coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

जुडोमा मनितालाई स्वर्ण

नेपालगन्ज - आठौं राष्ट्रिय खेलकुदअन्तर्गत जुडोको पहिलो दिन नेपाल पुलिसकी मनिता श्रेष्ठ प्रधानले स्वर्ण जितेकी छन् । महिला ५७ केजीमुनि फाइनलमा मनिताले प्रदेश–३ की कविता नेपालीलाई पराजित गरिन् ।

प्रदेश–३ की देवकीमाया श्रेष्ठ र गण्डकीकी सुमी थापा संयुक्त रूपमा तेस्रो भए । महिला ४८ केजीमुनि प्रदेश–५ की सोनिया भट्टले एपिएफकी धनदेवी रोकायालाई हराउँदै पहिलो भइन् ।प्रदेश–५ की शारदाकुमारी खत्री र पुलिसकी रत्ना तामाङ तेस्रो भए । ७० केजीमुनि पुलिसकी निशा चौधरी पहिलो भइन् । फाइनलमा निशाले आर्मीकी विनीता मगर खत्रीको चुनौती पन्छाइन् । प्रदेश–३ की रञ्जना खड्का तथा आर्मीकी रचना श्रेष्ठ संयुक्त रूपमा तेस्रो बने । पुरुष ६० केजीमुनि पुलिसका उमेश मगरले बाजी मारे । उनले फाइनलमा आर्मीका कर्मा तामाङलाई पन्छाए । एनआरएनएका मोहन बम तथा पुलिसका सुदेश दोङले तेस्रो स्थानमा चित्त बुझाए ।

६६ केजीमुनि फाइनलमा पुलिसका इन्द्रबहादुर श्रेष्ठले प्रदेश–३ का सुनील नगरकोटीमाथि जित दर्ता गर्दै स्वर्ण जिते । एपिएफका निर्दोष चलाउने तेस्रो स्थानमै सीमित भए । पुरुष ८१ केजीमुनि आर्मीका पवनकुमार श्रेष्ठ तथा १०० केजीमाथि प्रहरीका राजन जोशीले पहिलो स्थान कब्जा गरे । फाइनलमा पवनले पुलिसका मनीष महतो तथा राजनले प्रणितसिंह ठकुरीलाई पाखा लगाए । ८१ केजीमा एपिएफका लेलिन डंगोल र प्रदेश २ का गुड्डुकुमार सकानु तथा १०० केजीमाथि सुदूरका आशिष ओझा तेस्रो स्थानमा रहे ।

समान दुई विभाग र प्रदेश अन्तिम चारमा
काठमाडौं, वैशाख १ (नागरिक)– त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब, सुदूरपश्चिम र प्रदेश–१ आठौं राष्ट्रिय खेलकुदअन्तर्गत ४०औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको महिला टिम इभेन्टमा अन्तिम चारमा स्थान बनाउन सफल भएका छन् । त्रिभुवन आर्मीले प्रतियोगिताको पहिलो दिन आइतबार कर्णाली प्रदेशलाई २–० ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । आर्मीले फाइनल प्रवेशका लागि सुदूरपश्चिम प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि सुदूरले भने प्रदेश–२ लाई २–० ले नै हराउँदै सेमिफाइनलको यात्रा तय गरेको थियो । यस्तै सशस्त्र प्रहरी बलको एपिएफ क्लबले प्रदेश–५ लाई २–० ले पाखा लगाउँदै प्रदेश–१ संगको भेट पक्का गरेको हो । प्रदेश–१ ले गण्डकी प्रदेशलाई २–० को जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको थियो ।

प्रहरी समूहविजेता
काठमाडौं –  हक्कीको पुरुषमा नेपाल पुलिस समूह ‘ए’ को विजेता हुँदै आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ । हक्कीमा पहिलो पटक सहभागी पुलिसले डिफेन्डिङ च्याम्पियन नेपाल आर्मीलाई २–१ गोलले पराजित ग¥यो । विजेताका मनोज चौधरी र सागर आचार्यले गोल गरे । आर्मीका दीपेन्द्र ऐरले १ गोल फर्काए । समूह ‘बी’ बाट सुदूर पश्चिम प्रदेश उपविजेताका हैसियतले सेमिफाइनलमा पुगेको छ । सुदूरले प्रदेश–१ लाई ३–१ गोलले हरायो ।

प्रदेश–१ का मनीष मगरले १ गोल फर्काए । गण्डकी प्रदेशले प्रदेश–३ लाई २–० ले हराउँदा प्रेम विक र प्रदीप नेपालीले १÷१ गोल योगदान गरे । यो समूहबाट प्रदेश–५ विजेताका रूपमा सेमिफाइनलमा पुगिसकेको छ । महिलामा गण्डकीले प्रदेश–१ लाई ४–० ले पन्छायो । मीना परियारले २ तथा देविका विक र कमला रोकाले १÷१ गोल गरे । अर्को खेलमा प्रदेश ७ ले प्रदेश–३ माथि १०–० को सहज जित रच्यो । निकिता पाण्डेले ४, अनु गुरुङले ३, समरा भट्टले २ र सुनीता नेगीले १ गोल गरे ।

 कृष्णाको चौथो जित
ललितपुर–  स्क्वासको महिला राउन्ड रोविन लिगमा गण्डकी प्रदेशकी कृष्णा थापाले लगातार चौथो जित हात पारेकी छन् ।
कृष्णाले प्रदेश–३ की विपना ब्लोनलाई ३–११, ११–६, ११–७, ७–११ र ११–६ को सेटमा पराजित गरिन् । ६ खेलाडी सहभागी राउन्ड रोविन लिगमा डिफेन्डिङ च्याम्पियन प्रदेश–३ की भावना सुनुवारले चारै खेल जितेकी छन् । अब सोमबार हुने कृष्णा र भावनाबीचको खेलले उपाधि विजेताको टुंगो लाग्नेछ । पुरुष टिममा प्रदेश–३ ले एपिएफ तथा गण्डकीले प्रदेश–१ लाई समान २–० को सोझो सेटमा पाखा लगाउँदै उपाधि भेट पक्का गरे । प्रतियोगिता सोमबार सम्पन्न हुनेछ ।

 बास्केटबलः प्रदेश ५ लाई सफलता
दाङ– महिला बास्केटबलमा प्रदेश–५ ले जित हात पारेको छ  । प्रदेश–५ ले प्रदेश–१ लाई २७–२४ को झीनो अन्तरले पराजित ग¥यो । विजयी टिमका लागि अस्मिता भुजेलले ८ अंक जोडिन् । अन्य लिगमा प्रदेश–३ ले सुदूर पश्चिम प्रदेशलाई ५७–३३, पुलिसले गण्डकी प्रदेशलाई ६८–४३ र आर्मीले एपिएफलाई ४४–३७ ले हराए । प्रदेश–३ की सदिना श्रेष्ठले १७, पुलिसकी अनुषा मल्लले १६ र आर्मीकी मीना गुरुङले ९ अंक जोडे । पुरुषमा प्रदेश–५ ले कर्णाली प्रदेशलाई ६७–२८, गण्डकीले प्रदेश–२ लाई १०४–२९ ले, प्रदेश–३ ले पुलिसलाई ७७–६६ ले र प्रदेश–१ ले प्रदेश–७ लाई ७०–४० ले पाखा लगाए ।

बक्सिङ: माला र विमला फाइनलमा
बाँके– आठौं राष्ट्रिय खेलकुदअन्र्तगत महिला बक्सिङ प्रतियोगिताको तेस्रो दिनको खेलमा जित हासिल गर्दै माला राई र विमला श्रेष्ठले फाइनलमा भेट पक्का गरेका छन् । बाँकेको खजुरास्थित ज्ञानोदय माध्यमिक विद्यालयमा आइतबार भएको महिला ५१ केजी तौलसमूहको खेलमा एपिएफकी माला राईले फाइनल प्रवेश गर्ने क्रममा प्रदेश–१ की रोसिना लावतीलाई रेफ्रि स्टप कन्टेस्ट (आरएससी) को आधारमा हराइन् । आर्मीकी विमलाले पनि प्रदेश–३ की रोशनी राईलाई अंकको आधारमा ५–० ले हराइन् ।

महिला ६४ केजी तौलसमूहमा आर्मीकी पुनम रावल प्रदेश–१ की तृषा जबेगुुलाई आरएससीको आधारमा हराउँदै फाइनलमा प्रवेश गरिन् । सोही तौलको अर्को सेमिफाइनलमा एपिएफकी विनीता थापामगरले पनि प्रदेश–५ की माया चौधरीलाई एबिडी कन्टेस्टको आधारमा हराउँदै फाइनलमा पुनमसँग भेट पक्का गरिन् ।

प्रकाशित: २ वैशाख २०७६ ००:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App