८ वैशाख २०८१ शनिबार
राजनीति

सुनुवाइ समितिले ११ उजुरीकर्तासँग छलफल गर्दै

काठमाडौं - संसदीय सुनुवाइ समितिले संवैधानिक परिषद्बाट निर्वाचन आयोगको प्रमुख र सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्ताव भएका न्यायाधीशका लागि उजुरी दिने उजुरीकर्तासँग बुधबार छलफल गर्ने भएको छ।

समितिमा प्रस्तावित प्रमुख निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाविरुद्ध पाँच उजुरी परेका छन् भने सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश प्रकाश ढुंगानालाई २ र हरि फुँयालविरुद्ध १ उजुरी परेका छन्। संविधान र कानुनबमोजिम नियुक्ति गर्न भन्दै सैद्धान्तिक उजुरी २ वटा परेका छन्। समितिमा ११ जनाले उजुरी दिएका छन्।

वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रस्तावित न्यायाधीशको विषयमा निर्णय गर्दा गम्भीर छलफल र बहस गर्नुपर्ने उजुरी दिएका छन्। संविधानको धारा १२९(५) र न्यायपरिषद् ऐन २०७३ दफा ५(१) को खण्ड (क) र (ख) बमोजिमको योग्यताको आधार खुलाई उक्त निर्णयमाथि पुनर्विचार गर्न र उपयुक्त निर्णय गर्न आग्रह गरेका छन्।

कानुनमा स्नातक गरी १५ बर्ष वकलात गरेको व्यक्ति सर्वोच्च अदालतको न्यायाधीश पदमा योग्य मानिने व्यवस्था छ। यसैगरी, प्रस्तावित प्रमुख निर्वाचन आयुक्त थपलिया प्रमुख निर्वाचन आयुक्तका लागि अयोग्य भएको भन्दै प्रदेश ३ सांसद नरोत्तम वैद्यले उजुरी दिएका छन्। वहालवाला सचिवलाई नियुक्त गरेको तथा नेकपाको कार्यकर्ता भएका व्यक्तिलाई स्वतन्त्र र तटस्थ रहनुपर्ने निकायको प्रमुखमा नियुक्ति गरेकाले त्यसलाई वदर गर्न समितिमा प्रदेश सांसद वैद्यले उजुरी दिएका छन्।

कर्मचारी समायोजनमा विभेद गरेको भन्दै प्रस्तावित प्रमुख निर्वाचन आयुक्त थपलियामाथि उजुरी परेको छ। थपलियालाई निजामती कर्मचारीमा कार्यरत राजपत्रांकित द्वितीय श्रेणी (उपसचिव)बाट, नायव सुब्बाको उजुरी परेको छ।

एउटै प्रक्रियाबाट नियुक्त भएका कर्मचारीलाई पनि प्रदेश र स्थानीय निकायमा जाने कर्मचारीको ‘¥याङ्किङ्’मा विभेद गरेका कारण धेरै कर्मचारीले संघ नै रोजेको उजुरी परेको छ। लामोसमयसम्म निर्वाचनको अनुभव संगालेका व्यक्तिलाई प्रमुख निर्वाचन आयुक्त नियुक्ति गर्नुपर्नेमा वहालवाला सचिवलाई एकैपटक प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गर्नु सान्दर्भिक नभएको भन्दै उजुरी परेको छ।

सर्वोच्चमा प्रस्तावित न्यायाधीश हरि फुयाँल न्यायाधीशका लागि अयोग्य र विवादस्पद व्यक्ति भएको भन्दै उजुरी परेको छ। २०७५ भदौ २७ को फैसलाबाट रिट निवेदकको मौलिक हक अधिकार फिर्ता भएकोमा उक्त फैसलालाई प्रलोभनमा परी उल्ट्याउन खोजेको भन्दै फुँयालविरुद्ध उजुरी परेको छ। प्रस्तावित न्यायाधीश प्रकाश ढुंगानाविरुद्ध धेरै उजुरी न्याय परिषद्मा परेकाले उनलाई सर्वोच्च अदालतको न्यायाधीशका लागि सुनुवाइ समितिले अस्वीकार गर्नुपर्ने पनि उजुरीमा उल्लेख गरिएको छ।

प्रकाशित: ४ वैशाख २०७६ ०२:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App