७ वैशाख २०८१ शुक्रबार
समाज

ढालियो बिस्केटको लिंगो

भक्तपुर - विस्केट जात्राको क्रममा भक्तपुरको ल्योसिंखेलमा शनिबार उठाइएको ५५ हात लामो लिंगो आइतबार साँंझ ढालिएको छ। प्रत्येक वर्ष विस्केट जात्राको क्रममा चैत मसान्तमा उठाएर वैशाख १ गते ढाल्ने परम्परा अनुसार लिंगोलाई ढालिएको हो। चैत मसान्तमा उठाएर वैशाख १ गते ढाल्ने भएकोले लिंगो एक वर्ष उठेको भनाइ छ। 

लिंगो ढाल्नु अगाडि लिंगोमा बेरिएको डोरीहरुलाई फुकाइएको थियो, जसलाई स्थानीय नेपाल भाषामा बल फेनेगू (डोरी फुकाउने) भनिन्छ। विधिपूर्वक डोरीहरुलाई फुकाएपछि तानेर लिंगोलाई ढालिएको हो। 

लिंगो उठाउन सयौं युवाले घण्टौ तान्नुपर्ने भए पनि ढाल्नलाई भने त्यति बल गर्नु पर्दैन। ढाल्न सुरु गरेको केही मिनेटभित्र ढाल्ने गरिन्छ। ढाल्ने क्रममा चारैतिर डोरी फिजाई सवैतिरबाट सन्तुलित रुपमा तान्ने गरिन्छ। यसलाई स्थानीय नेपाल भाषामा न्हेलं व्याकेगू (देवतालाई निदाउन लगाउने) रुपमा लिइन्छ। 

लिंगो ढाल्ने क्रममा डोरीले जोड्ले तानेर आफूतिर ढाल्ने बल गरिन्छ। जुनतिर लिंगो ढल्यो त्यहीतिर छिटो वर्षा भई असारमा धान रोप्न पाइने विश्वासका साथ लिंगोलाई आफूतिर तान्ने प्रयास गरिन्छ। 

भक्तपुरको विस्केट जात्राको मुख्य आकर्षण यही लिंगो उठाउनु र ढाल्नु हो। त्यसकारण लिंगो उठाएको र ढालेको हेर्न हजारौ मानिसको भीड लाग्छ। भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रेपलान्चोकलगायत छिमेकी जिल्लाबाट पनि हजारौं जात्राप्रेमी लिंगो उठाएको र ढाल्न हेर्न आउने गर्छन्। 

विस्केट जात्राको क्रममा शनिबार बिहान नै पोटरी स्क्वायरमा उठाइएको हात नभएको लिंगो भने जात्राको अन्तिम दिन वैशाख ५ गते मात्रै ढाल्ने परम्परा छ। वैशाख ५ गते भक्तपुरको गःहिटीमा पु¥याइएको भैरवनाथको रथ तान्ने क्रमसँंगै आठ रात नौ दिन लामो विस्केट जात्रा समापन हुन्छ। 

 

प्रकाशित: १ वैशाख २०७६ १४:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App