काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमण, ब्रिक्स सम्मेलन तथा संविधान संशोधनका विषयमा संसदीय दलमा जानकारी गराएका छन्। बुधबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रधानमन्त्री दाहालले ब्रिक्स सम्मेलन तथा समसामयिक राजनीतिक विषयमा जानकारी गराएका हुन्।
बैठकमा प्रधानमन्त्री दाहालले संविधान संशोधनका विषयमा भइरहेका छलफललगायतका विषयमा जानकारी गराएको माओवादी केन्द्रकी सांसद रेखा शर्माले जानकारी दिइन्। ‘प्रधानमन्त्रीले मुख्य रुपमा संविधान संशोधन तथा ब्रिक्स सम्मेलनका विषयमा ब्रिफिङ गर्नु भयो,’ शर्माले नागरिकन्युजसँग भनिन्, ‘कुनै निर्णय भन्दा पनि सबै विषयमा प्रधानमन्त्रीले ब्रिफिङ गर्नुभयो।’
प्रधानमन्त्री दाहालले मधेसी मोर्चाको माग सम्बोधन गर्न मुख्य रुपमा चारवटा विषयमा संविधान संशोधन गर्ने तयारी भइरहेको बताएका थिए। उनले सीमाकंन, नागरिकता, भाषा तथा राष्ट्रिय सभामा प्रतिनिधित्वलगायतका विषमया संशोधन गर्ने तयारी भएको जानकारी गराएको बैठकमा सहभागी नेताहरुले बताएका छन्। मधेसी मोर्चाले तराईम दुई प्रदेश हुनुपर्ने, अंगीकृत नागरिकलाई राज्यका उच्च पदमा पुग्न पाउने व्यवस्था गर्नुपर्नेलगायतका माग राखेका छन्।
‘मोर्चाका माग सम्बोधन गर्न मुख्य रुपमा चारवटा विषयमा संशोधन गर्ने तयारी भएको प्रधानमन्त्रीले बैठकमा जानकारी दिनु भयो,’ शर्माले भनिन्। प्रधानमन्त्रीले संविधान संशोधन गरी संविधान कार्यान्वयन गर्ने र निर्वाचन गर्ने सरकारको योजना रहेको बताएका थिए। बैठकमा दाहालले गोवाको ब्रिक्स सम्मेलन सफल, उपलब्धिपूर्ण र नेपालकालागि सुखद भएको बताएका थिए।
प्रकाशित: ३ कार्तिक २०७३ ०५:४४ बुधबार