८ वैशाख २०८१ शनिबार
समाज

ढालियो बिस्केटको लिंगो

भक्तपुर - बिस्केट जात्राको क्रममा भक्तपुरको ल्योसिंखेलमा शनिबार उठाइएको ५५ हात लामो लिंगो आइतबार साँझ ढालिएको छ। प्रत्येक वर्ष बिस्केट जात्राका क्रममा चैत मसान्तमा उठाएर वैशाख १ गते ढाल्ने परम्पराअनुसार लिंगो ढालिएको हो। चैत मसान्तमा उठाएर वैशाख १ गते ढाल्ने भएकाले लिंगो एक वर्ष उठेको भन्ने भनाइ छ।

लिंगो ढाल्नुअघि लिंगोमा बेरिएको डोरीहरूलाई फुकाइएको थियो, जसलाई स्थानीय नेपाल भाषामा बल फेनेगू (डोरी फुकाउने) भनिन्छ। विधिपूर्वक डोरी फुकाएपछि तानेर लिंगोलाई ढालिएको हो। लिंगो उठाउन सयौं युवाले घन्टौं तान्नुपर्ने भए पनि ढाल्नलाई भने त्यति बल गर्नुपर्दैन। ढाल्न सुरु गरेको केही मिनेटभित्र ढालिसकिन्छ। ढाल्ने क्रममा चारैतिर डोरी फिँजाई सबैतिरबाट सन्तुलित रूपमा तान्ने गरिन्छ। यसलाई स्थानीय नेपाल भाषामा न्हेलं ब्याकेगू (देवतालाई निदाउन लगाउने) रूपमा लिइन्छ।

लिंगो ढाल्ने क्रममा डोरीले जोडले तानेर आफूतिर ढाल्न बल गरिन्छ। जातातिर लिंगो ढल्यो, त्यतै छिटो वर्षा भई असारमा धान रोप्न पाइने विश्वासका साथ लिंगोलाई आफूतिर तान्ने प्रयास गरिन्छ। भक्तपुरको बिस्केट जात्राको मुख्य आकर्षण यही लिंगो उठाउने र ढाल्ने परम्परा हो। त्यसकारण लिंगो उठाएको र ढालेको हेर्न हजारौं मानिसको भीड लाग्छ। भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रेपलाञ्चोकलगायत छिमेकी जिल्लाबाट पनि हजारौं जात्रालु लिंगो उठाएको र ढाल्न हेर्न आउने गर्दछन्। बिस्केट जात्राका क्रममा शनिबार बिहानै जात्रालुको भीड थियो। पोटरी स्क्वायरमा उठाइएको हात नभएको लिंगो भने जात्राको अन्तिम दिन वैशाख ५ गते मात्रै ढालिन्छ। वैशाख ५ गते भक्तपुरको गःहिटीमा पु¥याइएको भैरवनाथको रथ तान्ने क्रमसँगै आठ रात नौ दिन लामो बिस्केट जात्रा समापन हुन्छ।

प्रकाशित: २ वैशाख २०७६ ०३:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App