४ वैशाख २०८१ मंगलबार
समाज

विश्व शान्तिको कामना गर्दै मन्दिरमा पूजा

डोल्पा - हिमाली जिल्ला डोल्पाका महिलाले विश्व शान्तिको कामना गर्दै प्रसिद्ध शक्तिपीठ त्रिपुरासुन्दरी मन्दिरमा विशेष पूजाआजा गरेका छन्। नववर्ष शुरुआतसँगै त्रिपुरासुन्दरी नगरपालिका–१ का स्थानीय महिलाले सोमबार सामूहिकरुपमा मन्दिरमा भेला भई नवदुर्गादेवीको पूजाआजा गर्दै विश्व शान्तिको कामना गरेका हुन्।

विश्वमा दिनप्रतिदिन बढिरहेको हत्या, हिंसा, बलात्कार तथा प्राकृतिक विपत्तिका कारण हजारौँ मान्छेले ज्यान गुमाउँदै आएकाले विसं २०७६ मा यस्ता घटना नघटुन् भन्दै त्रिपुरासुन्दरी मन्दिरमा लाखबत्ती बालेर नवदुर्गादेवीको पूजाआजा गरिएको स्थानीय गोमा उपाध्यायले बताए।

देशमै एक प्रमुख शक्तिपीठको रुपमा स्थापित बालात्रिपुरासुन्दरी मन्दिरमा पूजाआजा गर्दा गाउँ, जिल्ला, देश हुँदै समग्र विश्वमा शान्ति स्थापना हुने विश्वास रहेको उपाध्यायले बताए। यहाँका महिलाले देउसीभैलो खेलेर उठाएको रु ६५ हजार रकमबाट किनेको तामाको आरतीसमेत त्रिपुरासुन्दरी मन्दिरमा चढाएका छन्। लाखबत्ती बाल्नका लागि प्रयोग हुने आरती बाजागाजासहित मन्दिरमा लगिएको थियो।

समाजसेवा उन्मुख

पछिल्लो समय त्रिपुराकोटका महिला सामाजिक सेवामा अग्रसर हुन थालेका छन्। यहाँका महिलाले देउसीभैलो खेलेर उठाएको रकमबाट धेरै सामाजिक काम गरेका छन्। त्रिपुराकोटका महिलाले तीन वर्षयता मात्रै देउसीभैलो खेलेरै सार्वजानिक शौचालय, धारो, घोरेटो बाटो निर्माणलगायत थुप्रै उदाहारणीय काम गरिसकेका छन्।

“पुरुषप्रधान समाजमा महिलाले देउसीभैलो खेल्नु हुँदैन, महिला अग्रसर भएको राम्रो हुँदैन, धेरैले भने तर हामी कोही कसैको भनाइलाई वास्ता नगरी त्रिपुराकोटका एकघरका एक महिला मिलेरै देउसीभैलो खेल्न शुरुआत ग¥यौँ”, स्थानीय महिला भगवती न्यौपानेले बताइन्।

“चुलोचौकोमै सीमित हुुनुपर्छ भन्ने पुरुषवादी मानसिकतालाई कुल्चँदै गाउँ छोडेर टाढाटाढा गाउँमा पुगेर देउसी खेलेको पैसाले शौचालय बनायौँ, बाटाघाटा खन्यौँ, धारा बनायौँ, गत सालको रकमबाट आरती किनेर चढायौँ”, उनले भनिन्। स्थानीय महिलाहले देउसीभैलोबाटै प्रत्येक वर्ष एक नयाँ सामाजिक काम गर्दै आएका छन्। रासस

प्रकाशित: ३ वैशाख २०७६ ०२:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App