७ वैशाख २०८१ शुक्रबार
समाज

सगरमाथाकाे उचाइ नाप्ने टोली दिङ्बोचेमा

तस्बिर: एजेन्सी

सोलुखुम्बु– सगरमाथाको उचाइ नाप्ने समूह सोलुखुम्बुको दिङ्बोचेमा पुगेको छ। चैत २७ गते बुधबार काठमाडौँबाट हिँडेको टोली मङ्गलबार खुम्बु पासाङल्हामु गाउँपालिका–४ को दिङ्बोचेमा पुगेको हो।

नेपाल सरकारले पहिलोपटक विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन कार्य गरिरहेको छ। सो कार्यका लागि चार जनाको मापन टोली खुम्बु पुगेको नापी विभागका नापी अधिकृत सुशील डङ्गोलले जानकारी दिए। टोली प्रमुख नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रवीन कार्की, सर्भेयर सुरजसिंह भण्डारी र अमिन युवराज धिताल तेञ्जिङ हिलारी विमानस्थल हुँदै आज लबुचे पुग्नेछन्। उनीहरुसँगै नेपाल माउण्टेन एकेडमीका प्रशिक्षक छिरिङ जाङ्बु शेर्पा पनि सगरमाथाको उचाइ नाप्न गएको विभागले जनाएको छ।

उक्त टोलीले आमादब्लम हिमालको पनि आरोहण गर्ने बताइएको छ। नापी विभागका सूचना अधिकारी दामोदर ढकालका अनुसार टोलीमा रहेका दुईजना सगरमाथा आधारशिविरमा बसेर समन्वय गर्ने र दुईजना सगरमाथाको चुचुरोसम्म पुगेर काम गर्नेछन्। टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा एक कार्यक्रमकाबीच चैत २७ गते बुधबार बिदाई गरेका थिए। सगरमाथाको उचाइ मापनको सम्पूर्ण काम सन् २०१९ मा सम्पन्न गरी आधिकारीक उचाइ सार्वजनिक गरिने नापी विभागले जनाएको छ।

नापी विभागले अहिलेसम्म सिरहाको माडरदेखि सोलुखुम्बुको पत्ताले, फाप्लु नजिकैको छुल्याङ्मु डाँडा र पिके डाँडासम्मको उचाइ लिएर सम्पर्क स्थापित गर्ने काम गरिसकेको छ। यो काम सकिएसँगै ६० प्रतिशत काम सम्पन्न भएको सगरमाथा मापन योजनाका संयोजक तथा प्रमुख नापी अधिकृत सुशील डङ्गोलको भनाइ छ। कति पटक नापियो विश्वको सर्वोच्च शिखर भएकाले सगरमाथालाई संसारले नै चासोका साथ हेरेको छ।

यसको आधिकारिक उचाइ मापनको काम भारत, अमेरिकालगायतको विभिन्न राष्ट्रले गरे पनि फरक/फरक रिपोर्ट सार्वजनिक भएका छन्। नापी विभागका अनुसार सन् १८५२ मा पहिलोपटक ब्रिटिसले सगरमाथाको उचाइ नापेका थिए। नेपालमा नआई सर्भे अफ इण्डियाबाट नापेका ब्रिटिसले आठ हजार ८४० मिटर उचाइको हिमाल रहेको बताएका थिए। ब्रिटिसहरुले नै सन् १९०४ मा पुनः नापेको बताइन्छ। सन् १९५४ मा भारतीय नापी विभागको टोलीले आठ हजार ८४८ मिटर अग्लो सगरमाथा रहेको निष्कर्ष निकालेको थियो। सन् १९९९ मा अमेरिकी टोलीले सगरमाथाको उचाइ आठ हजार ८५० मिटर रहेको दाबी गरेको थियो।

यस्तै नर्वे, अमेरिका र चिनियाँ संस्थाले पनि सगरमाथाको उचाइ नापेको बताइन्छ। उनीहरुले नाप्दा फरक/फरक समयमा फरक/फरक रिपोर्ट सार्वजनिक गरेका थिए। नेपालले भने अहिलेसम्म आठ हजार ८४८ मिटरलाई नै मान्यता दिँदै आएको छ। अब नेपाली टोलीले यसको उचाइ मापन गरी नेपाल सरकारकारलाई बुझाएको प्रतिवेदन नै आधिकारिक हुने बताइएको छ। चुचुरो पुग्न कति दिन दिङ्बोचेबाट आधारशिविर पुग्नको लागि मात्र तीन क्याम्प मानिन्छ। दिङ्बोचेमा बसेको पर्यटक भोलिपल्ट करीब चार हजार ३४९ मिटर उचाइमा रहेको लबुचे पुगेर बस्छ।

करीब पाँच हजार १०० मिटर उचाइमा रहेको गोरप्सेप पुगेर बसेको पर्यटक अर्को दिन सगरमाथा आधारशिविर पुग्ने पथप्रदर्शक चुडामणि केसी बताउँछन्। आधार शिविरबाट सगरमाथा पुग्न चार क्याम्प पूरा गर्नुपर्छ। चार क्याम्प पूरा गर्नका लागि एकैपटक सम्भव नहुने आरोही बताउँछन्। पटक/पटक क्याम्प १ पुग्ने, पुनः आधारशिविर झर्ने, पुनः क्याम्प २ पुग्ने आधारशिविर झर्ने काम पटक/पटक गर्दै चुचुरोमा पुग्न सकिने २२औँ पटक सगरमाथाको सफल आरोहण गरी नयाँ कीर्तिमानी कायम गर्नुभएका आरोही कामीरिता शेर्पाकाे भनाइ छ। शेर्पाले भने, 'जतिमाथि गयो त्यति गाह्रो हुन्छ, त्यसैले सरासर जान सम्भव हुदैन त्यहाँको वातावरणसँग घुलमिल हुँदै जानुपर्छ।' रासस

प्रकाशित: ४ वैशाख २०७६ ०७:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App