६ वैशाख २०८१ बिहीबार
समाज

खाेटाङमा म्याद गुज्रेका औषधि जफत गरी जलाइयाे

खोटाङ – खोटाङको जन्तेढुंगा गाउँपालिकामा सञ्चालित औषधि पसलबाट म्याद गुज्रेका औषधि जफत गरिएको छ।

घरेलु तथा साना उद्योग विकास समितिको अगुवाइमा बिहीबार गरिएको संयुक्त बजार अनुगमन क्रममा जन्तेढुंगा गाउँपालिका–५ चिसापानी बजारमा सञ्चालित एक औषधि पसलबाट ५ हजार १ सय बराबरको म्याद गुज्रेका औषधि जफत गरिएको हो। म्याद गुज्रेका औषधि जलाइएको घरेलु तथा साना उद्योग विकास समिति खोटाङका प्रमुख रामशरण महतोले बताए। 

तीन वटा औषधि पसलमध्ये एउटैमा मात्र म्याद गुज्रेका औषधि फेला परेको हो। म्याद गुज्रेका औषधि बेच्ने पसलको नाम र औषधिको प्रकार गोप्य राखिएको छ। समितिले औषधिजन्य, कस्मेटिक, पेयपदार्थ र खाद्यान्न समुहको अवस्थाका विषयमा बजार अनुगमन गरेको थियो। 

जफत सामग्री गाउँपालिका प्रमुख शंकर राई, प्रमुख प्रशासकीय अधिकृत चित्रप्रसाद गुरागाई, इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी नायब निरीक्षक निरबहादुर कट्वाल, उद्योग वाणिज्य संघका दिलबहादुर तामाङलगायतको रोहबरमा जलाइएको छ। अनुगमन टोलीले चिसापानीका ३० वटा पसलमा अनुगमन गरेको जनाएको छ। 
‘अुगमन सुरु भएपछि म्याद नाघेका सामान लुकाइए।’

घरेलु तथा साना उद्योग विकास समिति नेतृत्वको अनुगमन टोली बजार छिरेर अनुगमन सुरु गरेपछि चिसापानीका कतिपय व्यवसायीले हत्तपत्त कमसल उपभोग्य सामग्री छलेको अनुगमन टोलीले जनाएको छ। एकातर्फबाट पसलबाट अनुगमन सुरु गरेको हल्ला फैलिएपछि कतिपय व्यवसायीले म्याद नाघेका उपभोग्य वस्तु लुकाएको प्रमुख महतोले बताए। बजार अनुगमन सुरु भएको हल्ला फैलिएपछि व्यवसायी अत्तालिएका थिए।

‘हामीले अकस्मात बजार अनुगमन सुरु ग-यौँ,’ महतोले भने, ‘बजार अनुगमन सुरु भएको हल्ला फैलिएपछि कतिपय व्यवसायीले म्याद नाघेका सामान लुकाएको जानकारी पाएका छौँ।’ 

 

प्रकाशित: ५ वैशाख २०७६ १५:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App