coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अपरिपक्व निर्णयले यात्रुलाई सास्ती

जुम्ला - विमानस्थल सुरक्षा समितिको आग्रहमा गत कात्तिक ८ गतेदेखि जुम्ला विमानस्थल मर्मतको काम शुरु भयो। मर्मतकै लागि भनेर झण्डै दुई महिना जहाज चल्न सकेनन्।

तर पछि अत्यधिक चिसोको कारण कालोपत्रेको काम गर्न नसकिने भन्दै बीचमै मर्मतको काम रोकियो। यो नै विमानस्थल सुरक्षा समिति र नेपाल नागरिक उड्ययन प्राधिकरणको अपरिपक्व निर्णय थियो। प्रतिकूल मौसममा मर्मतको काम शुरु गर्न लगाउनु नै ठूलो कमजोरी भएको जुम्लाबासी बताउँछन्। 

‘माइनस तापक्रममा कालोपत्रेको काम हँुदैन भन्ने थाहा हुँदाहुँदै पनि निर्माण कम्पनीलाई काम गर्न लगाउनु ठूलो कमजोरी भएको’, स्थानीय बताउँछन्।  सिंजाका रनबहादुर कठायत एकै पटक हुने मर्मतको कामलाई दुई पटक गर्न लगाएर यात्रुलाई सास्ती दिएको बताउँछन्।

उनले भने, ‘कर्णालीमा चिसोमा कालोपत्रेको काम गर्न सकिँदैन, भन्ने सबैलाई हेक्का छ। प्राविधिकले पनि चिसोमा कालोपत्रेको काम रोक्नु पथ्र्यो। रोक्न त रोक्नु भयो। तर त्यतिन्जेल सम्म निकै लामो समय भइसकेको थियो। तर हिउँदको समयमा जबरजस्ती काम गर्न लगाउनु राम्रो थिएन। यदि मर्मतको काम गराउनु नै थियो भने कार्तिकमा दिएको समयमै कालोपत्रेको काम सकाउनु पदथ्र्याे। मर्मतको काम पछि सारेर यात्रुलाई दुःख दिने काम भयो। 

गत कार्तिकमा झण्डै ३ सय ९० मिटर रनवे कालोपत्रे भइसकेको छ। बाँकी २ सय ८० मिटर रनवे कालोपत्रेको लागि २० दिन विमानस्थल बन्द गराइएको छ। वर्षाका कारण कर्णाली सडक नियमित चल्न सक्ने अवस्था छैन। यहाँको भरपर्दो यातायात सेवा भनेको हवाई सेवा हो।

त्यो पनि दुई दुई पटक बन्द गराएर मर्मतको काम गर्दा जुम्लाबासी मर्कामा परेका छन्। स्थानीय जगतबहादुर रोकायाले भने, ‘यदि कार्तिक महिनाको समयमा तापक्रम कालोपत्रे अनुकूल नहुने भए किन विमानस्थल बन्द गराएर मर्मतको काम गरियो? अनुकूल समयमा गरे भइहाल्थ्यो नि। अहिले कर्णाली सडक पहिरोले पटक पटक बन्द हुने समयमा हवाई सेवा रोकिनु राम्रो होइन्।

कालोपत्रेको लागि न्यूनतम १८ डिग्री सेल्सियस तापक्रम चाहिन्छ। जुम्ला विमानस्थल प्रमुख कैलाश शर्मा भन्छन्, ‘चिसोमा कालोपत्रेको काम हुँदैन्, कष्ट बढि हुन्छ् र कामदार काम गर्न सक्दैनन् भनेर पहिलो चरणको मर्मतको काम रोकिन पुग्यो। निर्माण कम्पनीलाई उतिबेला कार्यालय प्रक्रिया पु-याउन पनि होला मर्मतको काम शुरु गर्नुपर्ने अवस्था थियो। काम शुरु भयो। चिसो बढ्यो मर्मतको काम रोकियो। अहिले फेरि मर्मतको काम थाल्दैछौँ।’ 

चिसोले ठेकेदार र कामदारले काम गर्न नसक्ने देखिएपछि बाध्य भएर मर्मतको काम रोक्नु परेको हो। यो पटक निर्माण सामग्री संकलन भइसकेको छ। २० दिन भित्र रनवेको कालोपत्रेको काम रोकिने बित्तिकै नियमित उडानका लागि नोटम जारी गर्न लगाउँछौँ।’

विमानस्थल सुरक्षा समितिले मर्मतका लागि अनुकूल भएको भन्दै नेपाल नागरिक उड्ययन प्राधिकरणलाई अनुरोध पत्र पठाएपछि यहाँ चल्ने हवाई जहाज र चालकलाई नोटम जारी गरेर विमानस्थल बन्द गर्ने प्रावधान छ। मर्मतको काम वैशाख महिनाभित्रै सकाउनु पर्ने छ। २०७३ साल चैत ९ गते मर्मतको लागि निर्माण कम्पनीसँग सम्झौता भएकोमा चैत १३ गते कार्यदिशा दिइएको थियो।

तर दुई पटक म्याद थप्दा पनि मर्मतको काम सकिएको छैन। यो बीचको समयमा न ठेकेदार कम्पनीले मर्मतको काम शुरु गर्न सक्यो। न त मर्मतका लागि प्राधिकरणले दबाब नै दियो। दुई पटक म्याद थपिसकेपछि मात्रै मर्मतको काम शुरु भएको हो। चार करोड ५२ लाख रुपैयाँमा जुम्ला विमानस्थल मर्मत हुुन थालेको हो। 

प्रतिकूल मौसम, निर्माण सामग्री संकलनमा कठिनाइ, दक्ष जनशक्तिको अभाव र आवश्यक उपकरणको समस्याले गर्दा समयमै मर्मतको काम अघि बढ्न नसकेको विमानस्थल प्रमुख शर्मा बताउँछन्।एपेक्स पृथ्वी र अमित जेभीले बिमानस्थल मर्मतको जिम्मा पाएका छन्।

मौसमले साथ दिएमा १० दिन भित्रै रनवे मर्मतको काम सकिने मर्मत कार्यमा संलग्न नृपराज भारतीले जानकारी दिए। उनले भने, ‘प्राधिकरणले २० दिनको समय दिएको छ। त्योभन्दा अगावै मर्मतको काम सकाउने प्रयत्न गर्दै छौँ। सबै निर्माण सामग्री र जनशक्ति आइसकेकोले मर्मत कार्यमा ढिला हुँदैन होला। गुणस्तर जाँच गरेर मात्रै निर्माण सामाग्री प्रयोग हुने भएकोले शंका नगर्न आग्रह गरे। 

प्रकाशित: ५ वैशाख २०७६ ०९:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App