coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

चुँदी रम्घालाई साहित्यिक पर्यटन हब बनाउन पहल

चुँदी रम्घा – आदिकवि भानुभक्त आचार्यको जन्मगाउँ चुँदी रम्घालाई साहित्यिक पर्यटनको केन्द्रबिन्दु बनाउन अभियान थालिएको छ। भानुकै जन्मगाउँमा दुईदिने अन्तर्राष्ट्रिय कवि सम्मेलन आयोजना गरेर उक्त अभियान सुरु गरिएको हो।

गीतल प्रतिष्ठान नेपाल र नाटक मञ्च तनहुँले शुक्रबार र शनिबार आयोजना गरेको सम्मेलनमा चीन, अमेरिका, जापान, म्यान्मा, भारतबाट नेपाली र गैरनेपाली कविहरु सहभागी भएका थिए। कार्यक्रमका सहभागी कविहरुले संसारभरका नेपालीभाषी साहित्यकर्मीले उच्च श्रद्धा र सम्मान प्रकट गर्ने भानुभक्त आचार्यको जन्मस्थल आफूहरुका लागि पवित्र तीर्थस्थल जस्तै रहेको र यहाँ आइपुग्दा शीर उँचो भएको अनुभूति गरेको टिप्पणी गरे। चुँदी रम्घा (हालको भानु नगरपालिका)ले भानुभक्त बाहेक क्षेत्रप्रताप अधिकारी, बासुदेव त्रिपाठी जस्ता विख्यात साहित्यकर्मी जन्माएकोले यो ठाउँ सर्जकहरुका लागि तीर्थस्थल नै भएको कवि नवराज लम्सालको भनाइ छ।

सम्मेलनलाई सम्बोधन गर्दै भानु नगरपालिकाका मेयर उदयराज गौलीले सो क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न नगरपालिकाले काम सुरु गरिसकेको जानकारी दिए। आगामी वर्षदेखि नगरपालिकामा भानु जयन्तीका दिन सार्वजनिक बिदा दिएर विशेष कार्यक्रम गर्ने योजना सुनाएका मेयर गौलीले भानु जन्मस्थल विकास समितिलाई केन्द्रीय सरकारकै मातहत राख्न अनुरोध गरेको बताए। भानुभक्त तनहुँका मात्र नभएर राष्ट्रकै विभूति भएकाले उनको जन्मस्थलको विकास गर्न गठित निकायहरु संघीय सरकार अन्तर्गत नै राख्नुपर्ने उनको सुझाव थियो। अहिले भानु जन्मस्थल विकास समिति गण्डकी प्रदेश सरकार अन्तर्गत छ।

सो क्षेत्रबाट संघीय संसद्मा निर्वाचित कृष्णकुमार श्रेष्ठ ‘किसान’ले भानु जन्मस्थल विकास समितिलाई संघीय सरकारमातहत राख्न पहल सुरु गरिसकेको बताए। तात्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसँग यस विषयमा कुरा राखिसकेको जानकारी दिएका उनले आफूले निर्वाचनअघि गरेको प्रतिबद्धता अनुरुप भानु जन्मस्थललाई साहित्यिक पर्यटनको हब बनाउन सक्रिय भएर लागिपरेको बताए।

आयोजक संस्थाका अध्यक्ष आकाश अधिकारीका अनुसार संस्थाले ‘पर्यटनका लागि साहित्य र साहित्यका लागि पर्यटन’ थिममा आधारित रहेर विभिन्न प्रवद्र्धनमूलक गतिविधि गर्दै आएको बताए। गत वर्ष कवि क्षेत्रप्रताप अधिकारीको जन्मगाउँमा कार्यक्रम गरेको संस्थाले गत असोजमा सिद्धगुफामा राष्ट्रिय कवि गोष्ठी र जिल्लास्तरीय चित्रकला प्रतियोगिता गराएको उनले बताए। संस्थाले तनहुँमा साहित्यिक पार्क स्थापना गर्न नगरपलिकामा प्रस्ताव पेस गरेको र नगरपालिकाले पार्कको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिरहेको उनको भनाइ छ। उक्त पार्कमा भानुभक्त आचार्य, क्षेत्रप्रताप अधिकारी, गोकुल जोशी लगायत तनहुँका स्रष्टाको सालिक राखिने अधिकारीले जानकारी दिए। ‘यस्ता गतिविधिले तनहुँमा पर्यटक ल्याउन बल पुग्ने अपेक्षा हाम्रो छ,’ उनले भने।

राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा तनहुँ चिनाउन ख्यातिप्राप्त सर्जकहरुलाई ल्याएर साहित्यिक कार्यक्रम गर्ने गरेको उनको भनाइ छ। आगामी दिनमा जिल्लाका सबै पालिकामा साहित्यिक जागरण कार्यक्रम सञ्चालन गर्ने र जिल्लाकै अग्लो छिम्के डाँटामा बृहत् साहित्यिक कार्यक्रम गर्ने योजना रहेको अध्यक्ष अधिकारीले सुनाए।

सम्मेलनमा बोल्दै कवि नवराज लम्सालले भानुभक्तलाई राज्यले बोलीले मात्र सम्मान गरेको तर व्यवहारले नगरेको गुनासो गरे। प्रत्येक वर्ष भानु जयन्तीमा प्रधानमन्त्री सहभागी हुने गरे पनि भानु जन्मस्थलको अवस्था नाजुक रहेको उनको प्रतिक्रिया थियो। उनले भानुभक्त र उनका सिर्जनालाई आलोचनात्मक कोणबाट विश्लेषण गर्ने परिपाटी नहुँदा भानु ओझेलमा पर्ने डर बढिरहेको सुनाए। ‘अंग्रेजहरुले सेक्सपियरलाई आलोचनात्मक कोणबाट हेरेकै कारण उनी जिवित छन्; हामीकहाँ आलोचना गर्नै नहुने जस्तो गरिन्छ। यस्तो परिपाटीले भानुको सम्मान हुँदैन।’

कवि क्षेत्रप्रताप अधिकारीको पाँचौं स्मृति दिवसको अवसर पारेर आयोजना गरिएको सम्मेलनमा आदि इत्यादि समूहले स्वदेशी र विदेशी पर्यटक आकर्षित गर्न स्थानीयले गर्नुपर्ने पहलसम्बन्धी नाटक प्रदर्शन गरेको थियो। कार्यक्रममा सो क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण गर्ने प्रयासस्वरुप भानु नगरपालिका वडा नम्बर ४ को रानागाउँमा होमस्टे सुरु गरिसकेको जानकारी दिइयो। रानागाउँ सामुदायिक होमस्टेका सचिव रुपबहादुर रानामगरले उक्त होमस्टेमा पर्यटक आमगन सन्तोषजनक रहेको जानकारी दिए। रानागाउँबाट सजिलो पैदलयात्रा गरी करिब एक घन्टामा भानु जन्मस्थल शिखरकटेरी पुग्न सकिन्छ।

कवि सम्मेलनमा साहित्यका विभिन्न विधामा क्रियाशील व्यक्तित्वलाई पुरस्कृत पनि गरिएको थियो। क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार साहित्यिक पत्रकार मोहन दुवाललाई प्रदान गरिएको छ। त्यसैगरी, गीतल राष्ट्रिय युवा पुरस्कार नाटककार पुरु लम्साल, गीतल प्रभात प्रतिभा पुरस्कार कास्कीका उदीयमान कवि दुर्गाकिरण तिवारी र सारंगी संरक्षणमा जुटेका स्थानीय सोभित रानामगरलाई प्रदान गरियो। गीतल प्रभात राष्ट्रिय प्रतिभा पुरस्कार तनहुँमा पर्यटकीय प्रडक्ट प्याराग्लाइडिङ परीक्षणका सिलसिलामा ज्यान गुमाएका कास्कीका युवा इन्जिनियर प्रभात शर्माको नामबाट स्थापना गरिएको अध्यक्ष अधिकारीले जानकारी दिए।

प्रकाशित: २ वैशाख २०७६ ०३:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App