coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

दाहाल सुटुक्क सुकुटेमा (फोटो फिचर)

सिन्धुपाल्चोक– नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल शान्त वातावरणमा आराम खोज्दै बिहीबार सुकुटे आइपुगेका छन्। पूर्वसहकर्मी नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको बीच पत्नी सीतासहित आएका उनी सुकुटे इक्वेडर वीच रिसोर्टमा बसेका छन्।

 दिउँसो करिब ३ बजेतिर उनी अरनिको राजमार्ग हुँदै राजधानीबाट ७६ किमी टाढा सुनकोसी नदी बगरस्थित रिसोर्ट आइपुगेका थिए। ‘अध्यक्षज्यू मात्र आरामका लागि यहाँ आउनु भएको छ,’ दाहालसँगै रिसोर्टमा रहेका उनका प्रेस संयोजक विष्णु सापकोटाले नागरिकसँग भने। कुनै राजनीतिक कार्यक्रम नरहेको उनले प्रस्ट पारे। अध्यक्ष दाहालले रिसोर्टमै रात बिताउने छन् । उनको साथमा सिन्धुपाल्चोक गृहजिल्ला भएका पार्टी स्थायी समिति सदस्य अग्नि सापकोटा पनि छन्।

पार्टीको आन्तरिक राजनीति पेचिलो बन्दा होस् या मुलुकको अवस्था राफिँदा दाहाल एकान्त रुचाउँछन्। त्यस्तो बेला उनी शान्त वातावरण खोज्दै सुटुक्क राजधानी छोड्छन्। अक्सर उनको रोजाई सुकुटेको यही रिसोर्ट पर्ने गरेको छ। बिगत सात वर्षदेखि निरन्तर वर्षको एक–दुई रात उनले यही रिसोर्टमा बिताउँदै आएका छन्।

२०६९ असोजदेखि दाहालको यो रिसोर्टसँग साइनो गाँसिएको हो। २०६९ चैत १८ र १९ गते उनले यही रिसोर्टमा तत्कालीन नेकपा (माओवादी) को स्थायी समिति बैठक राखेका थिए। रिसोर्टमा रहँदा उनी अनौपचारिक र शरीरलाई सहज हुने पोशाकमा देखिने गरेका छन्। रमणीय रिसोर्टमा रम्दै उनी सुनकोसी नदीको सुस्केरामा टहल्न रुचाउँछन् । रिसोर्ट बसाईँका क्रममा टेबुल टेनिस खेलेर आनन्द लिन्छन्।

केही महिना अघि मात्र दाहाल यो रिसोर्टमा आएका थिए। ‘राजनीतिक कामले थाकेको बेला मलाई शान्त वातावरणमा थकान मेट्न मन लाग्छ,’ यसअघिको रिसोर्ट बसाईँका क्रममा उनले सञ्चारकर्मीहरुसँग खुलेरै भनेका थिए, ‘यस्तो बेला म काभ्रे र सिन्धुपाल्चोक आउँछु। सिन्धुपाल्चोक अझ बढी मन पर्छ।’

दुई दल एकतापछि शक्तिशाली कम्युनिस्ट पार्टीको अध्यक्ष बनेका दाहालको यसअघिका यस्ता भ्रमणले राजनीतिमा कुनै न कुनै अर्थसमेत राख्दै आएको थियो । निकै व्यस्त राजनीतिक दैनिकीबाट थकित उनलाई पार्टी एकता प्रक्रिया नटुंगिदा टाउको दुखाई राखेको छ। गाउँदेखि केन्द्रसम्मका नेताले एकता प्रक्रिया टुंगिन बिलम्ब हुँदा काम नपाएको भन्दै गुनासो गरिरहेका छन्। अध्यक्ष दाहालले शान्त र आराम खोजेकाले नेता, कार्यकर्तासँग भेटघाट कार्यक्रमसमेत नराखिएको उनको सचिवालय स्रोतले बतायो।

प्रकाशित: ५ वैशाख २०७६ ११:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App