७ वैशाख २०८१ शुक्रबार
खेल

भुटानको सहज जित

फोटो क्याप्सन ः बल आफ्नो नियन्त्रणमा लिने प्रयास गर्दै भुटान (रातो) र झापाका खेलाडी। तस्बिर: टंक/नागरिक

सर्लाही - तेस्रो राजर्षि जनक कप फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भुटानको पारो फुटबल क्लबले मगमग झापाविरुद्ध सहज जित हात पारेको छ। सातौं मिनेटमै रातो कार्ड खानाका बावजुुद १० खेलाडीमा सीमित भुटानले झापालाई ३–० ले पराजित गरेको हो। जितसँगै भुटानी टोली सेमिफाइनल प्रवेश गरेको छ।

बागमती युवा क्लबद्वारा सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा आयोजिता प्रतियोगिताअन्तर्गत खेलको ३१औं मिनेटमा भुटानका फुब थिन्लेले सानदार गोल गरे। थिन्लेले डी बक्सभन्दा निकै पर दायाँ साइडलाइनबाट प्रहार गरेको बल झापाका गोलकिपर दीपांशु राजपुतले भेउ नै नपाउँदा जाली चुम्यो।
त्यस्तै ४८औं मिनेटमा भुटानकै दिनेश गुरुङले डी बक्सभन्दा परबाट सशक्त प्रहार गर्दै बललाई झापाको जाली चुमाउँदै खेललाई २–० मा पु¥याए। ६३औं मिनेटमा पुनः भुटानका एलोन म्याक्सवेलले गोल गर्दै टोलीको जित सुनिश्ति गरे। म्याक्सवेलले थिन्लेको क्रस पासलाई सुन्दर गोल गरेका हुन्।  भुटानका निमा छिरिङले म्यान अफ दी म्याच घोषित हुँदै नगद १० हजार हात पारे। अब भुटानले वैशाख ४ गते हुने दोस्रो सेमिफाइनलमा बागमती नगरपालिकाको सामना गर्दै छ।

खेल सुरु भएको सातौं मिनेटमा झापाका शक्ति राईलाई लडाएपछि भुटानका रक्षक जिग्मेछिरिङ दोर्जीलाई रेफ्री सुदीश पाण्डेले सीधै रातो कार्ड देखाए। भुटानको गोलपोस्टतर्फ एक्लै बल अगाडि बढाइरहेका राईलाई डी बक्सभन्दा केही बाहिर फल गरेपछि रेफ्री पाण्डेले दोर्जीलाई सीधै रातो कार्ड देखाएका हुन्।

१० जनामा सीमित भुटानका खेलाडीले उच्च मनोबलसहित उत्कृष्ट प्रदर्शन गर्दै खेललाई आफ्नो पक्षमा पारे। भुटानका खेलाडीलाई सीधै रातो कार्ड दिएको भन्दै दर्शकले रेफ्री पाण्डेविरुद्ध खेल अवधिभर अपशब्दसहित हुटिङ गरेका थिए। उपस्थित सम्पूर्ण दर्शकले आफ्नो पक्षमा हुटिङ गर्दा भुटानका खेलाडीले अझ उत्साहित हुँदै सानदार खेल प्रदर्शन गरेका थिए।

भुटानका प्रशिक्षक पुष्पलाल शर्माले १० जनामा सीमित हुँदा समेत उच्च मनोबलसहित खेलाडीले खेल्दा सहज जित हात परेको बताए। ‘१० जनामा सीमित भए पनि केटाहरूले फर्ममै रहेर उच्च मनोबलसहित खेले’, प्रशिक्षक शर्माले भने, ‘जसका कारण ११ जना खेलाडी रहेको झापाविरुद्ध सहज जित हात लाग्यो।’ खेलमा रेफ्रीको निर्णय नै अन्तिम हुने भएकाले रातो कार्डबारे आफ्नो कुनै गुनासो नरहेको उनले बताए। मंगलबार पहिलो सेमिफाइन खेल रुस्लान थ्री स्टार क्लब काठमाडौं र सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लबबीच हुनेछ।

 

प्रकाशित: ३ वैशाख २०७६ ०२:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App