८ वैशाख २०८१ शनिबार
समाज

नगरपालिकाका कर्मचारी भारत घुमघाममा, सेवाग्राही मार्कामा

सुनसान महागढीमाई नगरपालिका।

बारा–बरियारपुरमा रहेको महागढीमाई नगरपालिकाका प्रमुखदेखि अधिकांश कर्मचारी कार्यालयको कामकाजलाई छोडी भारत घुम्न  निस्किएका छन्। दशैं बिदापछि कार्यालय खुलेको पाँच दिनसम्म नगरपालिकाका कर्मचारी कार्यालयमा नभेटिएपछि सेवाग्रहीको गुनासोमा जिल्ला प्रशासन कार्यालय बाराले बुधबार छडके जाँच गर्दा अधिकांश कर्मचारी भारत घुम्न गएका थाहा भएको हो।

जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार चौरसियाले नगरपालिकाका कर्मचारी कार्यालयमा नभेटिएको गुनासो बढेपछि प्रशासनले छडके जाँच गरेको बताए। ‘महागढीमाई नगरपालिकामा नौ जना स्थायी कर्मचारी कार्यरत रहेका छन्,’ चौरसियाले भने, ‘नौ जना कर्मचारी मध्ये छड्केको क्रममा दुई जना कार्यालयमा उपस्थित थिए भने सात जना अनुपस्थित भेटिए।’

छड्के जाँचको क्रममा नगरपालिकाका निमित्त प्रमुख महेन्द्र कुश्वाहा,लेखापाल सौरव कुमार साह, योजना शाखाका राम विश्वास चौरसिया, रुसतम अंसारीलगायत अधिकांश शाखाका जिम्मेवार कर्मचारीहरु पाँच दिनदेखी  कार्यालयमा अनुपस्थित  रहेको बारा प्रशासनले जनाएको छ।
कार्यालय प्रमुखदेखि फाँट प्रमुख लामो समयदेखि अनुपस्थित रहँदा नागरिकताको सिफारी, जग्गाको मालपोत कर तिर्ने लगायतका काममा बाधा पुगेको सेवाग्राहीले गुनासो गरेका छन्।

‘आइतबारदेखि नै छोरोको नागरिकताकालागि नगरपालिकाबाट सिफारिस लिनु पर्ने भएकोले खेतमा पाकेको धानको काट्न  छोडी नगरपालिकामा धाएकोे छु,’ नगरपालिकममा भेटिएका सेवाग्रही रमाशंकर यादवले भने, ‘ चार दिनसम्म नागरिकताको सिफारिसकालागि धाउँदा समेत कर्मचारी भेटिएनन्।’

आर्थिक बर्ष २०७२/७३ मा नगरपालिकाबाट गरिएको विकास निर्माणको कार्यबाट जम्मा भएको कमिसनबाट कर्मचारी भारतको बिभिन्न शहर घुम्न गएको स्रोतले जनाएको छ। बाराका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुंगानाले प्रशासनको छड्केमा अनुपस्थित भेटिएका महागढीमाई नगरपालिकाका कर्मचारीहरु आफूखुशी लामो समयसम्म कार्यालयमा अनुपस्थित भएका पाइएको र उनीहरुलाई अनुसन्धानपछि नियम अनुसार कारवाही गरिने बताए।

 

प्रकाशित: ३ कार्तिक २०७३ ११:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App