६ वैशाख २०८१ बिहीबार
समाज

स्थानीय भन्छन्–गम्भीर लापरवाही’, निकाय भन्छ– अनुगमनपछि थाहा हुन्छ’

गुल्मी - ढलान गरेको २ दिनमै जिल्लाको बडीगाड खोलामा बन्दै गरेको पुल भाँचिएपछि यसको सर्वत्र चर्चा हुन थालेको छ। 

जिल्लाको मुसिकोट नगरपालिका ३ वडागाउँ र वडा ७ वामी जोड्ने झेदीको पुल ढलान गरेको दुई दिन बित्न नपाउँदै भत्किएको हो। पुल गएको शुक्रबार ढलान गरिएको थियो। 

तत्कालीन जिल्ला प्राविधिक कार्यालय गुल्मीमार्फत वाईटी जयबुद्ध कन्ट्रक्सन प्रालिले पुल निर्माणको जिम्मा लिएको थियो। 

बीचमा पिल्लर नै नभएको ५५ मिटरको आधुनिक पुल २०७३ सालमा सम्झौता भएपछि ०७४ सालबाट निर्माण थालिएको तत्कालीन जिल्ला प्राविधिक कार्यालयका इन्जिनियीर पारस पन्थीले जानकारी दिए। 

उक्त पुल प्रदेश ५ अन्तर्गत भौतिक पूर्वाधार विकास कार्यालय गुल्मीमातहत छ। ढलान गर्दा पुलमा लगाइएका टेकसाहरू भाँसिएका कारण पुल भत्किएको भौतिक पूर्वाधार विकास कार्यालय गुल्मीका कार्यालय प्रमुख विनोद चौधरीले आशंका गरे। 

स्थलगत अनुगमन गरेपछि मात्रै पुल भाँचिनुको कारण खुल्ने चौधरीले बताए। पुलको बिमा गरिएकाले हुँदा निर्माण व्यावसायीले यसको जिम्मा लिनुपर्ने चौधरीले दाबी गरे। 

पुल निर्माणको लागत पाँच करोड रुपैयाँभन्दा माथि रहेको भौतिक पूर्वाधार कार्यालय गुल्मीले जनाएको छ। कच्ची संरचनाका कारण पुल भत्किएको भन्दै स्थानीय आक्रोशित छन्। 

सरकारी निकायको लापरवाहीले समस्या आएको मुसिकोट नगरपालिकाका प्रवक्ता प्रकाश काफ्लेले बताए। ‘यो पुल बन्न लागेको झण्डै दुई वर्ष बित्न थाल्यो, सरकारी इन्जिनियर प्राविधिकले एक पटक हेरेनन्,’उनको आरोप थियो। 

गलत डिजाइन पनि पुल भत्किनुको कारण हुन सक्नेतर्फ काफ्लेले संकेत गरे। 

यता पुल भत्किनुको कारण सरकारी कार्यालयको प्रभावकारी अनुगमन नहुनु पनि अर्को कारण भएको स्थानीयले बताएका छन्।  स्थानीय लोकप्रसाद छन्त्यालले भने, ‘अनुगमन नहुँदा पुल भत्कियो।’

उक्त पुल भत्किँदा पाँच जना घाइते भएका छन्। पुल भत्किएपछि चेपिएर निर्माण व्यावसायी ऋषिराम इटानी गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

घाइते हुनेमा मुसिकोट नगरपालिका ३ का २३ बर्से रामबहादुर कुमाल, ३३ बर्से गणेश कुमाल, वडा नं ४ का ५१ बर्से रुद्रबहादुर कार्की र बाग्लुङ बडिगाड गाउँपालिका ७ का स्काभेटर चालक तुलबहादुर राना छन्। 

प्रकाशित: २ वैशाख २०७६ १२:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App