८ वैशाख २०८१ शनिबार
समाज

जवानीमा अपराध, बुढ्यौलीमा जेल

काठमाडौं-‘आज एउटा ठूलो डरको अन्त भयो । २० वर्षसम्म म पक्राउ पर्ने त्रासमा बाँचें,’ प्रहरीले सोमबार हतकडी लगाउनासाथ थापाले भने, ‘काठमाडौंमा मलाई नपुग्दो थिएन तर थोरै लोभ गर्दा गाउँमा लुकेर बस्नुप¥यो, परिवारको इज्जत गयो ।’

पाप धुरीबाट कराउँछ भन्ने नेपाली कथन यतिबेला नारायणबहादुर थापासँग मेल खायो । ३५ वर्षे उमेरमा बाटो बिराएका थापालाई ५५ को हुँदा केन्द्रीय अनुसन्धान ब्युरोले नुवाकोटबाट पक्राउ गरेको हो ।

नुवाकोट भदुटारमा असल किसान र सामाजिक कार्यकर्ताको परिचय बनाएका थापा महिना–महिना घरको भाडा उठाउन खुसुक्क काठमाडौं आउँथे।

ब्युरोका अनुसार थापा ०५३ पुस ९ मा काठमाडौं ज्ञानेश्वरमा भएको लागुऔषध खैरो हेरोइनको किनबेचमा सहभागी थिए । ज्ञानेश्वरस्थित एभरेस्ट ट्रेकिङमा स्टोर किपर रहेका थापाले आफ्ना साथी सरोजरत्न शाक्यसहितको समूहलाई खैरो हेरोइन लुकाउन र किनबेचका लागि आफ्नै कार्यालयको कोठा उपलब्ध गराएको कसुर अदालतले प्रमाणित गरेको थियो ।

ब्युरोका एसपी दिवेश लोहनीका अनुसार शाक्यसहितको समूहले २० वर्षअघि नेपाल भ्रमणमा आउने विदेशी पर्यटकलाई लक्षित गर्दै रक्सौल पुगेर खैरो हेरोइन काठमाडौं ल्याएका थिए । थापा समेतको सहभागितामा ८५ हजारमा करिब आधा किलोग्राम खैरो हेरोइन काठमाडौंमा किनबेच गरेका बेला प्रहरीले छापा मारेको थियो ।

एसपी लोहनीका अनुसार घटनापछि फरार रहेका शाक्यलाई भने ब्युरोको टोलीले ०६९ मा पक्राउ गरिसकेको छ ।

थापाका एउटा छोरा दुबईमा, एउटा जापान र छोरी अमेरिका छन् । थापाको अहिले काठमाडौं मनमैंजुमा घर छ । थापा श्रीमतीसँग नुवाकोट बस्दै आएका थिए । नुवाकोट भदुटारमा असल किसान र सामाजिक कार्यकर्ताको परिचय बनाएका थापा महिना–महिना घरको भाडा उठाउन खुसुक्क काठमाडौं आउँथे ।

थापाले आफूलाई २० वर्षअघि पनि अभाव नभएको, शान्ति नै भएको तर सानो लोभले गर्दा त्यसपछि खुसी रहन नसकेको बयान प्रहरीमा दिएका छन् ।
ब्युरो टोलीका कमान्डर प्रहरी निरीक्षक भिष्म हुमागाईंले भने, ‘अभियुक्तलाई पक्राउ पर्नुअघि प्रत्येक दिन कहिले पक्राउ पर्छु भन्ने त्रास हुँदो रहेछ । उनले प्रहरी आफूतर्फ आउँदा पनि त्रास हुने गरेको र अहिले पक्राउ परेपछि मात्रै धेरै वर्षदेखिको त्रास  हटेको बयान दिए ।’

ब्युरोका अनुसार लागुऔषध मुद्दामा काठमाडौं जिल्ला अदालतले ०५६ चैत ३ गते थापासहित अन्यलाई सात वर्ष ६ महिना कैद र दुई लाख ५० हजार रुपैयाँ जरिवाना ठहर गरेको थियो । जिल्ला अदालतको फैसलाअघि नै धरौटीमा रिहा भएका थापा त्यसयता प्रहरीबाट आफूलाई लुकाउँदै हिँडेका थिए ।
काठमाडौं जिल्ला अदालतको फैसला उल्टाउँदै पुनरावेदन अदालत पाटनले ०५९ भदौ ११ मा १५ वर्ष कैद र पाँच लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो । पुनरावेदनको फैसलालाई ०६१ चैत ५ मा सर्वोच्च अदालतले सदर गरेपछि ब्युरो फैसला कार्यान्वयनमा जुटेको थियो ।  

‘अदालतको पहिलो फैसलापछि फरार रहेका उनलाई अदालतको पछिल्लो फैसला समेत जानकारी रहेनछ,’ लोहनीले भने, ‘उनका आफन्त समेत कानुन व्यवसायी भएकाले पक्राउ नपर्दासम्म आफैं प्रहरी सम्पर्कमा नआएको देखियो । तर, काठमाडौं आउँदा पक्राउ पर्ने डरले मोबाइल समेत नुवाकोटमै छाड्दा रहेछन् ।’

प्रकाशित: ४ कार्तिक २०७३ ०३:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App