६ वैशाख २०८१ बिहीबार
राजनीति

प्रधानमन्त्रीको सम्बोधनमा मन्त्रीबाट 'बहिष्कार'

काठमाडौं - नयाँ वर्ष २०७६ को शुभकामनासहित प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा गरेको सम्बोधनका बेला मन्त्रिपरिषद्का प्रभावशाली मन्त्रीहरू नै उपस्थित भएनन्। प्रधानमन्त्री ओलीले आइतबार बिहान साढे ६ बजेभित्र बालुवाटार उपस्थित हुन सबै मन्त्रीलाई खबर गरे पनि तत्कालीन माओवादी केन्द्रका तर्फबाट मन्त्रिपरिषद्मा सहभागी गृहमन्त्री रामबहादुर थापा, ऊर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, उद्योगमन्त्री मातृका यादव, कृषिमन्त्री चन्द्रप्रकाश खनाल र खानेपानीमन्त्री बिना मगर सम्बोधनमा उपस्थित नभएका हुन्।

काठमाडांैमै रहेर पनि गृहमन्त्री थापा, ऊर्जामन्त्री पुन उपस्थित भएनन् भने अन्य मन्त्रीहरू भने काठमाडौंबाहिर कार्यक्रम तय गरेर सम्बोधन कार्यक्रम छलेका थिए। बालुवाटार स्रोतका अनुसार सबै मन्त्रीलाई बिहानै उपस्थित हुन आग्रह गरिएको थियो। ‘काठमाडौं रहनुभएका सबै मन्त्रीलाई उपस्थितिका लागि आग्रह गरिएको हो,’ बालुवाटार स्रोतले भन्यो, ‘केही मन्त्री काठमाडौंबाहिर जानुभएको रहेछ तर काठमाडांैमा रहनुभएका मन्त्रीहरू किन सहभागी हुनुभएन, त्यो थाहा हुन सकेन।’ सम्बोधनका क्रममा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल भने पुगेका थिए। सम्बोधनको अन्तिम समयमा पुगेका दाहाल गृहमन्त्रीलाई नदेखेपछि अलमलमा परेका थिए। सम्बोधनमा अचानक आएका कारण पूर्वमाओवादी केन्द्रबाट मन्त्रिमण्डलमा सहभागी मन्त्रीहरूले कार्यक्रम बहिष्कार गरेको आशंका छ।

गृहमन्त्रीका राजनीतिक सल्लाहकार सूर्यप्रकाश सुवेदीका अनुसार थापा व्यस्त भएकाले सम्बोधनका क्रममा उपस्थित हुन नसकेका हुन्। ‘गृहमन्त्रीज्यूको अन्य कार्यक्रमहरू तय भएका थिए, बिहानै ती कार्यक्रममा सहभागी हुनुपर्ने भएकाले उहाँ सम्बोधनमा उपस्थित हुन सक्नुभएन,’ गृहमन्त्रीका राजनीतिक सल्लाहकार सुवेदीले भने। उनले मन्त्रीका के–के कार्यक्रम तय भएका थिए भन्नेबारे भने केही बताएनन्। सामान्यतया प्रधानमन्त्रीले देशवासीका नाममा गरिने सम्बोधन मन्त्रिपरिषद्मा छलफल हुने गर्छ। तर यसपटकको सम्बोधन मन्त्रिपरिषद्मा छलफल नभएका कारण उनीहरूले मौन बहिष्कार गरेको स्रोतको दाबी छ।

त्यसमध्येका वन मन्त्री बस्नेत २९ गतेदेखि नै काठमाडौंबाहिर रहेका कारण उपस्थित हुन नसकेको उनको सचिवालयले जनाएको छ। ताप्लेजुङ संखुवासभाको तीनजुरेमा पूर्वनिर्धारित कार्यक्रममा जानुपरेकाले उनी उपस्थित हुन नसकेको जनाइएको छ। प्रधानमन्त्रीलाई जानकारी भएको कार्यक्रम भएकाले बस्नेत भने सम्बोधनमा उपस्थित हुन नसकेको बताइएको छ। ऊर्जामन्त्री पुनको पनि आइतबार बिहान कुनै कार्यक्रम तय नभएपनि प्रधानमन्त्रीको सम्बोधनमा सहभागी भएनन्। खानेपानीमन्त्री मगर, कृषिमन्त्री खनाल भने काठमाडौंबाहिर रहेको जनाइएको छ भने यादव काठमाडौंमै भएर पनि प्रधानमन्त्रीको कार्यक्रममा सहभागी भएनन्।

सम्बोधनको अन्तिममा पुगेका नेकपा अर्का अध्यक्ष दाहाल बालुवाटार पुगेपछि प्रधानमन्त्री ओलीसहित सबै त्यहाँ सहभागी मन्त्रीहरूबीच राउन्ड टेबुले बैठक बसेको थियो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले सम्बोधनका क्रममा केही मन्त्री कार्यव्यस्तताले नआएको हुन सक्ने अनुमान गरे। ‘हामी पूर्वमाओवादी केन्द्र वा पूर्वएमाले भन्ने थाहा पाउँदैनौं, नेकपा मन्त्रीहरू सहभागी हुनुहुन्थ्यो,’ उनले भने, ‘कोही कार्यव्यस्तता र काठमाडौबाहिर भएका कारण आउनुभएन होला।’ 

प्रकाशित: ३ वैशाख २०७६ ०१:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App