७ वैशाख २०८१ शुक्रबार
राजनीति

अख्तियारलाई अर्को आदेशः हस्तक्षेपको ‘कारण देखाऊ’

काठमाडौं– सर्वोच्च अदालतले प्राज्ञहरुको अनुसन्धानमूलक संस्था सोसल साइन्स (वहा) मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको हस्तक्षेपको कारण पेस गर्न आदेश दिएको छ ।

न्यायाधीश देवेन्द्रगोपाल श्रेष्ठको एकल इजलासले बुधबार अनुसन्धानमूलक क्षेत्रमा काम गरिरहेको संस्थामा आर्थिक अनियमितता भएको भनी आयोगले लेखेको पत्रबारे लिखित जानकारी गराउन आदेश दिएको हो ।

वहाका तर्फबाट अध्यक्ष निर्मलामान तुलाधरले सोमबार दर्ता गरेको रिटमा आदेश जारी गर्दै सर्वोच्चले अर्को पेसीमा कारबाहीका लागि पत्र लेख्नुको कारणसहित छलफलमा आउनसमेत भनेको छ । निवेदकलाई कारबाही गर्नुको आधार र कारण खुलाएर महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफसहित उपस्थित हुन सर्वोच्चले समाजकल्याण र जिल्ला प्रशासन कार्यालय, ललितपुरका नाममा यस्तो आदेश जारी गरेको हो ।

वहाका तर्फबाट अध्यक्ष निर्मलामान तुलाधरले सोमबार दर्ता गरेको रिटमा आदेश जारी गर्दै सर्वोच्चले अर्को पेसीमा कारबाहीका लागि पत्र लेख्नुको कारणसहित छलफलमा आउनसमेत भनेको छ ।

आयोगले असोज ९ गते प्रेस विज्ञप्तिमार्फत उक्त संस्थामा आर्थिक अनियमितता भएको भन्दै कारबाहीका लागि समाजकल्याण परिषद् र जिल्ला प्रशासन कार्यालय, ललितपुरलाई निर्देशन दिएको थियो । वहाले तत्कालै विज्ञप्तिमार्फत उक्त आरोपको खण्डन गरेको थियो ।

आफूहरुले समाजकल्याण परिषद्लाई दिएका कागजपत्रमा उल्लेख गरिएका खर्च तथा रकमबारे गलत अर्थ लगाउन मिल्ने गरी अख्तियारले तथ्य बंग्याएको वहाको भनाइ थियो । उनीहरुको निवेदनमा पनि अख्तियारले समाजकल्याणमा पेस गरेको कागजपत्र बंग्याएर कारबाही गर्न दबाब दिएकाले रोक्न आदेश जारी हुनुपर्ने माग गरेको थियो । वहाको मागअनुसार सर्वोच्चले अन्तरिम आदेशका लागि दुवै पक्षको छलफल हुनुपर्ने भनेको छ ।

सोही संस्थाअन्तर्गत सञ्चालित ‘एलायन्स फर सोसल डायलग’ कार्यक्रम छुट्टै संस्थाको रुपमा चित्रण गरिएकाले आयोगको कार्य रोक्न रिट निवेदनमा माग गरिएको छ । संस्थाले एलायन्स फर सोसल डायलग नामक कार्यक्रम सञ्चालन गर्न समाजकल्याण परिषद्बाट स्वीकृति लिएको निवेदनमा दाबी छ । संस्थाले समाजकल्याण परिषद्को पत्रसमेत अदालतमा पेस गरेको थियो ।

सर्वोच्चले दुई साताभित्र लिखित जवाफसहित बहसमा आउन सबै पक्षका नाममा आदेश गरेको छ । यो आदेशपछि अर्को पेसीमा वहाको कारबाहीबारे निर्णय हुनेछ ।

प्रकाशित: ४ कार्तिक २०७३ ०२:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App