coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

प्राथमिक स्वास्थ्य केन्द्रमा जनशक्ति अभाव

बनेपा– काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–६ दुलालथोकमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा ११ जना कर्मचारी रहेकाेमा अहिले तीन जना कर्मचारीले सेवा दिइरहेका छन्।

सङ्घीय संरचनाअनुसार अहिले नगरपालिकाअन्तर्गत सञ्चालन भइरहेको सो केन्द्रमा तीन जना मात्रै स्वास्थ्यकर्मीले सेवा प्रदान गर्दै आएका हुन्। एघार जनाको दरबन्दी रहेको भए पनि कर्मचारी समायोजनको लागि खुला गरिएको छनोट प्रक्रियामा स्वास्थ्यकर्मीले सङ्घीय र प्रदेशमा रोजेर गएपछि अहिले सेवा प्रवाहमा समेत समस्या भएको केन्द्रका प्रमुख डा प्रीति यादवले बताइन्। 'दरबन्दी ११ जनाको हो, तर अहिले हामी तीन जनाले मात्रै सेवा दिँदै आइरहेका छौँ,' उनले भनिन्, 'कर्मचारीको अभावका कारण कुनै बेला कसैले बिदामा बसिदियो भने आवश्यक पर्ने औषधि ल्याउनसमेत कठिन हुने गरेको छ।'

सो केन्द्रमा दैनिक ४० जनाको हाराहारीमा बहिरङ्ग विभाग (ओपिडी)मा र १० जना जति आकस्मिक सेवामा आउने गरेको अस्पतालका प्रमुख डा यादवले बताइन्। उनका अनुसार नगरपालिकाले अनमी र अहेबको व्यवस्था गरिदिएको छ। त्यसरी सेवा प्रवाह भइरहेको केन्द्रमा ५/६ दिनदेखि तीन जनाले मात्रै सेवा प्रदान गर्दै आइरहेका छन्। जिल्लाभरिकै एउटा मात्रै केन्द्रको रुपमा रहेको यहाँ कुकुरको टोकाइबाट हुने ‘एन्टी रेबिज भ्याक्सिन’ दिने सुविधा छ तर, जनशक्ति अभाव र कहिलेकाहीँ औषधि आपूर्ति गर्न टेकु अस्पतालसम्म पुग्नुपर्ने भएकाले भ्याक्सिन उपलब्ध गराउन समस्या हुने गरेको केन्द्रले जनाएको छ।

केन्द्र प्रमुख यादवका अनुसार महीनाको ५० जनाको हाराहारीमा कुकुरको टोकाइबाट हुने समस्याका बिरामी एन्टी रेबिज भ्याक्सिन लिन आउने गरेका छन्। 'पहिलो महीनामा जति जना त्यस्तो बिरामी आउने गरेका छन्, त्यसको आधारमा टेकुमा गएर भ्याक्सिन ल्याउने गरेका छौँ”, उनले भनिन् 'जनशक्ति अभावकै बीचमा काम गर्नुपर्दा भनेजस्तो सेवा दिन समस्या हुने गरेको छ।' पछिल्लो अवस्थामा कुकुरको टोकाइबाट बिरामी भएर आउनेको सङ्ख्या बढ्दै गएको केन्द्रले जनाएको छ।

अहिले सो केन्द्रमा एक एच ए, एक अनमी र एक मेडिकल अधिकृत गरी तीन जनाले सेवा दिइरहेका छन्। एकातिर जनशक्तिको अभाव, अर्को तिर कागजी प्रक्रियामा निकै झण्झट हुने गरेको केन्द्रले जनाएको छ। प्राथमिक स्वास्थ्य केन्द्र नै भएपनि सो केन्द्रमा एन्टी रेबिज भ्यासिक्न दिने सेवा सुचारु गरेका कारण भ्याक्सिन लिने प्रक्रिया झण्झटिलो छ। उक्त भ्याक्सिन काठमाडौंस्थित टेकु अस्पतालबाट मात्रै प्रदान गरिने भएकाले केन्द्रबाट नगरपालिका र धुलिखेलस्थित जनस्वास्थ्य कार्यालयबाट पत्राचार गरिसकेपछि मात्रै भ्याक्सिन उपलब्ध हुने भएकाले समस्या हुने गरेको केन्द्रका प्रमुख यादवकाे भनाइ छ।

केन्द्रका सिनियर अहेब सुनील केसीले जिल्लामा रहेका चार स्वास्थ्य केन्द्रमध्ये सो केन्द्रबाट २४ सै घण्टा सेवा प्रदान गरिरहेको बताउनुभयो। जिल्लाको पनौती नगरपालिकाको खोपासी र सुनथान, धुलिखेल नगरपालिकाको धुलिखेल र पाँचखाल नगरपालिकाको दुलालथोकमा रहेको केन्द्रमध्ये सो ठाउँमा मात्रै एन्टी रेबिज भ्याक्सिनको सेवा प्रवाह हुँदै आएको छ। यसअघि एन्टी रेबिज भ्याक्सिनका लागि कि त निजी अस्पतालतिर जानुपथ्र्यो कि त सरकारी सेवा प्रवाहको। अस्पताल टेकुसम्म पुगेर सेवा लिनुपर्ने बाध्यता थियो। अहिले सरकारी निकायबाट नै सो सेवा प्रवाह हुँदै आएको भए पनि जनशक्ति अभावका कारण सेवा प्रवाहमा समस्या देखिन थालेको हो।

प्रसूति सेवा केन्द्र लगायतको स्वास्थ्य सेवा प्रवाह गर्दै आएको केन्द्रमा जनशक्ति अभाव हुँदा सोचेअनुसार सेवा प्रवाह गर्न समस्या भएको उहाँको भनाइ छ। पाँचखाल नगरपालिकाका उपप्रमुख लक्ष्मी दनुवारले समायोजनपछि कर्मचारी हिँडिसकेको भए पनि त्यही क्रममा अर्को कर्मचारी आइसकेको कारण अब छिट्टै पूर्ति हुने बताइन्। 'हामी कहाँ कर्मचारी आउने क्रम जारी छ, अब छिट्टै हाजिरी भएर काममा खटिनेछन्,' उनले भनिन्।

यसअघि पनि अपुग कर्मचारी रहेका कारण नगरपालिकाले करारमा नै माग गरेर पूर्ति गरी सेवा प्रवाह गर्दै आएको उनको भनाइ छ।रासस

प्रकाशित: ४ वैशाख २०७६ ०९:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App