिक अध्ययन अनुसार आवश्यक देखिएका ठाउँमा मोबाइल टावर थप गर्ने कार्य जारी रहेको टेलिकमले जनाएको छ। यो आयोजना अन्तर्गत प्याकेज ‘बी’को शतप्रतिशत काम सकिएको छ भने प्याकेज

‘ए’को काम ९५ प्रतिशत सकिएको र चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको टेलिकमले जनाएको छ। नेपाल टेलिकमले मध्यपहाडी लोकमार्ग अन्तर्गत प्रदेश १, २ र ३ मा पर्ने स्थानमा अप्टिकल फाइबर बिछ्याउने कार्यको जिम्मेवारी नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई दिएको छ। सो आयोजनाका लागि पाँचमध्ये चारवटा सम्झौता सम्पन्न भइसकेका छन्। गत मार्च १२ देखि २२ सम्म विभिन्न चरणमा गरिएको सम्झौताअनुसार प्रदेश १ को पाँच सय ९६ किलोमिटरका लागि कोरियाको एलएस केबुल्स, प्रदेश २ को हजार २८ किलोमिटरको लागि आरोग्य कन्स्ट्रक्सन नेपाल र चाइना रेलवेको ज्वाइन्ट भेन्चर तथा प्रदेश ३ को पाँच सय ५५ किलोमिटरको लागि हङकङको सिसिएसआईसँग सम्झौता भएको छ।

डिडब्लुडिएम इक्विपमेन्टका लागि हङकङको सिसिएसआईसँग सम्झौता भएको छ भने राउटर इक्विपमेन्टका लागि केही दिनभित्रै सम्झौता हुने टेलिकमले जानकारी गरायो।   हाल एडिएसएलमार्फत इन्टरनेट सुविधा उपलब्ध गराइरहेकोमा विद्यमान एडिएसएलका ग्राहकलाई एफटिटिएचमा रुपान्तरण गर्ने र मुलुकभर एफटिटिएच वितरण गर्ने लक्ष्यका साथ नेटवर्क विस्तारको कार्य देशभर भइरहेको छ। इन्टरनेटको साथसाथै आइपिटिभी पनि प्रदान गर्ने लक्ष्यका साथ गृहकार्य भइरहेको वैद्यले जानकारी गराइन्। हाल देशभर ४० हजार नौ सय ६० लाइन एफटिटिएच प्रदान गर्न सकिने क्षमताको नेटवर्क तयार भएको छ र थप नेटवर्क विस्तार कार्य जारी रहेको टेलिकमले बताएको छ।

प्रकाशित: ६ वैशाख २०७६ ०१:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App