coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

विश्व बजारमा नेपाली कफीको माग धेरै छ : पूर्वप्रधानमन्त्री दाहाल

काठमाडौं – नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले विश्व बजारमा नेपाली कफीको माग बढी भएको बताएका छन्। नेपालमा उत्पादित कफी विश्व अन्य देशमा उत्पादन भएको कफीभन्दा गुणस्तरको भएकोले यसको माग बढी भएको उनले बताए। गत वर्ष विश्व कफी उच्च गुणस्तर परीक्षण प्रक्रियामा प्रवेश गरेको नेपालको कफीले ९० अंक प्राप्त गरेको थियो। 

सरकारले देश समृद्धिको आधार तय गरिरहेको बेला गरिएको सम्मेलनले कफी खेतीको उत्पादन, प्रशोधन, बिक्री वितरणका लागि बजार प्रवद्र्धनका योजना तथा कार्यक्रम बनाउन सहज हुनेमा उनले जोड दिए।  

यतिबेला सरकार बजेट निर्माणको क्रममा रहेकोले आगामी बजेट तथा कार्यक्रममा कफी खेती तथा व्यवसाय प्रवद्र्धनका लागि आवश्यक कार्यक्रम राख्न आफूले पहल गर्ने उनले बताए। नेपाल कफी व्यवसाय प्रवद्र्धन सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘राज्यको ध्यान यस क्षेत्रको लगानी, तालिम, बजारीकरण, तालिम तथा अनुसन्धान हुनुपर्छ, ‘आवश्यक नीति नियम बनाइदिने काम सरकारको हो।’ 

‘समृद्धिको मुख्य आधार कृषिजन्य उत्पादन नै हो,’ उनले भने ‘यसैबाटै रोजगारी र उत्पादकत्व बढ्छ।’ नेपालमा सम्भावनाका पर्यटन खनिजलगायत धेरै क्षेत्र भए पनि कृषिबाटै समृद्धिको यात्राले गति लिने उनको जोड थियो। कृषिको व्यावसायिक यान्त्रीकरण गर्न आवश्यक भएको उनले बताए। 

नेपालको ४१ जिल्लाको १२ लाख हेक्टर जमिनमा कफी खेती गर्न सकिन्छ। हाल साढे पाँच सय हेक्टरमा मात्र कफी खेती भइरहेको छ। नेपालमा उत्पादित कफीमध्ये ६० प्रतिशत स्वदेशमा खपत हुन्छ भने ४० प्रतिशत कफी विदेशमा निर्यात हुने गर्दछ। सीमित स्रोतसाधन र लगानीबाट नेपालले करिब पाँच सय १३ मेट्रिक टन ‘स्पेसियालिटी कफी’ उत्पादन गर्दै आएको छ। 

कृषि तथा पुशपन्छी राज्यमन्त्री रामकुमारी चौधरीले अर्थतन्त्रको विकास तथा गरिबी निवारणको लागि कफी खेती उपर्युक्त विकल्प भएको बताइन्। राजधानीमा आज सोमबार आयोजित कार्यक्रममा बोल्दै उनले भनिन्, ‘सरकारले प्रधानमन्त्री कृषि कार्यक्रमअन्तर्गतको सुपर जोन र जोनमा समावेश गरेर कफी खेती गरिरहेको बताइन्। अझ यसलाई बढाउने सरकारी नीति छ,’ उनले भनिन्, ‘गुल्मीलाई कफी उत्पादन केन्द्रको रुपमा विकास गर्न लागेका छौं।’ तीन तहको सरकारले कृषिमध्ये कुन सरकारले कुन काम गर्ने छुट्याउन लागिएको उनले बताइन्। 

सोमबार र मंगलबारसम्म सञ्चालन हुने उक्त सम्मेलनमा कफी उत्पादन तथा प्रवद्र्धनका लागि कार्यपत्र प्रस्तुत गर्नुका साथै प्लेनरी सेसन सञ्चालन हुने बताइएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजना तथा नेपालको कफी क्षेत्रमा कार्यरत विभिन्न निजी, सहकारी एवं गैरसरकारी संघ संस्थाहरुको सहयोग, सहभागिता र सहकार्यमा उक्त कार्यक्रम आयोजन गरिएको बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले जानकारी दिए। 
 

 

प्रकाशित: २ वैशाख २०७६ १३:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App