१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

खानेपानीले ल्यायो परिवर्तन, पहिले घण्टौं धाएर कुवामा, अहिले घरघरैमा धारा

धादिङ - एक वर्ष अघिसम्म श्यामेडाँडाकी सविना चेपाङ मध्यरातमा पानी लिनका लागि डेढ घण्टा तल कुवामा झर्ने गर्थिन्। पढाई छुट्ने डरले सबैभन्दा पहिले कुवामा पुग्थिन् र पानी भरेर उकालो लाग्थिन् तर अहिले न उनलाई मध्यरातमा उठेर कुवातिर धाउनुपर्छ न पढाई छुट्छ कि भन्ने डर छ।

खानेपानीको संकट भोग्दै आइरहेको धादिङको गजुरी गाउँपालिकास्थित श्यामैडाँडाबासीले घरघरमा धारा पाएका छन्। घरघरैमा जडान गरिएको धारामा खानेपानी पाउँदा संगीताको मुहारमा खुसीको सिमै छैन। चेपाङ समुदायको बाहुल्यता रहेको जिल्लाको गजुरी गाउँपालिका वडा नम्बर ४, ६ र ७ का वासिन्दामा अहिले खुसीयाली छाएको छ। बर्षौ देखि खानेपानीको समस्या झेल्दै आइरहेका सो बस्तीमा भूकम्पपछि भएका कुवामा पनि खानेपानी सुक्दै गएको थियो। गाउँको पँधेरामा पानी आउन छाडेपछि तरकारी खेती गर्न, गाई वस्तुलाई पानी खुवाउन त परै जाओस् राम्रोसँग कपडा धुन र भान्सामा प्रयोग गर्न समेत पाउँदैन थिए। यहाँका स्थानीयलाई खानेपानी रगत भन्दा पनि महंगो बनेको थियो।

आँगनमै पाइपमार्फत पानी आएपछि स्थानीयहरुमा खुसीको सीमा छैन। प्रत्येकको घरमा खानेपानी आएपछि गाउँ नै परिवर्तन भएको वडा सदस्यसमेत रहेकी संगीता चेपाङले बताइन्। ‘पहिले एक गाग्री पानी लिन मध्य रातदेखि कुवामा पुग्नुपथ्यो। अहिले घरघरमा धारामा पानी आउँछ,’ पुराना दिन सम्झँदै चेपाङले भनिन्, ‘अहिले आँगनमै पाइपबाट पानी झर्दा सपना जस्तै लाग्छ।’ खानेपानीको जोहो गर्नका लागि मध्यरातीदेखि खटिनुपर्ने अवस्था अब हटेको चेपाङले सुनाइन्।

गाउँवासीले खानेपानीको लागि भोग्नुपरेको पुराना दिन सम्झँदा अहिले पनि अत्यास लाग्ने गरेको उनले सुनाइन्। ‘गाउँमा पानीको संकट हुँदा असहाय, अशक्त र सुत्केरी महिला तथा बिरामीहरुले खाने पानी पाउनै मुस्किल हुन्थ्यो’, उनले भनिन्, ‘एक गाग्री पानी लिन मध्यरातदेखि कुवामा लाइन लाग्नुपर्ने अवस्था थियो।’ गाउँमै खानेपानी आएपछि यहाँका वासिन्दाको जीवनशैलीमा समेत परिवर्तन आउन थालेको छ।

बस्तीका हरेक घरमा जडान भएको धारामार्फत नियमित खानेपानी आउन थालेपछि गाउँबासीमा खुसी छाएको हो। गजुरी गाउँपालिकाको वडा नम्बर ४, ६ र ७ नम्बर वडाका गाउँबस्तीलाई समेटेर सञ्चालन गरिएको श्यामेडाँडा खानेपानी आयोजनाबाट यहाँका ३ सय २६ घर परिवार लाभान्वित भएका छन्। ७३ वर्षीय गोमनबहादुर चेपाङले आँगनको धारामै पानी थापेर खान पाइएकाले खुसी लागेको बताए। ‘गाउँमा खानेपानी ल्याउन दौडधुप गरेको देख्दा पानी आउँछ भनेर विश्वासै लागेको थिएन,’ चेपाङले भने, ‘वर्षाैदेखिको खानेपानी समस्या समाधान भएपछि बालबच्चालाई समयमा नै स्कुल पठाउन र आफ्नै करेसाबारीका ताजा तरकारी खान पाएका छौं।’

पानीकै अभावमा हिउँदमा उजाड देखिने करेसाबारीहरुमा अहिले हरिया सागपात तथा तरकारीहरु देख्न पाइन्छ। मौसम अनुसारका तरकारी लगाएर उब्जनी गर्न थालेका छन्। खान, लुगा धुन तथा सरसफाईबाट बचेको पानी करेसाबारीमा लगाउने गर्छन्। गाँउका घर–घरै धारा भएकोले पहिले घण्टौं लगाएर पानी बोक्ने समयमा अन्य आर्थिक उपार्जनका कामहरुमा लगाउन थालेका छन्। बालबच्चाहरुको सरसफाइमा पनि ध्यान दिन थालेका छन् भने नियमित विद्यालय पनि जाने गरेका छन्

पानीको अभाव खेप्दै आइरहेकी गजुरी गाउँपालिकाकी शान्ता अधिकारीलाई पनि अहिले सहज भएको छ। श्यामेडाँडा खानेपानी आयोजनामार्फत घरमै पानी आएपछि सजिलो भएको उनले बताइन्। ‘घर भन्दा तल आधा घण्टा टाढा रहेको मुहानमा पालो कुरेर डोकोमा पानी बोक्ने गरेकी थिए’, उनले भनिन्, ‘यसरी घरघरमा धारा बनेर पानीको उपभोग गर्न पाईन्छ भनेर सोचेकै नै थिइनँ।’ उनले करेसाबारीमा बन्दा, मुलालगायतका तरकारी पनि लगाएकी छन्

गाउँदेखि १० किलोमिटर टाढा रहेको भिरकटेरीको मुहानबाट ल्याइएको खानेपानीले श्यामेडाँडा, रिमालटार, पुकुन, गेदे, तिलाहरा, बगैँचा, नयाँटार, काजीटोल, थरीटोल, सिमपानी, बाइवाङ चपरेलगायतका गाउँका स्थानिय लाभान्वित भएका छन्। चेपाङहरुको खाद्य अधिकार, खानेपानी माग्नको लागि सहजीकरण, पूरा गर्नुपर्ने प्रक्रियाको विषयमा खाद्य अधिकारी जिल्ला सञ्जाल, विभिन्न संघसंस्थाहरुले पनि लामो समयदेखि पैरवी गरिरहेको थियो। खानेपानीको चरम संकट हुनथालेपछि अक्सफाम नेपालको पूर्णिमा परियोजनाअन्र्तगत स्थानीय साझेदार संस्था प्रयास नेपालले खानेपानीको प्रबन्ध मिलाएको छहो।

गाउँ नजिकै श्यामेडाँडा खानेपानी आयोजना निर्माण गरेर ३ सय २६ घरधुरीका करिब २ हजार स्थानीयलाई खानेपानीको जोहो भएको छ। १ करोड ९४ लाख ७९ हजार १७ रुपैंया लागत रहेको उक्त आयोजनाबाट चेपाङ समूदायसँगै ३० घरधुरी दलित बस्तीहरु पनि लाभान्वित भएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले जानकारी दिए। खानेपानीको दिगोपनाका लागि वडा कार्यालय तथा गाउँपालिकासँग सम्झौता समेत गरिएको उनले बताए।

प्रकाशित: २ वैशाख २०७६ ०४:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App