coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मुलकलाई सबैखाले आतंकवादबाट मुक्त गराइनेछ : ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सबैखाले अतिवाद, अशान्ति, आतंक र गडबडीबाट मुलुकलाई छिट्टै मुक्त गराइने बताएका छन्। लामो द्वन्द्व र संक्रमणकाल अन्त्य गरेर बल्ल स्थायित्वको बाटोमा हिँड्न लागेको मुलुकमा अर्को हिंसाको दुस्चक्र किमार्थ स्वीकार्य हुन सक्दैन भन्दै अतिवाद र अशान्तिबाट मुलुक छिटै मुक्त हुने उनको भनाइ छ। शान्तिपूर्ण विरोध र असहमतिलाई संविधानले नै प्रत्याभूत गरेको उल्लेख गर्दै उनले भने, ‘अवाञ्छित प्रतिगामी प्रयास र संविधानविरोधी गतिविधि कडाइका साथ नियन्त्रण गरिनेछ, यसलाई बुझेर पनि बुझ पचाउने काम नगर्न, राजनीतिक रंग दिएर हिंसालाई उचित नठह¥याउन र यस सम्बन्धमा दोहोरो मापदण्ड र लोकरिझ्याइँको बाटो नअपनाउन म सबैलाई हार्दिक आग्रह गर्दछु।’

नयाँ वर्ष २०७६ का अवसरमा आइतबार बिहान देशवासीका नाममा सम्बोधन गदै प्रधानमन्त्री ओलीले समृद्धिको अर्को पूर्वसर्त शान्ति भएको चर्चा गरे। उनले वितेका वर्षमा मुलुकले राजनीतिकरूपमा महत्वपूर्ण उपलब्धि हासिल गरेको समेत दाबी गरे। ‘अलग देश, अलग राष्ट्रिय झन्डा, अलग राष्ट्रिय गान र अलग संविधानको अभियान चलाउँदै आएको समूहले नेपालको संविधानअनुरूप राजनीतिक क्रियाकलापमा सहभागी हुने घोषणा गर्नु सामान्य विषय होइन। यससँगै मुलुकबाट पृथकतावादको अन्त्य भएको छ भन्ने सुनाउन पाउँदा मैल सन्तोष अनुभव गरिरहेको छु,’ प्रधानमन्त्रीले भने।
सम्बोधनको क्रममा सरकारले सुशासनका लागि चालेका कदमले नतिजा दिँदै गरेको बताए।

जालझेल गरेर कब्जा गरिएका सरकारी जग्गा धमाधम फिर्ता गरिँदै छन्, गरिँदै जाने छन् । राज्यको सम्पत्तिमाथि अनाधिकृत दोहनलाई सरकारले छुट दिने छैन ।

उनले घरजग्गा कारोबार, संगठित तस्करी, भन्सार÷अध्यागमनको विषय वा हुण्डी कारोबार तथा विदेशी विनिमय अपचलन, नक्कली भ्याट बिल प्रकरणदेखि सबै प्रकृतिका अवाञ्छित÷अनुचित कामको छानबिन जारी रहेको बताए। ‘जालझेल गरेर कब्जा गरिएका सरकारी जग्गा धमाधम फिर्ता गरिँदै छन्, गरिँदै जाने छन्। राज्यको सम्पत्तिमाथि अनाधिकृत दोहनलाई सरकारले छुट दिने छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘हामीलाई थाहा छ, भ्रष्टाचारविरुद्धको लडाइँ चुनौतीपूर्ण छ र यसले लामै समय लिन्छ। तर जुनसुकै मूल्य चुकाएर र जति समय लगाएर भए पनि भ्रष्टाचार उन्मूलन गरी छाड्ने अभियानमा म प्रतिबद्ध छु।’

उनले देशभर कब्जा गरिएका सरकारी जग्गा फिर्ता गराइने उनले दाबी गरे। उनले प्रश्न गर्दै भने, ‘यसअघि कुनै उच्च ओहोदामा बस्ने मान्छे छानबिनको दायरामा आएका थिए ? शंकाको घेरमा परेका र विगतमा अवाञ्छनीय काममा संलग्नहरू अहिले किन छट्पटाएका छन् ? घर जग्गा कारोबार होस् वा संगठित तस्करी, अवाञ्छित कामको छानबिन जारी छ।’ जालझेल गरेर कब्जा गरिएका सरकारी जग्गा धमाधम फिर्ता गरिँदैछ र गरिँदै जानेछ भन्दै उनले राज्यको सम्पत्तिमाथिको अनैतिक दोहनलाई सरकारले छुट नदिने पनि उल्लेख गरे।

भ्रष्ट र अनैतिक आचरण भएको मान्छे नेपाली हुनै नसक्ने उनले बताए। ‘भ्रष्टाचारीलाई कारबाही गर्दा त्यसको मुख नहेर्ने मेरो सार्वजनिक दृढता हो। उनले भने, ‘भ्रष्टाचार र अनैतिकता हाम्रो संस्कार होइन। हामी नेपाली मेहनत र पसिनामा विश्वास गर्छौ।’ सम्बोधनका क्रममा उनले सरकारले एक वर्षमा प्राप्त गरेको उपलब्धिबारे पनि चर्चा गरे। एक वर्षको अवधिमा संघीयताको जग बसाल्ले काम भएको भन्दै अब समृद्धिको यात्रा तय भएको बताए।

अबको नेपाली समाजको मूल प्रवृत्ति शान्ति, एकता र विकास हो भन्दै उनले युएइका प्रधानमन्त्रीले आप्mनो पुस्तक ‘माइ भिजन’मा चर्चा गरेको एउटा प्रसंग स्मरण गर्दै सुनाए, ‘बिहान घाम झुल्केसँगै अफ्रिकाको जंगलको एउटा सिंह आफ्नो जिउ तन्काउँछ र सोच्छ, ‘यस जंगलको सबभन्दा छिटो कुद्ने हरिणभन्दा ढिलो कुँदे भने म भोकै मर्छु। त्यसैले मैले सकेसम्म छिटो दौडनु पर्छ। त्यसैगरी, जंगलको कुनै कुनामा सुतिरहेको हरिण पनि ब्यूँझिन्छ र सोच्छ, ‘अहो अब मैले कुद्नु पर्छ, बेस्सरी कुद्नु पर्छ। यदि सिंहभन्दा ढिलो भएँ भने म मारिन्छु। मैले बाँच्नु पर्छ।’

पुरानो वर्षलाई विदाई र नयाँ वर्षको स्वागत गरिरहँदा प्रधानमन्त्री ओलीले समयलाई हेक्का राख्न आग्रह गरे। ‘हाम्रा सामु अनगिन्ती काम छन्। मैले नेतृत्व गरेको सरकारको यसै कार्यकालमा हामीले हाम्रो मुलुकलाई ‘अति कम विकसित मुलुक’को टिठलाग्दो हैसियतबाट उकास्नै पर्छ। सन् २०३० मा तोकिएको दिगो विकास लक्ष्य भेट्टाउनै पर्छ,’ उनले भने। उनले यसका लागि अफ्रिकी सिंह र हरिणको जस्तै प्रतिस्पर्धा वा दौड हुनु आवश्यक रहेको दाबी गरे। ‘जे गर्नुछ, हामीले यही एक दशकभित्र सम्पन्न गरिसक्नुपर्छ। आउँदो १०÷११ वर्षपछि आजको युवा जनसंख्या बुढ्यौलीतिर ढल्कनेछ र हाम्रो विकासको जनसांख्यिक लाभ सकिनेछ। हामीसित समयको सीमा छ, गर्नुपर्ने काम भने असीमित छन्,’ उनले भने।

उनले आफू समयको समयको गति समाउन आपूmलाई पनि तीव्र गतिको दौडमा सामेल गरिरहेको बताए। ‘प्रत्येक परिश्रमी नेपाली झैं मैले पनि आपूmलाई, हरेक दिन सामान्यतः बिहान ६ बजेदेखि राति १२ बजेसम्म सक्रिय राखेको छु,’ उनले भने, ‘मुख्य औपचारिक कार्यक्रमको मात्रै हिसाब गर्ने हो भने पनि एक वर्षमा ३ सय १४ विभिन्न कार्यक्रममा सहभागी भएको छु।’ जनतासँगको सम्वाद कुनै न कुनैरूपमा जारी राखेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व सम्हालेपछि आफूले सडक–सञ्जालको हिसाबले लामो दूरीमा रहेको कर्णाली प्रदेशको राराबाट जनतासँगको सम्वाद यात्रा थालेको बताए। ‘छोटो नै सही डोल्पा, हुम्ला, जुम्ला र सुर्खेतमा आफूलाई अड्याएर तपार्इंहरूका भावना सुन्ने र मेरा योजना सुनाउने काम गरेँ। ६ वटा प्रदेशसभालाई सम्बोधन गर्ने क्रममा त्यहाँका जनप्रतिनिधिसँग सम्वाद गरेँ। आज म यी सम्वादको सकारात्मक परिणाम देखिरहेको छु,’ प्रधानमन्त्री ओलीले भने।

प्रकाशित: २ वैशाख २०७६ ०२:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App