coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पक्की पुलका लागि मन्त्रीसमक्ष बजेट माग

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिकाबासीले त्रि–धार्मिकस्थल हलेसी र पुर्वी तराई जोड्ने छोटो दुरीको सडक खण्डमा पुल निर्माणको माग गरेका छन्। प्रतिनिधिसभा बिशाल भट्टराईको नेतृत्वमा बुधबार गएको नगरका अगुवाको टोलीले भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठ समक्ष पुल निर्माणका लागि आवश्यक बजेट विनियोजनको माग गरेका छन।

उनीहरूले उदयपुरको लिम्चुङबुङ गाउँपालिका–१ बाँसबोटेको कुनइ र खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको बतासेघाट ख्रोप्पास्थित सुनकोसीमा पक्की पुल निर्माणका लागि आवश्यक बजेट विनियोजनको माग गरेका हुन्।

सुनकोसीमा बाँसबोटे र दुर्छिम जोड्ने पक्की पुल निर्माण भए तराईबाट सिधै धार्मिक तथा पर्यटकीयस्थल हलेसी, ओखलढुंगा हुँदै खुम्बु–सगरमाथासम्म पुग्ने सबैभन्दा छोटो मार्ग खुल्ने भएकाले होलेसुङ समुहमा आवद्ध स्थानीय अगुवाले पुल निर्माणको माग गरेका हुन्।

खोटाङतर्फ मध्यपहाडी लोकमार्गको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको दलस्वरचोकदेखि सुनकोसीको बतासेघाट जोड्ने होलेसुङ जनकराज राई मार्ग (१३.२७ किलोमिटर) निर्माण भइसकेको तथा उदयपुरको लिम्चुङबुङ गाउँपालिकातर्फबाट पनि सुनकोसी नदीसम्म सडक निर्माण भइसकेकाले सांसद भट्टराईको नेतृत्वमा पुलका लागि बजेट छुट्याउन माग राखिएको दुर्छिमका बुद्धिजिवी भूपेन्द्रकुमार राईले बताए। प्रस्तावित पुलले १ नम्बर प्रदेश र २ नम्बर प्रदेशको राजधानी जोड्ने द्रुत मार्ग खोल्ने छ।

‘सुनकोसीको दुबै किनारासम्म सडक बनिसकेको छ। मोटरेबल पुल बन्ने वित्तिकै तराईबाट सिधै हलेसी आउने छोटो मार्ग खुल्नेछ,’ होलेसुङ समुहका सदस्य राईले भने, ‘बतासेघाटमा पुल बन्ने वित्तिकै तराई हुँदै हलेसी आउने दर्शनार्थी यही बाटोबाट हिँड्नेछन्।’ उनीहरुले हलेसी तुवाचुङ नगरपालिका र लिम्चुङबुङ गाउँपालिकाको सिफारिस सहित मन्त्रालय पुगेर पुलका लागि बजेटको माग गरेका हुन्।

सुनकोसीको दुबै किनारातर्फ सडक निर्माण भएको वर्षौं बिते पनि बतासेघाटमा पक्की पुलको अभाव छ। पक्की पुल अभावमा हाल स्थानीय झोलुंगे पुलमार्फत सुनकोसी वार–पार गर्दैआएका छन्। सुनकोसीमा पुल बनेपछि हाल पुर्वी तराई–कटारी–घुर्मी हुँदै हलेसी आउने दर्शनार्थीका लागि गाईघाट–मुर्कुची–पुवाँरे–भालेबास–माझखर्क–लिम्चुङबुङ गाउँपालिकाको कुनाइ–हलेसी तुवाचुङ नगरपालिकाको होलेसुङ–जनकराज राई मार्ग हुँदै हलेसी पुग्ने छोटो बाटो खुल्ने छ। यस्तै लिम्चुङबुङ गाउँपालिका, ताम्ली गाउँपालिका र रौतामाई गाउँपालिकाका १८ वडाका स्थानीयका लागि काठ्माण्डौं आवत–जावत गर्ने छोटो दुरीको सडक खुल्ने राईले बताए।

सप्तकोसीबाट सुनकोसी हुँदै -याफ्टिङ गरेर बतासेघाट उत्रेपछि होलेसुङ जनकराज राई मार्ग हुँदै पनि हलेसी पुग्न सकिने सम्भावना खुल्ने समुहले जनाएको छ। हलेसी तुवाचुङ नगरपालिका र लिम्चुङबुङ गाउँपालिकाको कृषि उत्पादनलाई शहरसम्म पु-याउन समेत पुल उपयोगी हुने दावी गरिएको छ। बतासेघाटमा पुल निर्माण भएपछि आवत–जावत बाहेक खोटाङ र उदयपुरको आर्थिक, धार्मिक, राजनैतिक, सामाजिक तथा साँस्कृतिक बिकासमा समेत टेवा पुग्ने सांसद भट्टराईले बताए।

सुनकोसी पुलका कारण ओखलढुंगा–सोलुखुम्बुको सगरमाथा ट्रेकिङ तथा पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने स्थानीयको अपेक्षा छ। बतासेघाटमा पक्की पुल बनेपछि दार्जिलीङ, सिक्किम लगायतबाट हलेसी तथा सगरमाथा पुग्ने सबैभन्दा छोटो बाटो खुल्ने जनाइएको छ।

प्रकाशित: ५ वैशाख २०७६ ०८:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App