coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

नदीको भेलसँगै बग्दै करोडौं बजेट

डोल्पा – प्राकृतिक सम्पदाका कारण डोल्पा पर्यटकीय हिसाबले निकै धनी जिल्ला हो। यहाँ यस्ता पर्यटकीय स्थलहरू छन्, जसले जो कोही आन्तरिक र वाह्य पर्यटकको मन सहजै तान्नसक्छ।

नेपालकै ठूलो शे फोक्सुण्डो राष्ट्रिय निकुन्ज, नेपालकैै सबैभन्दा गहिरो ताल फोक्सुण्डो, विश्वकै उच्च मानव बस्ती धो तराप उपत्यका, त्रिपुरासुन्दरी भगवतीको मन्दिर र शे गुम्बालगायतका दर्जनौं प्राकृतिक र पर्यटकीय सम्पदाहरू डोल्पामा छन्।

तर यी सम्पदाहरू प्रचुर पर्यटकीय सम्भावना बोकेर पनि आवश्यक पूर्वाधार, उचित संरक्षण र प्रवद्र्धनको अभावमा ओझेलमा छन्।
प्राकृतिक सम्पदाहरुको संरक्षण र प्रवद्र्धनतर्फ ध्यान नदिँदा करोडौं बजेट खर्च गर्ने गरी सदरमुकाम दुनै बजारमा कृतिम पर्यटकीय पार्कको निर्माण गर्न थालिएको छ।

बर्सेनि  भेरी नदीको कटानले सदरमुकामा दुनै बजार उच्च जोखिममा पर्दै आएको छ। बढ्दो भेरी नदीको बहाव र भेरी नदीलाई नै अतिक्रमित गरी बनाइएका घरहरुका कारण नदीको मार्ग साँघुरिँदै गइरहेको छ।

ठूलीभेरी नगरपालिका ३ अन्तर्गत दुनै बजारस्थित भेरी नदीको बीच भागमा करोडौं खर्च गर्ने गरी कृतिम पर्यटकीय पार्क निमार्ण सुरु गरिएको छ। भेरी नदीमा पार्क निर्माण थालनी गरिएपछि सामाजिक सञ्जाललगायत सार्वजनिक कार्यक्रममा समेत यसको विरोध हुँदै आएको छ।

निर्माणपछि पार्कको स्थायित्व र भेरी नदीको बहावले बर्खामा गर्ने क्षतिप्रति स्थानीय चिन्तित बनेका छन्। बर्खामा आउने भेरी नदीको उच्च बहावको मतलब नगरी बीच टापुमा पार्क निर्माण सुरु गरिनु पर्यटन विकासको नाममा आउने बजेटको दुरुपयोग गर्नुबाहेक अरू केही नभएको दुनैका ओमेन्द्र केसीले बताए।

कर्णाली प्रदेश सरकारको करोडौं बजेट बर्खाको भेलमा बग्न सक्ने र सदरमुकाम दुनै बजारसमेत थप जोखिममा पर्ने भएपछि स्थानीय चिन्तित बनेका छन्। पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने हिसाबमा पार्क निर्माण कार्य जिल्लाबासीको लागि खुसीको कुरा भए पनि केही महिनापछि नै देखिने जोखिमलाई ख्याल नगरेर निर्माण कार्य सुरु गर्नु दुखद् भएको स्थानीय ओम मगरले बताए।

पार्क निर्माणका लागि अन्यत्र सुरक्षित ठाउँ भए पनि नदीको बीच टापुमा करोडौं लगानी गरेर पार्क बनाउनुुको कुनै औचित्य नभएको उनको भनाइ छ। यसबाट प्रदेश सरकारको करोडौं बजेट बालुवामा पानी खनाए जस्तै हुने उनको दाबी छ।

पार्क निर्माण भइसकेपछि नदीको बहाब एकातिर मात्रै जाने दायाँतिरको बस्तीनै जोखिममा पर्ने बताउँदै पार्क निमार्ण कार्य रोक्नको लागि स्थानीयले जिल्ला प्रशासन कार्यालयमा लिखित तथा मौखिक रूपमा मागसमेत गरेका छन्। पार्क निमार्णपछिकोे भविष्य र भेरी नदीले बजारमा पुर्याउने क्षतिका सम्बन्धमा सरोकारवलासँग छलफल गर्दा तटबन्धन गरेर बस्तीलाई सुरक्षित बनाउन दिनुपर्ने निष्कर्ष निक्लेको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले बताए।

पार्कको निर्माण कार्य सुरु भए पनि धेरै लगानी नभएकाले सकभर अर्को कुनै सुरक्षित ठाउँमा पार्क निर्माण गर्नु पर्नेमा सरोकारवालाले जोड दिएका छन्। भेरी नदीको बीच भागमा निमार्ण गर्न थालिएको पार्क निमार्ण समितिका अध्यक्ष अर्जुन हिराचनले भने दुनै बजार वर्षौदेखि असुरक्षित रहेको बताए। निर्माण मजबुत र सुरक्षित तरिकाले गरिने भएकाले कुनै असर नपुर्याउने उनले बताए।

‘भेरी नदीको बायाँतिर पानीको बहाव कम भएकाले त्यतातिर नै पार्क निर्माण सुरु गरिएको छ। मान्छेहरुले भनेजस्तै जोखिम छैन’, उनले’, भविष्यमा हुने प्राकृतिक प्रकोपलाई कसैले पनि रोक्न सक्दैन।’ 

आर्थिक वर्ष ०७५/७६ मा प्रदेश सरकार उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले पार्क निर्माणको लागि एक करोड रकम उपलब्ध गराएको  अध्यक्ष हिराचनले बताए। योजना क्रमागत भएकाले निर्माणकार्य सम्पन्न हुन्जेलसम्म नौदेखि दश करोडसम्म खर्च हुने मन्त्रालयले जनाएको छ।

प्रकाशित: २ वैशाख २०७६ ०७:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App