८ वैशाख २०८१ शनिबार
समाज

आकाशबाटै सिक्टा निरीक्षण

बाँके - सिक्टा सिँचाइ आयोजनाको क्षतिग्रस्त पश्चिम मूल नहर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्यक्ष अवलोकन गर्ने हल्ला सुनेपछि शमशेरगन्जका स्थानीय निकै उत्साहित देखिन्थ्ये। प्रधानमन्त्रीले राष्ट्रिय गौरवको आयोजना सिक्टाको दुरवस्था आफ्नै आँखाले देखेपछि त्यसको प्रभाव बेग्लै हुने आशा यहाँका स्थानीयलाई थियो।

प्रधानमन्त्री ओली मंगलबार बिहान काठमाडौंबाट नेपालगन्जसम्म जहाजबाट आउने र विमानस्थलबाट नेपाली सेनाको हेलिकोप्टर चढेर सुर्खेतस्थित भेरी बबई डाइभर्सनको ‘ब्रेक थ्रु’ गरिसकेपछि त्यहाँबाट सीधै बाँकेको शमशेरगन्जमा ओर्लिएर सिक्टाको पश्चिम मूल नहर प्रत्यक्ष अवलोकन गर्ने कार्यतालिका थियो। प्रधानमन्त्री ओली सिक्टा निरीक्षणमा आउने भएपछि स्थानीय बासिन्दाले निकै चासो राखेका थिए। मौका पाएमा प्रधानमन्त्रीसँग प्रत्यक्ष साक्षात्कार गर्नेसमेत स्थानीयको आशा थियो।

प्रधानमन्त्रीको सुरक्षाका लागि बिहानैदेखि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी सिक्टा नहर क्षेत्रमा तैनाथ थिए। श्री मेहर गणले हेलिप्याड रङरोगन गरी चारैतिर सेनालाई खटाएको थियोे। पूर्वनिर्धारित कार्यक्रमअनुसार प्रधानमन्त्री ओली दिउँसो १ बजेतिर सोही हेलिप्याडमा ओर्लिएर सिक्टाको निरीक्षण गर्ने ब्यवस्था मिलाइएको थियो। करिब २ बजेतिर प्रधानमन्त्री सवार उक्त हेलिकोप्टर आकाशमा त देखियो। त्यो हेलिकोप्टर आकाशबाटै एक फन्को मारेर नेपालगन्ज फर्कियो। त्यहाँबाट नेपालगन्ज पुगी उनी पूर्वराजा ज्ञानेन्द्रले सञ्चालन गरेको सोल्टी होटेलको कार्यक्रममा सहभागी भए। हालै पाँचतारे होटेलको मान्यता पाएको सोल्टीलाई प्रधानमन्त्री ओलीले आफ्नै हातबाट प्रमाणपत्र हस्तान्तरण गरे।

प्रधानमन्त्रीले स्थलगत निरीक्षण नगरी बेवास्ता गरेको स्थानीयको गुनासो

प्रधानमन्त्री आकाशबाटै नेपालगन्ज फर्केपछि शमशेरगन्जमा उपस्थित स्थानीय बासिन्दा र सुरक्षाकर्मी अक्कमक्क परे। सिक्टा आयोजना निरीक्षणको कार्यक्रम रद्द गरेर होटलको कार्यक्रमलाई महŒव दिएको भन्दै स्थानीयले असन्तुष्टि पोखे। प्रधानमन्त्रीले सिक्टाको स्थलगत निरीक्षणमा बेवास्ता गरेको उनीहरुको आरोप छ। ‘राज्यको करिब १५ अर्ब रुपैयाँ लगानी भइसकेको राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना लामो समयदेखि अलपत्र अवस्थामा छ। प्रधानमन्त्रीले एकछिन ओर्लिएर आफ्नै आँखाले नहर निरीक्षण गरेर वस्तुस्थिती बुझिदिएको भए राम्रो हुन्थ्यो,’ शमशेरगन्जका स्थानीय हर्कबहादुर बिष्टले नागरिकसँग भने, ‘आउँछु भनेर आशा देखाएपछि प्रधानमन्त्रीले एकछिन भए पनि आएर स्थलगत अवलोकन गर्नुपथ्र्यो।’ प्रधानमन्त्री ओली आउने कुरा सुनेपछि आफूहरुले ठूलो आशा गरे पनि निरास भएको नेपाल कम्युनिस्ट पार्टीका स्थानीय नेतासमेत रहेका बिष्टले बताए। प्रधानमन्त्री ओलीले हेलिकोप्टरबाट एक फन्को मारेर औपचारिकता मात्रै निर्वाह गरेको उनको भनाइ छ। ‘प्रधानमन्त्रीले आफ्नै आँखाले देखेको भए, सिक्टालाई नयाँ ढंगले अघि बढाउन उहाँको सुझाव प्रभावकारी हुन्थ्यो,’ उनले थपे। सिक्टाको दुरवस्था प्रधानमन्त्रीले आकाशबाट देखेको मान्न तयार छैनन् स्थानीय।

आयोजनाको पश्चिम मूल नहर परीक्षणका क्रममा पटक–पटक भत्किन थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानपछि साढे आठ अर्ब भ्रष्टाचार भएको ठहर गरी आरोपितमाथि विशेष अदालतमा मुद्दा दर्ता गरिसकेको छ। अख्तियारले आयोजनाका बहालवाला र पूर्वकर्मचारी, ठेकेदार, परामर्शदातालगायतविरुद्ध मुद्दा दायर गरेपछि सिक्टाको काम अलपत्र छ। जीर्ण अवस्थामा रहेको पश्चिम मूल नहरको अवस्था सुधार गरी पानी चल्ने अवस्थामा पु¥याउन नयाँ ढंगले अघि बढाउने कुरा सरकारले बताए पनि अहिलेसम्म कुनै निर्णय गर्न सकेको छैन। सरकारले सिक्टा नहरको अवस्था सुधार गर्ने रणनीति समयमा नबनाउँदा निर्मित संरचना झन् बिग्रन सक्ने चिन्ता स्थानीयलाई छ। सिक्टा नहर चाँडो बनाएर किसानको खेतबारीमा पानी पु¥याउन सरकारले पहल गर्नुपर्ने माग स्थानीयको छ। सिक्टालाई अगाडि बढाउन सरकारले थाल्ने नयाँ रणनीतिलाई प्रधानमन्त्री ओलीको प्रत्यक्ष अवलोकनले थप टेवा पुग्ने स्थानीयको विश्वास थियो। तर, आकाशबाटै निरीक्षण गर्नुले सिक्टा प्रधानमन्त्रीको प्राथमिकतामा नपरेको स्थानीय बताउँछन्।

‘प्रधानमन्त्रीले आकाशबाटै सिक्टा नहरको निरीक्षण गरेर फर्किनु भयो। स्थलगत निरीक्षण गर्ने ईच्छाशक्ति हुन्थ्यो भने उहाँ एकछिन भए पनि ओर्लिन सक्नुहुन्थ्यो,’ अर्का स्थानीय शालिकराम डाँगीले भने, ‘सिक्टा आयोजनाप्रति सरकारको चासो छैन भन्ने कुरा यसबाट प्रष्ट हुन्छ।’ सिक्टा नहरको स्थलगत निरीक्षण गर्ने प्रधानमन्त्रीको कार्यक्रम रद्द हुनुको कारण खुलेको छैन। उनका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललाई फोन गर्दा सम्पर्क भएन। बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले प्रधानमन्त्री ओलीले सिक्टा आयोजनाको हवाई निरीक्षण गरेको बताए। प्रधानमन्त्रीले शमशेरगन्जमा ओर्लिएर सिक्टा नहरको प्रत्यक्ष अवलोकन गर्ने कार्यक्रम किन रद्ध भयो रु भन्ने जिज्ञासामा प्रजिअ भुजेलले आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए।

प्रकाशित: ४ वैशाख २०७६ ०३:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App