होमस्टेका लागि कोठै छुट्याएर बस्तीको पुनर्निर्माण

लयमा फर्कियो मेलम्चीघ्याङको पर्यटन व्यवसाय

सोमबार, ०२ बैशाख २०७६, १८ : ०६ ध्रुव दङ्गाल

मेलम्चीघ्याङ (सिन्धुपाल्चोक)– चर्चित पर्यटकीय क्षेत्र हेलम्बुको ‘होमस्टे’ गाउँ मेलम्चीघ्याङको पर्यटन व्यवसाय बौरिएको छ। विनासकारी भूकम्पपछिका झण्डै तीन वर्ष यहाँको पर्यटन व्यवसाय धर्मराउन पुगेको थियो। 

स्थानीयले पुनर्निर्माणलाई अघि बढाएसँगै पर्यटन व्यवसाय लयमा फर्किएको हो। पुनर्निर्माणलाई अन्तिमचरणमा पु¥याएका उनीहरुले पर्यटन प्रवद्र्धन गर्न होमस्टेका लागि कोठा नै छुट्याएर घर बनाएका छन्। होमस्टेको व्यवस्था भए पनि यसअघि यसैका लागि भनेर कोठा छुट्याईँदैनथ्यो। पर्यटक र स्थानीय एउटै कोठामा बस्थे, सुत्थे। 

‘होमस्टेलाई अझ व्यवस्थित बनाउन कोठा नै छुट्याएर घर पुनर्निर्माण गरेका हौँ’, होमस्टे सञ्चालक पेमानेटुप शेर्पाले नागरिकसँग भने। भूकम्पपछि तीन कोठे घरको पुनर्निर्माण गरेका उनले दुईकोठामा होमस्टे सञ्चालनमा ल्याएका छन्। दोस्रो घरसमेत बनाइरहेका उनले त्यो सम्पन्न भएपछि बढाएर पाँच कोठमा होमस्टे विस्तार गर्ने बताए। 

‘भूकम्पअघि पनि होमस्टे सञ्चालन गरेका थियौँ’, पेमानेटुप भन्छन्, ‘होमस्टे सञ्चालनमा ल्याउने भएपछि बारबेर गरी अस्थायी कोठा निकालेका थियौँ ।’ घरको पुनर्निर्माण सकेसँगै होमस्टेमा बस्ने आन्तरिक तथा बाह्य पर्यटक पूरानै दरमा आउन थालेको उनले जनाए। साविक हेलम्बु गाविसकै सबैभन्दा ठूलोगाउँ मेलम्चीघ्याङमा १ सय ४० घर परिवारको बसोवास छ। झण्डै ९० प्रतिशत परिवारले पुनर्निर्माण सकेको गाउँका अगुवा कामी लामा बताउँछन्। 

‘अधिकांशले होमस्टेकै लागि भनेर कोठै छुट्याएर घर पुनर्निर्माण गरेका छन्,’ होमस्टे हुँदै होटल सञ्चालन गरिरहेका उनले भने। कामीका अनुसार ह्योल्मो परम्परा कायम राख्दै पुनर्निर्माणमार्फत पहिलेको भन्दा सुन्दर र चिटिक्क परेका घर ठडिएका छन्। पर्यटकको हितका लागि सबैले पक्की शौचालयसमेत बनाएका छन्। ‘पर्यटक आकर्षित गर्न कतिपयले त घरभित्रै ‘कमर्डप्यान’जडित शौचालय बनाएका छन्,’ उनले भने। 

नयाँ घरमा स्थानीयले एकदेखि तीन कोठा होमस्टेका लागि छुट्याएका छन्। त्यहाँ चारदेखि १८ जनासम्म पर्यटक अट्ने क्षमता छ। ह्योल्मो क्षेत्र जिल्लामा एक मात्र होमस्टे व्यवस्था भएको गाउँ हो। यसको सुरुवात मेलम्चीघ्याङबाटै सुरु भएको हो। लाङटाङ राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र भएकाले मेलम्चीघ्याङ र हेलम्बु क्षेत्र पहिलैदेखि पर्यटकीय गाउँ हुन्।

पछि स्याउले यहाँको आन्तरिक पर्यटक बढाउने काम ग¥यो। पचासको दशकअघिसम्म यहाँ स्याउ फल्थ्यो। त्यतिबेला हेलम्बु ‘स्याउको सहर’ नामले चिनिन्थ्यो। अहिले हेलम्बुबाट स्याउ लोप भइसकेको छ। पुरानो नामलाई जीवन्त राख्न स्थानीयले स्याउ फलाउने प्रयास गरिरहे पनि सफल हुन सकेका छैनन्। 

मेलम्चीघ्याङलाई बौद्ध धर्मगुरु पद्म सम्भवले ध्यान गरेको पवित्रस्थलको रूपमा लिइन्छ। यहाँ दुईवटा प्राकृतिक गुफा भेटिन्छन्। पद्म सम्भवले यसैमा ध्यान गरेको भनाइ छ। उनका अनुयायी शान्ति खोज्दै ध्यान गर्न यहाँ आइपुग्छन्। अनुयायीमा बढी विदेशी नागरिक हुने स्थानीय बताउँछन्। उनीहरु गुम्बामा ध्यान गरिरहेका भेटिन्छन्। 

यहाँको आन्तरिक पर्यटन बढाउन ठूलो भूमिका खेलेको छ मेलम्चीघ्याङ माविले। आवाशीय यो विद्यालयमा बर्सेनि विभिन्न जिल्लाबाट दुई सयभन्दा बालबालिका अध्ययनका लागि आइपुग्छन्। आफ्ना बालबालिकालाई भेट्न, विभिन्न विदामा केटाकेटी लिन उनीहरुका अभिभावक आउँछन्। त्यतिबेला उनीहरुको बास हुन्छ, यिनै होमस्टेमा। विद्यालयको नतिजा सार्वजनिक हुने सयम चैत र नयाँ भर्ना हुने वैशाखमा अभिभावकले नै होमस्टे भरिन्छन्। 

नमूना सामुदायिक यो विद्यालय अध्ययन, अवलोकन गर्न धेरै सरोकारवाला आन्तरिक पर्यटक बनेर मेलम्चीघ्याङ पुग्छन्। होमस्टे र पर्यटन प्रवद्र्धनको नेतृत्व मेलम्चीघ्याङ माविले नै गर्दै आएको छ। ‘विद्यालयमा स्वयम्सेवा गर्न, अध्ययन, अवलोकन भ्रमणमा समय–समयमा आन्तरिक तथा बाह्य आन्तरिक नागरिकको ठूलो समूह नै आउँछ,’ विद्यालयका प्रधानाध्यापक पूर्णबहादुर गौतम भन्छन्, ‘त्यस्तो बेला सबै होमस्टेमा पाहुना बाँड्ने काम विद्यालयले नै गर्छ।’

ह्योल्मो समुदायको विशेष आकर्षण चिटिक्क सिंगारिएको धँुवारहित तन्दुर चुल्होजडित भान्छामा बसेर पर्यटक स्थानीय खानेकुरा खान रुचाउँछन्। यहाँ उनीहरु अर्गानिक खाना र अन्य परिकारको स्वाद लिन पाउँछन्। होमस्टेमा विदेशी र आन्तरिक पर्यटकलाई छुट्टाछुट्टै दुई शुल्क निर्धारण गरिएको छ। आन्तरिक पर्यटकले चिया र खाजासहित एक छाक खाना तथा एक रात बासको साढे चार सय रुपैयाँ तिर्छन्। विदेशीले खानाको पाँच सय र एउटा कोठाको एक हजार रुपैयाँसम्म बिल तिर्नुपर्ने होमस्टे सञ्चालिका साङ्गेजाङ्मु लामा बताउँछिन्। ‘निर्धारित बिल दरभन्दा बढी रकम लिँदैनौँ,’ उनले भनिन्। 

पर्यटकलाई ध्यानमा राखेर खुलेका साना तथा मझौला होटल, लजको संख्या नै यहाँ सातवटा पुगेको छ। एउटै होटल २५ जनासम्म सुत्ने क्षमताका छन्। अगुवा कामीका अनुसार बर्खा र जाडो हुने हिउँदको समयबाहेक बाँकी ६ महिना यहाँको पर्यटकीय सिजन हो। ‘भूकम्पले यहाँको पर्यटन व्यवसाय सधैँका लागि धराशयी बनाउने हो कि भन्ने चिन्ता थियो,’ उनले थपे, ‘तर पुनर्निर्माणपछि पुरानै लयमा फर्कियो।’







यसमा तपाईको मत

अन्य समाचार

एन्ड्रोइडको नयाँ लोगो, एन्ड्रोइडमा मिठाइको नामहरू प्रयोग नहुने !

एन्ड्रोइडको नयाँ लोगो, एन्ड्रोइडमा मिठाइको नामहरू प्रयोग नहुने !

गुगलले एन्ड्रोइडको नयाँ लोगो सार्वजनिक गरेको छ ! ...

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सामसङ इलेक्ट्रोनिक्सले आफ्ना मातहत अन्तर्गत सञ्चालित विभिन्न CSR परियोजना मध्ये सामसङ (दक्षिण कोरिया) ले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. २...

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सबैतिर वातावरण प्रदूषणको चिन्ता प्रकट भइरहेका बेला सुजुकीले वातावरणमैत्री नयाँ कार बजारमा ल्याउन लागेको छ । ...

सामसङ्ग मोबाइल रिटेलर्स मिट

सामसङ्ग मोबाइल रिटेलर्स मिट

हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले सफलतापूर्वक विभिन्न तीन वटा स्थान सिमरा, बर्दिबास र लहानमा २० अगष्ट २०१९ देखि २२ अगष्ट २०१९ सम्म...

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी बैंक र चावहिलस्थित ओम समाज डेन्टल हस्पिटलबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सले मन्जुश्री विशेष बचत खाता नामक नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad