८ वैशाख २०८१ शनिबार
समाज

इजरायलमा सगरमाथाबारे गलत सूचना सच्याइयो

काठमाडौं - ‘सगरमाथा चीनमा रहेको’ भनी इजरालयको मृतसागरमा रहेको होर्डिङबोर्डमा राखिएको गलत सूचनालाई इजरायलस्थित नेपाली राजदूतावासले सच्याउन लगाएको छ। विश्वको सबैभन्दा अग्लो भूभाग सगरमाथा रहेको देश नेपाल र विश्वको सबैभन्दा होचो भूभाग अर्थात् समुद्री सतहभन्दा चार सय २० मिटर तल रहेको डेड–सी (मृतसागर) भए पनि त्यहाँको होर्डिङ बोर्डमा सगरमाथा चीनमा रहेको उल्लेख गरेको देखेपछि राजदूतावासले सच्याउन लगाएको हो।

मृतसागर जोर्डन र इजरायलका बीच प्यालेस्टाइन टेरिटरीमा अवस्थित छ। विश्वसामु नै फरक पहिचान बनाएको मृतसागर हेर्न इजरालयमा हरेक वर्ष कम्तीमा ४० लाख पर्यटक पुग्ने गरेका छन्। यसरी त्यो समुद्र हेर्न पुग्ने ती ४० लाख पर्यटकले यसभन्दाअघि विश्वको सर्वोच्च शिखर सगरमाथा चीनमा रहेको गलत सूचना प्राप्त गर्ने गरेका थिए। ‘विश्वभर सगरमाथाबारे गलत सूचना गएको देखिएपछि त्यसलाई सच्याएर सगरमाथा नेपालमा रहेको सूचना राख्न लगाइएको इजराइयका लागि नेपाली राजदूत डा. अञ्जान शाक्यले बताइन्। गत फागुन ३ गते इजरायलका लागि नवनियुक्त नेपाली राजदूत डा. शाक्यले इजरायलको जेरोसेलममा इजरायली राष्ट्रपति रिउनभेन रिभलिनसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेकी थिइन्। ओहोदाको प्रमाणपत्र पेश गरेसँगै नेपालका सातवटै प्रदेशमा इजरायलको ‘सेन्टर अफ एक्सिलेन्सी’ अर्थात् इजरायली उच्च–प्रविधिको तालिम केन्द्र खोल्न इजरायली राष्ट्रपतिसमक्ष प्रस्ताव राखेकी छिन्।

उनले मृतसागर भ्रमणको क्रममा समुद्री तटमा राखिएको गलत सूचना परिवर्तन गर्न पहल गरेकी थिइन्। ‘यहाँ वर्षौँदेखि राखिएको होर्डिङ बोर्डमा सर्वोच्च शिखर सगरमाथा चीनमा पर्छ भन्ने उल्लेख गरेको देखें,’ राजदूत शाक्यले भनिन् ‘मलाई निकै नरमाइलो अनुभव भयो। मैले सम्बन्धित निकायका कर्मचारीलाई तुरुन्त त्यो होर्डिङबोर्ड सच्याउन आग्रह गरें। मृतसागर हेर्न आउने पर्यटकलाई निकै ठूलो प्रयासपछि विश्वको अग्लो शिखर सगरमाथा भएको देश नेपाल हो भनेर चिनाउन सफल भएका छौं।’

प्रकाशित: ४ वैशाख २०७६ ०१:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App