७ वैशाख २०८१ शुक्रबार
खेल

बागमती नगरपालिकाद्वारा फ्रेन्ड्स स्तब्ध

बल आफ्नो नियन्त्रणमा लिन दौडिँदै बागमती (रातो) र फ्रेन्ड्सका खेलाडी। तस्बिरः टंक/नागरिक

सर्लाही - तेस्रो राजर्षि जनक कप फुटबलमा आइतबार आयोजक बागमती नगरपालिकाले कठिन जित निकालेको छ। पाँच राष्ट्रिय खेलाडीसहित मैदानमा उत्रिएको बागमतीले फ्रेन्ड्स क्लबलाई १–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो। बागमती युवा क्लबद्वारा सन्तोष श्रेष्ठ स्मृति खेलमैदानमा आयोजित खेलको अन्तिम समयमा भएको गोल नै निर्णायक बन्यो। बागमतीका रितिक खड्काले ८८औं मिनेटमा गोल गरे।

राष्ट्रिय टिमका सेन्टर फरवार्ड विमल घर्तीमगरलाई फ्रेन्ड्सका रक्षकले फल गरेपछि बागमतीले पाएको फ्रिकिक अवसर गोलमा परिणत भयो। अमित तामाङले पेनाल्टी बक्सनजिकैबाट प्रहार गरेको फ्रिकिक बललाई खड्काले फ्रेन्ड्सको जाली चुमाए। १ गोलले पछि परेलगत्तै फ्रेन्ड्सका खेलाडीले आक्रामक हुँदै बागमतीको गोलपोस्टमा दुई पटक सशक्त प्रहार गरे पनि सफल हुन सकेनन्।

संजोग महर्जनले पेनाल्टी बक्सभित्रबाट गरेको प्रहार बागमतीको गोलकिपर अरुण तामाङ बिट भइसकेको अवस्थामा विश्व अधिकारीले उत्कृष्ट बचाउ गर्दै बराबरी हुनबाट रोके। लगत्तै रमेश बर्तौलाले पेनाल्टी बक्सभित्रैबाट गरेको सशक्त प्रहार बागमतीका गोलकिपर अरुणले पन्च गर्दै उत्कृष्ट बचाउ गर्दा फ्रेन्ड्स बराबरी गर्ने राम्रो अवसरबाट चुक्यो। अतिरिक्त समयको सुरुमै फ्रेन्ड्सका खेलाडीलाई फल गरेपछि बागमतीका गौरव श्रेष्ठ रातो कार्ड खाँदै मैदानबाट बाहिरिए। पेनाल्टी बक्सनजिक बल कुदाइरहेका फ्रेन्ड्सका खेलाडीलाई ट्याकल गरेपछि श्रेष्ठलाई रेफ्री पदमबहादुर भुजेलले दोहोरो पहेंलो कार्डसहित रातो कार्ड देखाउँदा मैदान छाड्न बाध्य भए।

झन्डै ४ मिनेट १० खेलाडीमा सीमित बागमतीविरुद्ध एकपछि अर्को आक्रमण गरे पनि फ्रेन्ड्सले बराबरी गर्न सकेन र अन्ततः घर फर्कन बाध्य भयो।  म्यान अफ दी म्याच घोषित बागमतीका विमल घर्तीमगरले १० हजार नगद हात पारे। अब बागमतीको भेट सोमबार भुटानको पारो फुटबल र मगमग झापा–११ बीचको विजेतासँग हुनेछ।


 

प्रकाशित: २ वैशाख २०७६ ००:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App