७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

मुख्यमन्त्री आदित्यनाथलाई चुनावी अभियानमा प्रतिबन्ध

नयाँ दिल्ली – भारतको निर्वाचन आयोगले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई चुनावी अभियान सञ्चालनमा रोक लगाएको छ। आउँदो महिना सम्पन्न हुने भारतको लोकसभा निर्वाचनमा धार्मिक समुदायबीच घृणाको वातावरण सिर्जना हुने अवस्था रोक्ने उद्देश्यले मुख्यमन्त्री आदित्यनाथलाई तीन दिन चुनावी अभियान सञ्चालनमा रोक लगाएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।

सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) का कट्टर हिन्दू राष्ट्रवादी नेता योगी आदित्यनाथले मुस्लिम समुदायविरुद्ध अभिव्यक्ति दिएपछि निर्वाचन आयोगले उनीमाथि रोक लगाएको बताइएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विश्वासपात्रसमेत रहेका योगी आदित्यनाथलाई निर्वाचन अभियानका क्रममा उनले गरेको सम्बोधनलाई लिएर यसै महिना सचेत पनि गराइएको निर्वाचन आयोगद्वारा सोमबार जारी आदेश उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ। निर्वाचन अभियानअन्तर्गत गत साता भएको एउटा चुनावी सभामा सम्बोधन गर्दै योगी आदित्यनाथले मुसलमान मतदातालाई ‘ग्रिन भाइरस’को संज्ञा दिएका थिए। उनले सम्बोधनका क्रममा मुसलमान मतदाता विपक्षी पार्टीहरूबाट सञ्चालित रहेको आरोपसमेत लगाएका थिए।

सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) का कट्टर हिन्दू राष्ट्रवादी नेता योगी आदित्यनाथले मुस्लिम समुदायविरुद्ध अभिव्यक्ति दिएपछि निर्वाचन आयोगले उनीमाथि रोक लगाएको छ।

अप्रिल ११ मा सुरु भएको भारतको तल्लो सदन लोकसभा निर्वाचन विभिन्न सात चरणमा सम्पन्न हुँदैछ। विश्वको सबैभन्दा ठूलो लोकतन्त्र रहेको भारतको वर्तमान सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) ले यस निर्वाचनमा राष्ट्रवादी आधारलाई प्रमुख अजेन्डाका रूपमा अघि सारिरहेको छ। उसले विपक्षी दल वा आफ्ना प्रतिस्पर्धी आतंकवादप्रति नरम भएको भन्दै चुनावी मसला बनाइरहेको छ। सँगसँगै उसले देशको कुल मतदाताको १४ प्रतिशत हिस्सा ओगट्ने मुसलमानलाई पनि खुसी पार्ने खालको चुनावी अभियान सञ्चालनको प्रयास गरिरहेको रोयटर्सले उल्लेख गरेको छ। जनसंख्याका आधारमा विश्वकै दोस्रो ठूलो देश भारतमा एक अर्ब ३० करोड जनसंख्या छ।

निर्वाचन आयोगद्वारा प्रभावशाली नेता आदित्यनाथलाई चुनावी अभियानमा प्रतिबन्ध लगाइएको विषयमा पार्टीका नेताहरूबीच छलफल गरिरहेको भाजपा प्रवक्ताले बताएका छन्। भाजपा सबै समुदायको समावेशीकरणका लागि प्रतिबद्ध रहेको समेत जिकिर उनको छ।  ‘भाजपाले सबैको विकास सँगसँगै हुने र सबैका लागि हित हुने कुरामा विश्वास व्यक्त गर्ने गरेको छ र हामी कुनै प्रकारको ध्रुवीकरणको पक्षमा छैनौं,’ भाजपा प्रवक्ता हरिश श्रीवास्तवलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

निर्वाचन आयोगले दलित समुदायका शक्तिशाली नेता मायावतीलाई पनि निर्वाचन आचार–संहिताको उल्लंघन गरेको भन्दै दुई दिन चुनावी प्रचारप्रसारमा प्रतिबन्ध लगाएको छ। मायावतीले मुस्लिम समुदायलाई विपक्षी उम्मेदवारको पक्षमा मतदान गर्न आग्रह गरेको भन्दै उनीमाथि प्रतिबन्ध लगाइएको निर्वाचन आयोगले जनाएको छ। उनलाई दुई दिनसम्म कुनै पनि चुनावी अभियानमा संलग्न हुनबाट रोक लगाइएको निर्वाचन आयोगले जनाएको छ। उत्तर प्रदेशमा अर्को क्षेत्रीय दलसँग गठबन्धन बनाएर निर्वाचनमा होमिएको मायावतीको बहुजन समाज पार्टीका प्रवक्तासँग यसबारे बुझ्न खोज्दा सम्पर्कमा नआएको रोयटर्सले उल्लेख गरेको छ।

विशेषगरी प्रधानमन्त्री मोदीको परीक्षाका रूपमा हेरिएको भारतको लोकसभा निर्वाचनको पहिलो चरणको मतदान अप्रिल ११ मा सम्पन्न भएको थियो भने सातौं चरण मे १९ मा सम्पन्न हुने कार्यतालिका रहेको छ। भारतीय निर्वाचनमा किसानका अवस्था, रोजगारी र राष्ट्रियता प्रमुख मुद्दाका रूपमा लिने गरिएको भए पनि धर्म पनि एक महŒवपूर्ण र संवेदनशील विषय हो।

प्रकाशित: ३ वैशाख २०७६ ०१:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App