८ वैशाख २०८१ शनिबार
खेल

पोसाक पाएनन् खेलाडीले

बाँके - भारतीय सीमानजिकै रहेको महेन्द्र बहुमुखी क्याम्पसमा आठौं राष्ट्रिय खेलकुदको फुल कन्ट्याक कराते प्रतियोगिता भइरहेको छ। टेन्ट राखेर भइरहेको प्रतियोगिता व्यवस्थित गर्न केही खेलकर्मी हतारहतारमा काम गरिरहेका थिए। प्रतियोगितामा सहभागी खेलाडीदेखि व्यवस्थापनमा खटिएका पदाधिकारीको पोसाकमा एकरूपता थिएन।

व्यवस्थापनमा खटिएका प्रशिक्षक हितेश भारती सातांै राष्ट्रिय खेलकुद लेखिएको ट्य्राकसुटमा थिए। भारतीजस्तै खेलमा सहभागी भएका अन्य खेलकर्मीको पोसाकमा एकरूपता थिएन। केही खेलाडी बुटवल त केही बाँके लेखेको ट्य्राकमा प्रतिस्पर्धाको तयारी गरिरहेका छन्। आयोजकले समयमै पोसाक उपलब्ध गराउन नसक्दा करातेका खेलाडीजस्तै अन्य थुप्रै खेलाडी निराश छन्। पोसाकबिना आठौंमा प्रतिस्पर्धा गर्दै छन् खेलाडीले।

आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले यसअघि पत्रकार सम्मेलन गरेर पोसाक तयार भइसकेको बताएको थियो। तर खेलाडीले खेल सकिँदासम्म पोसाक पाएका छैनन्। औपचारिक उद्घाटन अघि सुरु भएको आठांै राष्ट्रिय खेलकुदमा विभिन्न ३५ खेलमा प्रतिस्पर्धा भइरहेको छ। बिहीबार नेपालगन्ज रंगशालामा प्रतियोगिता उद्घाटन हुनुअघि १४ खेल सकिने छन्। केही खेलका खेलाडी प्रतियोगिता सकिएका कारण पोसाकबिना  घर फर्किसकेका छन्। तर आयोजकले भने बुधबारसम्म पोसाक उपलब्ध गराउन सकेको छैन। जुन आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिकाविपरीत भएको बताउँछन् खेलकर्मी।

आयोजकले खेल र खेलाडीको भावना बुझ्न नसकेको गुनासो गर्छन् करातेका स्वयम्सेवक प्रशिक्षक हितेश भारती। उनले भने, ‘मैले स्वयम्सेवक प्रशिक्षकको रूपमा काम गरेको छु। खेलाडीका लागि राष्ट्रिय खेलकुद महाकुम्भ हो। खेलाडीको महत्व पोसाकले झल्काउँछ। अरूले हेरेपछि हामीलाई चिन्छन्। तर आयोजकलाई यस्ता कुरामा वास्ता छैन।’

आफ्नो परिचय खुलाउन सहज हुने भएकाले पुरानो पोसाक लगाउन बाध्य भएको भारतीले बताए। उनले थपे, ‘हामीलाई प्रतियोगिता गर्ने जिम्मेवारी त दिइएको छ, तर आयोजकले केही वास्ता गरेको छैन। विहानदेखि राखेपको कोही पदाधिकारी आएका छैनन्। खेल गराउन के चाहिन्छ, टेन्ट कसरी व्यवस्थापन गरेका छांै भन्नेबारे पनि उहाँहरूलाई थाहा छैन। व्यक्तिगत रूपमा टेन्ट भाडामा लिएर प्रतियोगिता सञ्चालन गरिरहेका छाैं । भन्नलाई राष्ट्रिय खेलकुद भनिएको छ व्यवस्थापन रनिङ सिल्डभन्दा कमजोर छ।’

प्रदेश नम्बर ५ मा भरहेको आठौं राष्ट्रिय खेलकुदमा सात प्रदेश, विभागीय टोली नेपाल पुलिस, आर्मी, एपिएफ र पहिलो पटक एनआरएन टोलीले भाग लिइरहेका छन्।  आठांै राष्ट्रिय खेलकुदमा ३५ खेल समावेश गरिएको छ। ३५ खेलमा २ हजार ८ सय २५ पुरुष र २ हजार ३ सय ८६ महिला खेलाडीको सहभागिता छ।

प्रतियोगितालाई विगतभन्दा व्यवस्थित गर्ने भनिए पनि व्यवस्थापन कमजोर देखिएको छ। कराते प्रतियोगितामा सहभागी प्रदेश नम्बर ५ का प्रशिक्षक करुणानिधि त्रिपाठीले खेलाडी घर जाने समय आइसक्दा पनि पोसाक नपाएको बताए। उनले भने,‘हामीले मात्र होइन अरू जुडोको खेलाडीले पनि पोसाक नपाएको थाहा भयो। अरू खेलका खेलाडीले पाएका छैनन् भन्ने थाहा छ। खेलेर घर गैसके खेलाडी। तर पाएनन्। जुत्ता,पोसाकको साइज मात्र लिइएको छ, पोसाक पाएको छैनौं। अब पाउने हो कि होइन थाहा छैन।’

भारतबाट पोसाक आयात गर्न केही ढिलाइ भएकाले पोसाक वितरण गर्न ढिलाइ भएको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले बताए।  उनले भने,‘ट्य्राकसुट उद्घाटन सत्रमा लगाउने हो। केही खेलाडी घर गइसकेका छन्। उनीहलाई घरमा पु-याउने व्यवस्था गरिन्छ।’

केही खेलका खेलाडी प्रतियोगिता सकिएका कारण पोसाकबिना  घर फर्किसकेका छन्। तर आयोजकले भने बुधबारसम्म पोसाक उपलब्ध गराउन सकेको छैन। यो आठांै राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिकाविपरीत भएको खेलकर्मी बताउँछन्।

प्रकाशित: ५ वैशाख २०७६ ०३:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App