coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

बुङमती बेहाल, पिलाछें उठ्दै

तस्बिरः शिवहरि/काष्ठमण्डप

भूकम्पयता ललितपुरको प्राचीन बस्ती बुङमतीको अवस्था बेहाल भइरहँदा सोही बस्तीकै दाजोमा रहेको पाटनस्थित ‘पिलाछें’को पुनर्निर्माण तीव्र गतिमा भइरहेको छ। नेवारी प्राचीन संस्कृति बोकेके यो बस्ती लगभग आफ्नो मौलिक रूप फिर्ता गर्ने चरणमा छ।

जम्माजम्मी ८२ घरमध्ये १८ घर बनिसकेका छन्। अरु घर ठडिँदै छन्। मौलिकता समाएर पर्यटकीय योजनाअनुरूप अघि बढेको यो बस्ती ०७२ को भूकम्पमा तहसनहस भएको थियो। भूकम्पमा भत्किएका सबै घर बनाउन यहाँका स्थानीय नै जागरुक भएका हुन्। स्थानीय र केही परियोजनाको सक्रियतामा पिलाछें बस्ती उठ्न लागेको हो।

यो ललितपुरकै ‘फरक बस्ती’को रूपमा ठडिँदै छ। यसका सबै घर बनिसकेपछि घरैपिच्छे नेवार समुदायको संस्कृति र रहनसहन झल्कने छ। विदेशी पाहुनालाई तान्नका लागि प्रशस्त नेवारी कलाकृति सजाइने छ। उनीहरूलाई नेवारी संस्कृतिमै रमाइलो प्रदान गरिने छ। फरक शैली र सोचमा बनाउन थालिएको पिलाछेंमा हरेक घरका हरेक तलामा फरक–फरक व्यवसाय गरिने छ। ‘पिलाछेँ पुनर्निर्माण तथा पयर्टन प्रवद्र्धन परियोजना’का अध्यक्ष रमेश महर्जनले बस्ती निर्माण तीव्र गतिमा भइरहेको जानकारी दिए। उनका अनुसार यो बस्ती उपत्यकाको पृथक शैलीमै बन्ने छ। बनिसकेका केही घरले मौलिकता र नेवारी बस्तीको छनक दिइसकेका छन्। करिब सय रोपनीमा क्षेत्रफलमा ८२ पर्यटकीय घर निर्माण अहिले धमाधम भइरहेको छ।

त्यसमध्ये १८ घर बनिसकेका छन्। बाँकी घरको पुनर्निर्माण पनि तीव्र गतिमा भइरहेको महर्जनको भनाई छ। ‘हामीले बिहानैदेखि बेलुकीसम्मको समय यही काममा दिएका छौं, त्यही अनुसारको जनशक्ति पनि प्रयोग गरिहरहेका छौं, त्यसैले ललितपुरको फरकै शैलीको बस्तीका रूपमा हामीले छिट्टै पिलाछेंलाई देख्न पाउनेछौं,’ उनले भने। महर्जनका अनुसार निर्माण सम्पन्न भइसकेका घरमा २०७६ को कात्तिक पहिलो सातादेखि व्यवसाय सुरु गरिने छ। त्यतिबेलासम्म अन्य घरको पुनर्निर्माण पनि सकिने छ।

पिलाछेंका सबै घर बनाउन अझै दुई वर्षको समयसीमा राखिएको छ। तर, केही घर बनेपछि व्यवसाय थालनी हुनेछ। ‘१५ घर व्यवसायका लागि तयार भइसकेको, २२ घरको दोस्रो तलका काम भइरहेको, १० को जग हाल्ने काम भइरहेको, ८ घर बस्नका लागि तयार हुने अवस्थामा छन्,’ महर्जनले भने। यसबाहेक अन्य घर बनाउन किनार र कित्ता छुट्याउने, गल्ली, घरको साँध, चोकका घरधनीलाई सहमतिमा ल्याउनेलगायत काम सकिएको छ।

बस्ती पुनर्निर्माणका लागि स्थानीय हातेमालो गरिरहेका छन्। यी घरमा कात्तिकको पहिलो सातादेखि नेवारी भेषभुषा सहित पर्यटकलाई बस्ने र खाने व्यवस्था हुनेछ। भूकम्पले क्षति भएको पिलाछेँ टोल ऐतिहासिक र सांस्कृतिक हिसाबले पनि सम्पन्न नेवारी बस्ती हो। यो टोलमा ४० बहाल रहेका छन्। पाँच रोपनीमा फैलिएको भिन्छँ बहाल प्रस्तर कलाका क्षेत्रमा पनि परिचित छ।

करिब दुई वर्षअघि गएको भूकम्पमा यहाँका ८२ घर नै ध्वस्त भएका थिए। पुराना ऐतिहासिक बस्ती पूरै सखाप भएपछि स्थानीय र केही व्यावसायीको पहलमा डेढ वर्ष अघिदेखि नमुना बस्तीको अवधारणा अघि सारिएको थियो। अवधारणा अनुसार यो बस्तीका ८२ घरलाई नेवारी संस्कृति र कला झल्किने गरी पर्यटकीय केन्द्रको रूपमा पुनर्निर्माण गर्न लागिएको हो।

अहिले यस बस्तीको भूकम्प प्रतिरोधी तबरले पुनर्निर्माण भइरहेको छ। परियोजना अध्यक्ष महर्जनले राष्ट्रिय योजना आयोगले पनि भूकम्पपछिको पुनर्निर्माणअन्तर्गत पिलाछेँलाई नै पहिलो नमुना परियोजनाका रूपमा छनोट गरिएको जानकारी दिए। उनले परियोजनाले चासो दिएका कारण पुनर्निर्माणमा स्थानीय अग्रसर भएको बताए। आफ्नो बस्तीलाई सक्दो चाँडो पुनर्निर्माण गरी नमुना बस्तीको रूपमा चिनाउन सुरुवातदेखि नै पिलाछेंवासी कस्सिँदै आएका छन्। उनीहरू सकेसम्म छिट्टै नमुना बस्तीमा परिणत गर्न तनमनका साथ लागिपरेका छन्। पुनर्निर्माणकै कामले हिजोआज पिलाछेंवासीलाई बाहिर निस्कने फुर्सद हुन्न। उनीहरू बिहानदेखि बेलुकीसम्म आफ्नै बस्तीको पुनर्निर्माणमा खटिन्छन्।

पिलाछेंकै स्थानीय श्यामकुमार महर्जनले पुनर्निर्माणपश्चात यहाँ विशुद्ध नेवारी कल्चर भेटिने बताए। उनले स्थानीयकै सक्रियताले यो बस्तीले पुरानो रूप पाउने चरणको पुगेको जानकारी दिए। उनले भने, ‘भूकम्पपछि यहाँका स्थानीय संगठित भएका थियौं, हामीले सबै परिवारका व्यक्तिलाई यो बस्ती निर्माणमा प्रयोग गरेका छौं, यहाँको ऐतिहासिक पक्षलाई हेरेर नमुना बस्तीका रूपमा छनोट गरेपछि त्यसको फाइदा हामीलाई पनि पुगेको छ।’
उनका अनुसार पाटन क्षेत्रका अन्य टोलवासी समेत आएर पुनर्निर्माणका सहयोग गरिरहेका छन्। त्यसैले पनि पुनर्निर्माण छिटो भएको हो।

परियोजनाका सचिव महेन्द्र महर्जनले नमुना बस्तीका रूपमा पुनर्निर्माण गर्ने चासो स्थानीयले देखाएकाले गत वर्षको माघदेखि नमुना बस्तीका रुपका उभ्याउन लागिपरेको जानकारी दिए। उनले पुनर्निर्माणपछि घरजग्गाको भाउ बढ्ने बताए। ‘यो बस्ती पुनर्निर्माणको काम सकिएपछि आम्दानीका ढोका खुल्छ, स्थानीयले फरक–फरक व्यवसाय गर्न सक्छन्, उपत्यकामा नेवार समुदायको खास मौलिकता खोज्न यही आउनुपर्नेछ,’ उनले भने, ‘यो बस्तीले नेवार समुदायको आफ्नोपन जोगाउन पनि मुख्य भूमिका खेल्ने छ।’

सुरुमा नमुना बस्तीको अवधारणा तयार गर्दा टोलका केही अगुवाले उपत्यकाकै फरक र मौलिक बस्ती बन्ने भनी स्थानीयलाई आश्वस्त पारेका थिए। ऐतिहासिक र सांस्कृतिक सम्पदाको केन्द्रमै पुनर्निर्माण हुन लागेको पिलाछेँ बस्तीलाई पर्यटकीय विकासमा महत्वका साथ पनि लिइएको छ। पुनर्निर्माणका लागि करिब ५० करोड रूपैयाँ लाग्ने अनुमान गरिएको थियो। सोही अनुसार १८ घर पुनर्निर्माण भइसक्दा करिब १२ करोड रूपैयाँ खर्च भएको परियोजनाले जनाएको छ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबावु महर्जनले पिलाछेंलाई मौलिक नेवारी बस्तीका रूपमा ठड्याउनका निम्ति महानगरले पनि सहयोग गरेको जानकारी दिए। उनले यो बस्ती पाटन क्षेत्रको फरक बस्तीका रूपमा विकास हुन लागेको बताए। ‘ललितपुर पाटन क्षेत्रको हस्तकलादेखि अन्य नेवारी परम्परा पनि पिलाछेंले झल्काउने छ,’ उनले भने, ‘त्यसले स्थानीय उत्पादन र व्यवसायको विकास पनि गर्नेछ।’

पुनर्निर्माणमा आर्थिक सहयोगका लागि बरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतले तिलगंगा फाउन्डेसनका तर्फबाट चार करोड रूपैयाँ सहयोग गरेका थिए। च्वाइस नेपालले ५० लाख रूपैयाँ, व्यावसायी तीर्थलाल महर्जनले ५० हजार इँटा सहयोग गरेका छन्। ललितपुर चिम्नी इँटा उद्योगले ५० हजार इँटा प्रदान गरेको छ भने अन्य निर्माण सामग्री बिक्रेताले सिमेन्ट उपलब्ध गराएका छन्। नमुना बस्तीको इन्जिनियरिङको पार्टको सिई कन्स्ट्रक्सन र सिई सोलसुन्सले सहयोग गर्दै आएको छ।

परियोजनाका अध्यक्ष महर्जनले नमुना बस्ती पुनर्निर्माणका लागि २५ प्रतिशत स्थानीय घरधनीबाट, २५ प्रतिशत भौतिक सामग्री र स्वयंसेवकको श्रमदान, २५ प्रतिशत माया फाउण्डेसन र बाँकी सहुलियत ऋण प्रवाह गर्ने योजनाका साथ काम अघि बढेको जानकारी दिए।

प्रकाशित: २ वैशाख २०७६ ०५:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App