८ वैशाख २०८१ शनिबार
अन्य

पाँच वर्षमा वडाका भित्रि सडकमा हिलो देखिने छैन

नरेन्द्रदास श्रेष्ठ, वडाध्यक्ष तारकेश्वर नगरपालिका– ४

नरेन्द्रदास श्रेष्ठ, वडाध्यक्ष
तारकेश्वर नगरपालिका– ४

जनप्रतिनिधि भएपछि जनताले महसुस गर्ने के काम गर्नुभयो ?
स्थानीय निकाय करिब २० वर्ष जनप्रतिनिधिविहीन रह्यो। जसको कारणले स्थानीय निकाय अस्तव्यस्त रूपमा सञ्चालन भएको थियो। तर, स्थानीय तहमा जनप्रतिनिधि आएसँगै स्थानीय जनताको चाहना र आकांक्षा चुलिएका छन्। वडाका राष्ट्रिय स्तरका समस्या पनि वडा कार्यालयले नै समाधान गरिदेओस् भन्ने चाहना देखिन्छन्। त्यसैले जनताको चाहना र आंकाक्षालाई प्राथमिकतामा राख्दै काम गरिरहेका छौं।

जनप्रतिनिधि भएसँगै विकास निर्माणलाई मुख्य प्रथामिकतामा राखेर काम गरिरहेका छौं। चार वर्षदेखि अस्तव्यस्त दगुर्नेपानी सडकखण्ड निर्माण सम्पन्न गरेका छौं। शेषमती–कमेरोखोला पाँच सय मिटरको सडक निर्माणाधिन अवस्थामा छ। सानोपुलदेखि लोलाङसम्म तीन सय मिटर सडक कालोपत्रे हुने क्रममा छ। सम्भवतः दसैंसम्म कालोपत्रे सम्पन्न गर्नेछौं।

तपाईंको वडाका सडक लामो समयदेखि लथालिंग छन्, कहिलेसम्म मर्मत–सम्भार गर्नुहुन्छ ?
अष्टलक्ष्मी हलदेखि काभ्रेस्थलीसम्मको पाँच किलोमिटर सडक लामो समयदेखि लथालिंग अवस्थाबाट गुज्रिएको छ। पर्याप्त बजेट नहुँदा सडक निर्माण सम्पन्न हुन नसकेको हो। सडक निर्माण सम्पन्न गर्न अर्थ मन्त्रालयसँग पाँच करोड रूपैयाँ माग गरेका थियौं। तर, मन्त्रालयले चालू आर्थिक वर्षको बजेटमा रकम विनियोजन गरेन। हामीले सडक साँघुरो भएकाले सडक विस्तार गर्न आवश्यक पर्ने मुआब्जा रकम समेत बारम्बार माग गरेका छौं। तर, संघीय सरकारले बेवास्ता गर्दा निर्माण अघि बढ्न सकेको छैन।

काठमाडौं उपत्यका विकास प्राधिकरणले महादेव खोला कोरिडोर अन्तर्गतको १० मिटर सडकमा पर्खाल लगाउन सकेको खण्डमा कोरिडोर सञ्चालन गर्न सकिन्थ्यो। काठमाडौं उपत्यका विकास प्राधिकरणले महादेवखोला करिडोरको थालनी गरे पनि बजेट अभाव देखाउँदै निर्माण सम्पन्न गर्न सकेको छैन। महादेवखोलाको २० मिटरको मापदण्ड अहिले १२ मिटरमा घटाइएको छ। त्यसकारण वर्षात्का बेला बाढीले समस्या निम्त्याउने सम्भावना छ। वडा कार्यालय मातहत पाँच किलोमिटर भित्री सडक छन्। ती सडकलाई क्रमशः कालोपत्रे गर्ने तयारी गरिरहेका छौँ।

तपाईं आउँदा वडाको आफ्नै भवन थिएन, अहिले निर्माण सम्पन्न गर्नुभयो त ?
हामी निर्वाचित भएर आउँदा वडाको आफ्नै भवन थिएन। वडा कार्यालय नहुँदा पाँच नम्बरको वडा कार्यालय गोलढुंगाबाट सेवा प्रवाह गर्दै आइरहेका थियौं। दुई महिनाअघि वडाको आफ्नै भवन तयार पा¥यौं। अहिले वडा कार्यालयबाटै सेवा दिइरहेका छौं। पहिला टाढा हुँदा २ बजेपछि सेवाग्राही कार्यालय आउँदैनथे। तर, अहिले वडाको पायक पर्ने स्थानमा वडा कार्यालय हुँदा बेलुकाको पाँच बजेसम्म सेवाग्राही आउने गरेका छन्। करिव ५० लाखको लागतमा वडा कार्यालय निर्माण गरेका छौं।

तपाईंको वडामा खानेपानीको हाहाकार छ, कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ?
वडामा खानेपानी नभएर वडावासी काकाकुल छन्। खानेपानीको माग अनुसारको आपूर्ति गर्न नसक्दा वडामा खानेपानीको हाहाकार भएको हो। वडामा खानेपानीका मुहान अति नै कम छन्। छिमेकी वडाबाट काठमाडौं महानगरपालिकामा यहाँबाटै खानेपानी जाने गर्छ। तर, यहाँका वडावासी काकाकुल अवस्थाबाट गुज्रिएका छन्। वडा कार्यालयले खानेपानीको व्यवस्था मिलाउन काठमाडौं उपत्यका खानेपानी लिमिटेडकहाँ बारम्बार डेलिगेसन गरेको छ। तर, अहिलेसम्म खानेपानीको उचित प्रबन्ध मिलाउन सकेको छैन। वडा कार्यालयले अहिले दुई लाख २५ हजार लिटर क्षमताको ट्यांकी निर्माण गरिरहेको छ। उक्त ट्यांकी निर्माण सम्पन्न भएसँगै एक वटा बोरिङ खन्ने योजना बनाएका छौं। वडामा करिव ५ हजारभन्दा धेरै घरधुरी छन्।

तर, पर्याप्त स्रोत नहुँदा जनतालाई खानेपानीको आपूर्ति गर्न सकिरहेका छैनौं। विभिन्न निकायसँग समन्वय गरिरहेका छौं। अबको केही वर्षमै खानेपानीको उचित व्यवस्थापन गर्नेछौं। हामी आएसँगै पुरानो पाइपलाइन मर्मत–सुधार गरी पानी वितरणलाई व्यवस्थित पार्न खोजिरहेका छौँ। काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयसँग समन्वय गरेर मेलम्चीको पानी वितरण गर्न अनुरोध गरेका छौँ।

नगरपरिषद्बाट कस्ता योजना अघि सार्नुभएको छ ?
नगरपरिषद्बाट गत वर्ष वडा कार्यालयका लागि एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ। उक्त बजेटबाट ३६ योजना अघि सारेका थियौं। अघि सारेका सम्पूर्ण योजना निर्माण सम्पन्न भएका छन्। चालू आवमा एक करोड २५ लाख रूपैयाँ बजेट विनियोजन भएको छ। उक्त बजेटबाट २४ योजना अघि सारेका छौं। तीमध्ये लगभग ८० प्रतिशत निर्माण सम्पन्न भइसके। सडक, खानेपानी, वडा कार्यालयको भवन निर्माण तथा भूकम्पले भत्किएका ऐतिहासिक संरचनालगायत पूर्वाधार निर्माणका लागि प्राथमिकताका साथ बजेट विनियोजन गरेर काम गरिरहेका छौँ।

कस्तो वडा बनाउने सपना बोक्नुभएको छ ?
काठमाडौं महानगरपालिकासँग जोडिएको वडामा पर्छ। त्यसैले महानगरपालिकाले गरेका राम्रा कामको सिको गर्र्दै व्यवस्थित गर्नेतर्फ लागिरहेको छु। वडामा आवश्यक पर्ने पूर्वाधार निर्माण गरेर नमुना वडा बनाउने योजना छ। मेरो कार्यकालसम्म वडाका सम्पूर्ण सडक कालोपत्रे गर्नेछु। वडामा सडक, खानेपानी शिक्षा लगायत आधारभूत पूर्वाधार पु-याउने लक्ष्य राखेको छु। पाँच वर्षमा वडा कार्यालयमा रहेका भित्री सडक कालोपत्रे र प्रत्येक वडावासीको घरदैलोमा खानेपानीसहितको धारा पु¥याउने योजना रहेको छ। वडामा फाइवर नेट वडामा फाइबर नेट बिछ्याइएको छ।
प्रस्तुति: हिमाल लम्साल

प्रकाशित: २ वैशाख २०७६ ०६:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App