coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जासुसी गरेको भन्दै रुसद्वारा एक नर्वेली नागरिकलाई जेल

रुसमा जेल सयाज तोकिएका नर्वेली नागरिक फ्रोड बर्ग। तस्बिर: बिबिसी

मस्को – रुसी नौसेनाको पन्डुबीमाथि जासुसी गरेको अभियोगमा रुसले एक नर्वेली नागरिकलाई जेल सजाय तोकेको छ। 
६३ वर्षीय नर्वेली नागरिक फ्रोड बर्गलाई जासुसी गरेको अभियोगमा मस्कोस्थित एक अदालतले जेल सजाय तोकेको हो।

सो अदालतले फ्रोडलाई १४ वर्षसम्म अति नै कडा रहेको श्रम शिविरमा राख्न आदेश दिएको बिबिसीले उल्लेख गरेको छ। सन् २०१७ मा रुसको राजधानी मस्कोबाट पक्राउ परेका फ्रोडले रुसी नौसेनाको पन्डुबीमा जासुसी गरेको भन्ने अभियोग अस्वीकार गर्दै आइरहेका छन्। 

पक्राउ पर्नुअघि फ्रोडले नर्वे–रुस सीमामा सिमा सुरक्षा गार्डका रूपमा काम गर्ने गरेका थिए। नर्वेली गुप्तचर निकायमा कुरियरका रूपमा काम गरेको भए पनि रुसी नौसेनाको पन्डुबी जासुसी मिसनबारे आफूलाई थोरै मात्र जानकारी रहेको फ्रोडले बताएका छन्। फ्रोडलाई नौसेनाको फाइल हस्तान्तरण गरेको आरोप लागेका रुसका पूर्वप्रहरी पनि हाल जेलमा रहेको बिबिसीले उल्लेख गरेको छ। फ्रोडका वकिल इल्या नोभिकोभले आफ्ना क्लाइन्टले मस्कोस्थित अदालतले सुनाएको फैसलाविरुद्ध कुनै पुनरावेदन नगर्ने तर राष्ट्रपति भ्लादिमिर पुटिनसमक्ष आममाफीका लागि आग्रह भने गर्ने जानकारी गराएको बिबिसीले उल्लेख गरेको छ। 

‘फ्रोडले आफ्नो सरकारले कूटनीतिक प्रयास गर्ने’ र ‘कुनै पनि पुनरावेदनको तात्विक असर नरहेको’ नोभिकोभलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ।  ‘फ्रोडलाई उनको दिमागबिनै प्रयोग गरिँदै आएको छ,’ नोभिकोभले बताए। ‘कुनै गोप्य सूचना संकलन भएको बारे हामी बोल्न सक्दैनौं।’
उनले ६३ वर्षको उमेरका फ्रोडले ‘वास्तवमा जन्मकैद भोग्न परेको’ भन्दै चिन्ता व्यक्त गरेको एएफपीले उल्लेख गरेको छ। 
अमेरिका नेतृत्वको उत्तर एटलान्टिक सन्धि संगठन (नाटो)को सदस्य राष्ट्रसमेत रहेको युरोपेली राष्ट्र नर्वेले रुससँग आर्टिक सीमा बाँडेको छ। दोस्रो विश्वयुद्धपछि सन् १९९० मा सोभियत संघ पतन हुने बेलासम्म चलेको शीतयुद्धको दौरान पनि नर्वे र रुसबीचको सम्बन्ध अत्यन्तै सुमधुर र मैत्रीपूर्ण रहेको थियो। तर सन् २०१४ पछि भने यी दुई राष्ट्रबीचको सम्बन्धमा समस्या उत्पन्न भयो। रुसले युक्रेनको क्रिमिया प्रायद्वीपलाई आफ्नो भूभागमा गाभेपछि यी दुई राष्ट्रबीचको मैत्रीपूर्ण सम्बन्धमा दरार उत्पन्न भएको थियो। 

प्रकाशित: ४ वैशाख २०७६ ०२:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App