८ वैशाख २०८१ शनिबार
समाज

सकियो सगुन जात्रा

फाइल फोटो

भक्तपुर– भक्तपुरको बिस्काः जात्राको मुख्य आकर्षण द्यःयात संगःं बियेगु (देवतालाई सगुन चढाउने) जात्रा बुधबार सम्पन्न भएको छ। प्रत्येक वर्ष बिस्काः जात्राको क्रममा वैशाख ४ गते दिनभर यो जात्रा मनाइन्छ। यस दिन हजारौं महिला हाकुपटासी (स्थानीय परम्परागत कालो फरिया) मा सजिएर लाइनमा बसी टोलटोलका गणेशलाई सगुन चढाउँछन्। बुधबार पनि स्थानीय महिलाले सगुनका रूपमा रक्सी, अन्डा, माछा, अदुवा, चामल, चिउरा, रोटी, बिस्कुट, चोखोपनलगायत खाद्यसामग्री चढाएका छन्। उनीहरूले भक्तपुर नगरभित्रका ४० भन्दा बढी स्थानमा यस्तो सगुन चढाएका हुन्।

सगुन यात्रा सूर्यमढीबाट दत्तात्रय, गोल्मढी, सुकुलढोका हुँदै टौमढी पुगेको थियो। त्यस्तै गहिटी, लाकुलाछें, नासमना, भार्वाचो, इताछें, खौमा, दरबार क्षेत्र हुँदै तलेजु, चोछें, भोलाछें, थालाछें, नागपोखरी, तचपाल घुमेर पुनः सूर्यमढीमै पुगेको थियो। सूर्यमढी पुगेपछि साँझ जात्रा अन्त्य गर्ने चलन रहेको छ।

यसअघि सगुन चढाउने देवतालाई मंगलबार राति नै देवघरबाट निकालेर नजिकैका चोकस्थित पाटीमा राखिएको थियो। गणेश, अन्य देवतामध्ये भद्रकाली र भैरवनाथलाई भने बिस्काः जात्राको पहिलो दिन चैत २७ गते नै देवघरबाट निकाली रथमा राखिएको थियो। जात्रापछि यी देवतालाई पुनः देवताघरमा फर्काइन्छ। यीमध्ये भैरव र भद्रकालीलाई भने वैशाख ५ गते जात्रा सकेपछि मात्रै देवघर फिर्ता लगिन्छ।

प्रकाशित: ५ वैशाख २०७६ ०५:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App