७ वैशाख २०८१ शुक्रबार
अन्य

वन्डरफूल इन्डोनेसिया (फोटो फिचर)

नेपाली सिने क्षेत्रका दुई हस्ती प्रियंका कार्की र आयुष्मान देशराज जोशीको जोडीले केही समयअघि इन्ष्टाग्राममा ‘रोमान्टिक तस्बिर अपलोड गरे। तस्बिरले तरंग ल्यायो । ती तस्बिर इन्डोनेसियाको बालीमा खिचिएका थिए । ‘प्रि हनिमुन’का ती तस्बिर ‘हट’ मात्र थिएनन्, निकै आकर्षक पनि । कार्की र जोशीको जोडीले ‘प्रि हनिमुन’का लागि किन बाली नै रोजे त ?

जब आफै इन्डोनेसियाको बाली पुगें तब उत्तर भेटें । हजारौं टापुहरु रहेको इन्डोनेसिया त ‘वन्डरफूल’ रहेछ । सात दिने ‘फेमिलिराइजेन ट्रिप’मा सहभागी भएपछि त्यहाँका पर्यटकीय गन्तव्यमात्र होइन, जनजीवन, धर्म, संस्कृति, समाज, भाषा, राजनीति, अर्थतन्त्र, पूर्वाधार विकास लगायत विषय नजिकबाट नियाल्यौं । 

क्रुज यात्राले फरक अनुभूति दिलायो। धेरैलाई लाग्न सक्छ पानीजहाजमा यात्रा मात्र गर्ने हो। तर, इन्डोनेसियामा पर्यटकलाई लक्षित गरेर क्रुज डिनरको व्यवस्था गरिएको छ। हजारौं पे्रमिल जोडी डिनरका लागि त्यहाँ पुग्छन्।

हिन्द महासागरको सामुन्द्रिक किनारदेखि ज्वालामुखी विस्फोट हुने मरापी हिमालसम्म । सामुन्द्रिक छालमा रमाउने, क्रुज डिनर यात्रा, धार्मिक गन्तव्यदेखि अफ रोडको एड्भेन्चर टुरिजममा रमाउन पाउँदा पुलकित नहुने कुरै भएन । ऐतिहासिक, सांस्कृतिक, धार्मिक पक्ष, जातजाती, भाषाभाषी, भेषभुषा, संस्कृति, परम्परा बुझ्नेदेखि खानाका परिकार स्वाद चाख्ने अवसर मिल्यो ।

इन्डोनेसियाको पर्यटन मन्त्रालयको आमन्तरण, इन्डोनेसियाली दुतावास ढाकाको समन्वयमा मार्च २७ तारिख बालीतर्फ प्रस्थान ग-यौं हामी  । भ्रमणको चाँजोपाँजो व्यावसायिक घराना आइएमई समूहले प्रवद्र्धन गरेको आइएई ट्राभल्सले मिलाएको थियो । 
साँझ १०.४० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट मलिन्दो एयरबाट सुरु भएको यात्रा अर्को विहान १०.४० बजे डेनपासा विमानस्थलमा अवतरण ग-यौं । 

त्यहाँका इमिग्रेसन अफिसरले मन्द मुस्कानमा अनएराइभल भिषामा स्वागत गरे । ढाकास्थित इन्डोनेसिया दुतावासकी तृतीय सचिव मुर्नी न्यारिष्टी भने क्वालालाम्पुर अन्तर्राष्ट्रिय विमानस्थल मलेसियाबाट हामीसँग सहभागी भैसकेकी थिइन् । भ्रमण टोलीमा नौ जना नेपाली थियौं ।

इमिग्रेसनमा इन्डोनेसियाको पर्यटन मन्त्रालयका दक्षिण एशिया हेर्ने प्रमुख डिडिन परमाना नेतृत्वको टोलीले विमानस्थलमा सयपत्री फूल मालाले स्वागत गरे । आत्मीय आथित्यता सत्कारले बाग्लुङ भकुण्डेका होमस्टेमा पुग्दाको स्मरण भयो ।

जब विमानस्थलबाट निस्कियौं । त्यहाँको पूर्वाधार विकासले यात्रामा सहभागी सबैको ध्यान तान्यो । धुलोधुँवा कसलाई मन पर्छ र ? त्यहाँका सुन्दर सडक, गाडी, मोटरसाइक तथा साइकल, पैदल यात्रीलाई सडकमा छुट्टा–छुट्टै लेन, व्यवस्थित पूर्वाधार निर्माण, सडक छेउमा हरियाली देख्दा डाह लाग्यो । आफ्नो देशमा भत्किएका, अस्तव्यस्त, धुलाम्मे सडक पूर्वाधारले घच्घचायो ।

यात्रामा सहभागी अरुलाई पनि त्यस्तै लागेछ । लञ्चका लागि होटल जाँदा यात्राको संयोजन गरिरहेका आइएमई ट्राभलका प्रमुख कार्यकारी अधिकृत विनोद सापकोटाले भने, ‘आहा ! कस्तो सडक, काठमाडौंमा पनि यस्तै भए ? 

भ्रमणमै संलग्न आइएमई समूहका राजु पौडेल पनि त्यहाँ सडक छेउको ग्रिनरी देखेर पुलकित भए ।  ‘अहा कस्तो हरियाली ? हामीले पनि यस्तो बनाउन किन नसक्ने ? भ्रमणमा सहभागीले एकपछि अर्को प्रश्न आफ्नै मुलुकको अव्यवस्थाप्रति गरे । 

पौडेललाई रोकेर हेलो ट्राभलका जनरल मेनेजर शिव केसीले सान्त्वना दिँदै आशा जगाए । ‘अब काठमाडौं पनि सुध्रिन्छ । धुलो तान्न ब्रुमर ल्याइएको छ । विकास विस्तारै हुन्छ ।’

विमानस्थलबाट सिधै होटलमा गएर लञ्च लियौं । बाँसले बुनेका साना डालीमा केराका पातमा भात । तरकारी र अन्य परिकार । खानाको ‘फरक टेष्ट’मा रमायौं ।

लञ्चपछि उलुवाटु मन्दिरतर्फ लाग्यौं । बाली धार्मिक आस्था र निष्ठाको सहर हो ।

बाली पुगेर उलुवाटु नपुग्ने कोही हुँदैन । मन्दिर प्रवेश गर्ने सबैले प्याजी रंगको कछाड वा पहेँलो पटुकी अनिवार्य बाँध्नुपर्छ । जुनसुकै धर्म वा जातजाती भए पनि मन्दिरको परम्परा मान्नु पर्ने नियम छ । ।

सन् २०१९को तथ्यांक अनुसार इन्डोनेसियाको अनुमानित जनसंख्या २६ करोड ८८ लाख ४९ हजार नौ सय ८४ छ । मुस्लिम बाहुल्यता रहेको इन्डोनेसियाको बाली प्रान्तमा भने ८५ प्रतिशत हिन्दु बसोबास गर्ने पर्यटक गाइड सुकु काकाले बताए । हिन्दुको संस्कार, संस्कृति हेर्न विश्वभरका पर्यटक उक्त मन्दिरमा पुग्छन् । मन्दिरसँगै महासागरका छाल रोचक देखिन्छ ।  

उलुुवाटु मन्दिरमा पर्यटकको लावालस्कर देख्दा नेपालकै पशुपतिनाथ, मुक्तिनाथ, लुम्बिनी, स्वयंम्भू, बौद्ध स्तुपालगायतका धार्मिकस्थल, मठमन्दिर, गुम्बाको याद आयो । त्यहाँ पुगेका पश्चिमा मुलुकका पर्यटक पनि प्याजी रंगको कछाड बाँधेर हिँड्दा रमाइलो मानिरहेका थिए ।

मनमा प्रश्न उब्जियो, हामीले यसरी नै पर्यटक आकर्षित गर्न किन नसक्ने ? मन्दिरै–मन्दिरको सहर काठमाडौंमा मन्दिर दर्शन गर्ने प्याकेज बनाएर विदेशी आकर्षित गर्न त सक्छौं नि । पशुपतिमा हरेक दिन गरिने आरती र त्यसको महिमा ‘ब्रिफिङ’ गरेर पर्यटकलाई मन्त्रमुग्ध बनाउन त सक्छौं नि । 

उलुबाटुको अर्को विशेषता त्यहाँ देखाउने केचक नृत्य रहेछ । राम, सीता, हनुमानलगायतका पात्रको प्रस्तुतीले रामायणको झल्को दिन्थ्यो । केचक नृत्य मन्दिर प्रवेश निःशुल्क रहे पनि केचक नृत्यबाट आयोजकले राम्रो आम्दानी गरेका थिए । 

यसले त्यहाँका स्थानीयको धर्मप्रतिको अगाध आस्थालाई देखायो । धार्मिक स्थलमा मात्र नभएर उनीहरु व्यावसायिक प्रयोजनमा पनि धर्मप्रति श्रद्धा देखाउँछन् । इन्डोनेसियाको हवाई कम्पनीको नाम ‘गरुड एयरलाइन्स’ राख्नुले पनि यसको पुष्टी गर्छ । धार्मिक मान्यता अनुसार ‘गरुड’ विष्णुका वाहन हुन् । 

सडक छेउ, घर, सांस्कृतिक सम्पदा वरीपरी सबैतिर कलात्मक रुपमा बनाएका सामग्रीले सबैको ध्यान तान्यो । त्यहाँ पुगेको दोस्रो दिन बालीकै सामुन्द्रिक किनार नुसाडुवा क्षेत्रको तन्जुङ बेनोआ वार्टर स्पोट्र्स सेन्टरमा पुग्यौं । पर्यटक आकर्षित गर्ने र धेरै समय व्यतित गराउने अनेक तरिका रैछन् इन्डोनेसियामा । रुची अनुसार विभिन्न ‘वाटर स्पोट्र्स’मा साहासिक खेल खेल्न पाइने । हामीले आफ्नो रुची अनुसारका खेलमा सहभागी भयौं । पानीमा तैरिँदा–तैरिँदै डुंगानै आकासमा उड्ने फ्लाइङ फिस पनि खेल्यौं । बोटमै सुतेर आकासमा उड्न पाउँदा कम्ता आनन्द आएन । समुन्द्रमा डुबुल्की मार्न पाउँदाको मजा बर्णन गरेर साध्य छैन । 
भ्रमणमा सहभागी आइएमई ट्राभलका अनुप थापा र शिव केसी समुन्द्र सतहबाट पानीको गहिराईमा जाने स्कुबाडाइभिङको पनि अनुभब बटुले । 

प्यारालेसिङबाट आकासमा उड्न पाउँदा एमई ट्राभल्सकी मीना महर्जन, प्रेसिडेन्ट ट्राभलकी कल्पना श्रेष्ठ र बोन होलीडेकी सेजल श्रेष्ठ फुरुङ थिए । कन्चन पानी, निलो समुन्द्रमाथीको बीच भाग । जब चरी जसरी आकासतर्फ उठ्थें । समुन्द्रबीचको आकासबाट बाली सहरको दृष्यावलोकन गर्न पाउँदा संसार जितेको अनुभुती हुन्थ्यो । सामुन्द्रिक छालले जमिनलाई चुम्बन गरिरहनेको दृष्य कम रोचक थिएन । समुन्द्रमा माछा झै तैरिँदाको आनन्द । समुन्द्रको पानीमा यात्रामा सहभागी पत्रकार महासंघका उपाध्यक्ष दिलीप थापामगरसँग छ््यापाछ्याप गर्दाको रमाइलो  । समुन्द्रिक किनारसँगै जोडिएका होटलमा स्विमिङ पुल । स्विमिङ पुलमा पौडिँदै मदिरा वा जुस पानसँगै सन वाथिङ गर्दाको मज्जा बेग्लै थियो । 

त्यसपछि लञ्चसँगै हामी पाण्डवा सामुन्द्रिक किनारमा पुग्यौं । सामुन्द्रिक किनारमा पुगेपछि पानी जहाजमा चढ्ने चाहना हुनु स्वभाविक हो । जहाजमा यात्रा मात्र होइन, क्रुज डिनरको पनि व्यवस्था छ । साँझको छ बज्दै थियो । सामुन्द्रिक किनारबाट तीन तले बाउन्टी क्रुजले क्रमशः समुन्द्रको किनार छाड्यो । पानीजहाजमा गीत गुन्जिन थाल्यो । क्रुज भित्रनै रेष्टुरेन्ट, बारसहित सबै व्यवस्था थियो । नेपाली टोली छ भन्ने थाहा पाएकाले हुनुपर्छ । क्रुजको तेस्रो तलामा ‘कुटुमा कुट....’ नेपाली गीत गुन्जियो । सांगीतिक कार्यक्रममा नेपालीमात्र नभएर विदेशी पनि रमाए । क्रुज भित्रनै झुमा डान्समा पर्यटकले मनोरन्जन लिए । 

साँझ छिप्पिँदै जाँदा क्रुज समुन्द्रको बीचतिर पुग्यो । हामी सवार क्रुज भने समुन्द्रकोबीच तिर रोकियो । हामीलाई स्वागत गर्न पुगेका स्थानीय पर्यटन व्यवसायी विष्णु अरिम्बाबाले क्रुज डिनरको यात्रालाई थप रमाइलो बताए ।

समुन्द्रमा सुर्यास्तको दृष्यावलोकनसँगै फोटो सेसन गर्न सबै उत्साहित थिए । हामीले पनि त्यो अवसर छाड्ने कुरै भएन । डाँडाबाट सूर्यास्त देखेका हामीले समुन्द्रकै किनारमा सुर्यास्त (डुबेको) देख्न पाउनु विरलै थियो । सामुन्द्रिक यात्रा, सांगीतिक कार्यक्रमसहित समुन्द्रकोबीचमा डिनर लिएर फर्किन पाउँदा आफैलाई सौभाग्यशाली ठान्यौें । 

हनिमुन मनाउन पुगेका प्रेमिल जोडीले क्रुज यात्रामा नृत्यसहित बीचबीचमा चुम्बन गरेर रसातालमा पुगेका थिए । क्रुज यात्राले फरक अनुभूति दिलायो । धेरैलाई लाग्न सक्छ पानीजहाजमा यात्रा मात्र गर्ने हो । तर, इन्डोनेसियामा पर्यटकलाई लक्षित गरेर क्रुज डिनरको व्यवस्था गरिएको छ । विदेशका हजारौं पे्रमिल जोडी डिनरका लागि त्यहाँ पुग्छन् ।

पर्यटनमा विविधता छ भन्ने इन्डोनेसियाको पर्यटन प्रवद्धर्न अभियानमा प्रष्ट बुझ्न सकिन्थ्यो । त्यहाँ कृषि पर्यटनलाई पनि प्राथमिकता दिइएको छ । 

बालीकै उमापाकेल क्षेत्रमा पुगेर कृषि, पहाड र खोचलाई कसरी पर्यटकीय क्षेत्रको विकास गरिएको छ भने अवलोकन ग-यौ । कफीका टेष्ट त लिँदै आएका थियौं । त्यहाँ बिरालोलाई कफीका दाना खुवाएर दिसा गरेपछि निस्केको कफीलाई प्रशोधन गरेर ‘क्याट पु चिनो’ कफी तयार गरिँदो रहेछ । एक दर्जन बढी कफीका फरक स्वाद चाख्ने अवसर मिल्यो । जंगल छेउमा रहेका रुखमा कृत्रिम गुंड बनाएर फोटा खिच्ने, स्विइङ खेलाउने व्यवस्था मिलाइएको थियो । रुखमा बनाएका चराका कृत्रिम गुँड देखे पछि चन्द्रागिरीको प्रवद्र्धन गरिरहेको आइएमई समूहका पौडेलले यस्ता गुँड चन्द्रागिरी हिल्समा बनाउन सकिने जुक्ति निकाले।

त्यसपछि नुसादुवा सामुन्द्रिक किनारमा पुग्यौं । त्यहाँ नेपाल र इन्डोनेसियाका पर्यटन व्यवसायी, पर्यटन मन्त्रालयका अधिकारीबीच आयोजना गरिएको डिनरले सामिप्यता बढायो । होटलमा नै ‘अग्नि कुण्ड’को स्थापना गरेर यज्ञ लगाई होमन गरिएको थियो । हिन्दुहरुको धर्म, संस्कृति, संस्कार मिल्ने देखे पछि आइएमई ट्राभलका सिइओ सापकोटाले भने, ‘धार्मिक पर्यटक आदान–प्रदान गर्न काठमाडौं र बालीबीच भगिनी सम्बन्ध स्थापना गर्न सकिन्छ ।’ 

हाम्रो गन्तव्य त्यसपछि जोगजाकार्ता र जाकार्तातर्फ सोझियो । एड्भेन्चर टुरिजमले प्रख्यात मेरापी पहाड फेदीमा पुग्यौं । ज्वालामुखी विस्फोट भएको पहाडमा वास्पिकरण भएको प्रष्टै देखिन्थ्यो । ज्वालामुखी क्षेत्र मै पुगेर अवलोकन र अध्ययन गर्ने जीवनकै महत्वपूर्ण सिकाई हो । सन् २०१०मा मेरापी पहाडमा आएको ज्वालामुखी र त्यसको असर प्रत्यक्ष अवलोकन ग¥यौं । त्यहाँ दैनिक हजारौं पर्यटक पुग्छन् । लाभा टुर्स गरेपछि आफ्नै देशमा २०७२मा गएको विनासकारी भूकम्पको स्मरण भयो । विदेशीले आफ्ना विपत्तीलाई संग्रहालयमा राखेर पर्यटक आकर्षित गर्ने माध्यम बनाएका छन् । तर, हामीले त्यो पक्षमा ध्यान दिएका छैनौं ।

भूकम्पको विनास आफैमा दुःखद थियो । त्यो दुखदायी घटनालाई किन संरक्षण गरेर संग्रहालय बनाएर विदेशीलाई आकर्षित गर्न सकेनौं मनमा प्रश्न उब्जियो । विदेशमा जति पनि म्युजिममा भ्रमण गरिन्छ । ती देशले आफ्नो इतिहासलाई म्युजियममा राखेर बेचिरहेका छन् । नेपालको समाज अहिले पनि जिउँदो म्युजियम छ । त्यसलाई उपयोगमा ल्याउन सकेको छैन । पर्यटकीय गन्तव्य बनाएर विश्व बजारमा ‘सेल’ गर्न सकिएको छैन ।

ज्वालामुखी हर्ने जाँदा खुल्ला जीपमा सफारीको व्यवस्था । कच्ची बाटोमा अफ रोड ड्राइभिङ गराएर एड्भेन्चर टुरिजमलाई प्रमोट गरिएको छ । बोरोबुडुरबाट विहान देखि सूर्योदयको दृष्यावलोकन गर्न पर्यटक त्यहाँ पुग्दा रहेछन् । एक रात कै चार सय डलर तिर्नुपर्ने बोरोबुडुर क्षेत्रमा रहेको प्लट्रिन भिल्ला पनि निकै आकर्षक थिए । भिल्लासँगै स्विमिड पुल, मसाज केन्द्रमात्र नभएर मिनी चिडियाखानाको व्यवस्था । 

विश्व सम्पदा सूचीमा सूचीकृत प्रम्बनान्न मन्दिर, रेमा हिलमा रहेको चिकेन चर्च, जाकार्तामा रहेको म्युजियम बैंक अफ इन्डोनेसिया, जाकार्ताकै सुल्तान प्यालेस अवलोकन अविस्मरणीय रहे । बाली, जोगजाकार्ता, सेन्ट्रल जाभा, जाकार्ता यात्रा फलदायी बन्यो । बलियो अर्थतन्त्र भएको इन्डोनेसियाको मुद्रा भने कमजोर छ । पिसाब गर्न जाँदा दुई हजार, एक लिटर पानीको मूल्य २० हजार रुपियाँ तिर्नुपर्ने । एक डलरको १४ हजार एक सय ५४ रुयियाँ पर्छ । नेपाली एक रुपैयाँको एक सय १७ दशमलब ७७ रुपियाँ पर्छ । नेपाली मुद्रालाई रुपैयाँ भने जस्तै त्यहाँको मुद्रालाई रुपियाँ (आइआरडी) भनिन्छ ।

इन्डोनेसिया भ्रमणले फरक र अविस्मरणीय अनुभुति दिलायो । सात दिन वितेको पत्तै भएन । जहाँ जे छ त्यसलाई नै पर्यटकीय गन्तव्य बनाउन सकिन्छ भन्ने अनुपम उदाहरण हो इन्डोनेसिया । सामुन्द्रिक किनार, मठमन्दिर, पहाड, कृषि पर्यटन, ज्वालामुखी सबै क्षेत्रका विशेषतालाई उजागर गरेको छ । 

भ्रमणले दुई देशबीचको पर्यटन प्रवर्द्धनको अभियानमा त टेवा पुग्यो नै। पर्यटक आदानप्रदान गरेर अर्थतन्त्रमा टेवा पु-याउन सघाउ पुग्नेछ । इन्डोनेसिया भ्रमणको अविस्मरणीय छाप लिएर यात्रा विट मार्दै अप्रिल ३ तारिखमा हामी स्वदेश फर्कियौं। 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App