८ वैशाख २०८१ शनिबार
खेल

जो देश बोकेर क्रिकेट पिचमा जान्छिन्

राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री कुनै समय भलिबलको अब्बल खेलाडि थिइन्।

भलिबल खेल्नकै लागि घरदेखि टाढा–टाढासम्म पुग्थिन्। प्राय खेलमा बेस्ट स्ट्राइकर, बेस्ट प्लेयरको अवार्ड हात पार्थिन्। उनको खेलले प्रभावित नहुन कमै हुन्थे।

घरगाउँमा चर्चा थियो, ‘रुविनाले भलिबल राम्रो खेल्छे।’ साथीसंगी त उनका सदावहार प्रशंसक। 

स्कुलले उमेरकी रुविना सबैको प्रशंसाले फुरुक्क पर्थिन्। अवार्ड पाउँदा त भुँइमा खुट्टै हुँदैन थियो उनको।

स्कुलमा भलिबल प्रतियोगिता भइरहन्थ्यो। जित्ने सधैंजसो रुविनाकै टिम। अन्तरस्कुल प्रतिस्पर्धा हुन्थ्यो, उनको स्कुलले हारेको रेकर्ड कमै बन्थ्यो। 

छरछिमेकीहरु त्यहाँ क्रिकेट खेल्न आउँथे। खेल्न आउने मध्ये धेरै त उनकै आफन्त हुन्थे। एउटा अनुहार उनको दाइको पनि थपिन्थ्यो। कौसीमा बसेर उनी क्रिकेट खेलेको हेरिरहन्थिन्।

रुविना सम्झिन्छिन्– ‘भलिबलबाहेक अरु खेलमा हाम्रो स्कुलले लगानी नै गर्दैन थियो। खेले पनि भलिबल, नखेले पनि भलिबल। त्यसलै, पर्याप्त अभ्यास गर्ने मौका पाएँ।’

भलिबलमा जम्दै गर्दा रुविनाले क्रिकेट पनि खेल्न थालिसकेकी थिइन्।

क्रिकेट त उनले बच्चैदेखि खेलेकी हुन्।

झापास्थित उनको घर नजिकै चौर थियो। छिमेकीहरु त्यहाँ क्रिकेट खेल्न आउँथे। खेल्न आउनेमध्ये धेरै त उनकै आफन्त हुन्थे। एउटा अनुहार उनको दाइको पनि थपिन्थ्यो। कौसीमा बसेर उनी क्रिकेट खेलेको हेरिरहन्थिन्।

एकदिन दाइले उनलाई क्रिकेट खेलाउन लगे। त्यसदिन उनले बलिङ गरिन्। रन खर्चिन्छे भनेर ब्याटिङ गर्न अरुले दिएनन्।  

त्यसपछि दाइसँग क्रिकेट खेल्न जाने उनको रुटिन नै भयो। टाढा जानु पर्दैन थियो। घर नजिकै ग्राउन्ड थियो। चौरमा दाइहरु जम्मा भएकी उनी पुगिहाल्थिन्। 

स्कुलमा गयो भलिबल खेल्यो। घर आयो, क्रिकेट।  

हरदम खेलमै झुम्मिँदा पनि उनको पढाइमा कत्ति पनि असर पुगेन। स्कुलको ‘इन्टेलिजेन्ट’ विद्यार्थी थिइन्। लोफोफरेस बोर्डिङ स्कुलमा ६ क्लाससम्म पढ्दा उनको पढाइलाई लिएर सरहरुले कहिल्यै गुनासो गरेनन्। स्कुलमा सहयोगी र आज्ञाकारी विद्यार्थीको सूचीमा उनको नाम अग्रस्थानमै आउँथ्यो। ७ कक्षा पढ्न उनी‘नर्थ पोइन्ट इङ्लिस स्कुल’मा भर्ना भइन्। उनको ‘एक्सीलेन्सी’मा कमी आएन।

कक्षा पढ्दै गयो, भलिबल र क्रिकेटप्रति रुविनाको मोह पनि बढ्दै गयो।

स्कुल बिदा भएको दिन घरमा उनको बासै नहुने। बिहानै घरबाट निस्किएको मान्छे, दिनभरि कता हो कता। खानै खान छाडेर ‘छक्का’ र ‘चौका’ हान्न मस्त हुन्थिन्। दिनभरि घर नबसेपछि बेलुका आमाले मार गाली गर्थिन्। उस्तै परे भकुर्थिन्। 

‘छोरी मान्छे यसरी हिँड्दा केही भइहाल्ने हो कि भन्ने आमाको डर थियो,’ त्यतिबेला रिस उठे पनि हिजोआज उनलाई आमाले कुट्नु स्वाभाविक थियो जस्तो लाग्छ।

०००

रुविना ८ कक्षा पढ्दै थिइन्। कक्षा ८ को अन्तिम–अन्तिम समय थियो।

उनको आमा, मामा, दाइ र र अन्य आफन्तबीच उनलाई झापाकै एकेडेमी ‘ज्वाइन’ गराउने विषयमा छलफल भयो। रुविनाको पढाइ पनि राम्रै भएकाले एकेडेमी ज्वाइन गराइदिन कसैले पनि आनाकानी गरेनन्। 

‘पढाइ ठीकठीकै मात्र हुन्थ्यो भने राम्रोसँग पढाइ अघि बढाउन दबाब दिन्थे होला। खेल्न पनि दिन्थे कि दिँदैन थिए !,’ रुविना शंका पोख्छिन्।

एकेडेमी ज्वाइन् हुँदा रुविना ९ कक्षामा पुगिसकेकी थिइन्। 

एकेडेमीमा हरदम अभ्यास गर्नुपर्ने। बल फ्याँक्नेदेखि ब्याट चलाउने तरिकासम्म सिक्न पाइन् उनले। क्रिकेटमा पनि ठुल्ठूला प्रतिस्पर्धा हुँदा रहेछन् भन्ने पनि उनले यहीँ आएर थाहा पाइन्। सिक्ने मात्र हैन, अन्तर–स्कुल क्रिकेट प्रतिस्पर्धामा खेल्न पाइन्। यस्ता म्याच त कत्ति खेलिन्, खेलिन्।

एकेडेमीमा भएको अभ्यासले उनलाई निखार्दै लग्यो। बलिङ, ब्याटिङ, फिल्डिङ सबै सुधारिए। प्रशिक्षकले पनि उनको प्रंशसा गर्न थाले। चौरमा दाइहरुसँगै खेल्दा र अहिले एकेडेमीमा खेल्दा धेरै भिन्नता पाइन् उनले। 

२००९ को अन्तिमतिर रुविनाले जिल्लास्तरीय खेलमा भाग लिइन्। झापाले मोरङसँग खेल्नुपर्ने थियो त्यतिबेला। झापा टिमकी रुविनाले आफूसँगै खेल्ने साथीलाई पनि चिन्दिन थिइन्। आफ्नो टिममा को–को छ, उनलाई थाहा थिएन। बस्, यत्ति थाहा थियो– यो ठूलो खेल हो, मैले ‘ज्यान फालेर’ खेल्नुपर्छ।

मोरङसँगको खेलमा उनले ५ विकेट लिइन्। ‘रन’ लिनचाहिँ चुकिन्। विपक्षीले उनलाइ सुरुमै बोल्ड गराइदियो। एक रन पनि नलिई आउन आउट हुनुपर्याे। ‘म त जिरो रनमै आउट भएँ’, उनी सम्झिन्छिन्।

रन लिन नसके पनि विकेट लिएकाले उनलाई कसैले कमजोर खेलाडीको रुपमा चित्रित गरेनन्।

२०६५ को पाँचौ राष्ट्रिय खेलकुदमा उनले आफ्नो खुबी देखाइन्। त्यतिबेला पाँचौ राष्ट्रिय खेल काठमाडौंमा सञ्चालन गरिएको थियो। त्यो खेल सुदूरपश्चिमाञ्चलमा गर्ने भनिए पनि भौतिक संरचना अभावले काठमाडौंमै भएकाे थियाे। रुविनाको टिम झापाबाट क्रिकेट खेल्न काठमाडौं आइपुग्यो। झापाले नेपालगन्जसँग खेल्नुपर्ने थियो।

नेपालगन्ज त्यतिबेला क्रिकेटको ‘बाघ’। त्यहाँका कतिपय खेलाडी राष्ट्रिय टिममा समेत थिए। झापाका लागि नेपालगन्जलाई जित्नु लगभग असम्भव जस्तै थियाे। तर, भिड्नु नै थियो। रुविना एक्लैले ६ विकेट लिइन्। त्यतिबेला उनले रन पनि समेटेकी थिइन्। 

‘मैले विकेट मात्रै लिइनँ, रन पनि लिएँ। तर कति लिएँ, बिर्सिएँ,’ उनी भन्छिन्, ‘सबै साथीहरुले राम्रो प्रदर्शन गर्नुभएको थियो। हामीले नेपालगन्जलाई पाखा लगाएका थियौँ।’

यही खेलले रुविनालाई राष्ट्रिय टिममा प्रवेश र छनाेट गराइदियो। राष्ट्रिय टिमबाट पहिलो पटक खेल्दा रुविना १० कक्षा पढ्दै थिइन्।

२०१२ मा त उनी राष्ट्रिय टिमको कप्तान नै बनिन्। उनको कप्तानीमा नेपालले पहिलो पटक चीनसँग भिड्यो। उनले नेतृत्व गरेको टिमले चीनलाई पराजित गरेको थियो। दोस्रो खेल जापानसँग भएको थियो। जापानसँग भने नेपाल पराजित भयाे।

नेपाल र मलेसियाबीच हुने खेलमा १० कक्षा पढ्दै गरेकी १६ वर्षीया रुविनाले डेब्यु गर्ने भइन्। एसएलसी आउन दुई महिना बाँकी थियो। उनी मलेसिया उडिन्। नेपाललाई जिताउन मैदान पस्दाको पहिलो अनुभव सुनाउँछिन् उनी– ‘फिल्डमा जाँदै गर्दा एकदमै डर लागेको थियो। सबै जना आफूभन्दा ठुल्ठूला थिए। जर्सीमा आफ्नो नाम थियो, झण्डा थियो। सपनासँगै देशको सपना पूरा गर्नु थियो। एकदमै राम्रो खेल्छु भन्ने थियो।’

मलेसियासँग खेलेर आउँदा एसएलसी आउन एक महिना बाँकी रह्यो। उनले रातबिरात पढिन्। जसरी पनि पास हुनु थियो। राम्रो अंक ल्याउनु थियो। जेहेन्दार विद्यार्थीको शाख गुमाउने पक्षमा थिइनन्। जे जसरी होस्, एसएलसी दिइन्। 

नतिजा आयो– ७५ प्रतिशत।

रुविना हाँस्दै भन्छिन् – ‘डिस्टिङ्सन ल्याउनुपर्ने विद्यार्थी थिएँ। तर, ओके छ।’

०००

राष्ट्रिय टिममा डेब्यु गरे यता रुविनाले नेपाललाई जिताउन थुप्रै खेल खेलिसकेकी छन्। ‘२० वटा भन्दा धेरै खेलियो होला’, ठ्याक्कै त उनलाई पनि याद छैन। 

२०१२ मा त उनी राष्ट्रिय टिमको कप्तान नै बनिन्। उनको कप्तानीमा नेपालले पहिलो पटक चीनसँग भिड्यो। उनले नेतृत्व गरेको टिमले चीनलाई पराजित गरेको थियो। दोस्रो खेल जापानसँग भएको थियो। जापानसँग भने नेपाल आफैँ पराजित हुनुपर्याे।

कप्तान भएपछि दबावले थिच्ने रुविनाको अनुभव छ। भन्छिन्, ‘क्याप्टेन भएपछि सबै खेलाडिको मेन्टालिटि बुझ्नुपर्याे। उनीहरुलाई खुसी राख्नुपर्याे। डिल गुर्नपर्याे। खेलाडि हुँदा मात्रै जस्तो सजिलो हुँदैन। त्ससैमाथि राष्ट्रिय झण्डा लिएर फिल्डमा पस्दा त राष्ट्रिय भावना र जिम्मेवारी हुन्छ। गाह्रो पो हुन्छ।’

राष्ट्रका लागि मरिमेटेर खेले पनि राज्यले आफूहरुलाई वास्तै नगरेको रुविनाको गुनासो छ। सरकारले नेपाली महिला क्रिकेटरको मनोवल उच्च राख्न प्रयास नै गरेको देख्दिनन् उनी।

नेपाली महिला क्रिकेटरलाई सरकारले मासिक ‘पे’ पनि गर्दैन। क्रिकेट छाडेपछि के गर्ने, महिला क्रिकेटरहरु स्वयंलाई थाहा छैन। गेम जितेर पुरस्कार पाउनु बाहेक नेपाली महिला क्रिकेटरले सरकारबाट कुनै ठुलो उपलब्धी अहिलेसम्म भेटेको छैन। यो व्यवहारले नेपालको महिला क्रिकेट अगाडि बढ्छ जस्तो लाग्दैन रुविनालाई। 

‘हामीले यही देशका लागि मरिमेटेर खेलेका छौँ। तर, हाम्रो भविष्यका बारेमा यो देशलाई केही चिन्ता छैन,’ सरकारसँग आक्रोस पोख्छिन्, ‘क्रिकेट छाडेपछि हामीले के गर्ने ? हाम्रो परिवारलाई के जवाफ दिने ? हामीले पढाइ छाडेका छौँ। परिवारको गाली खाएर यहाँँसम्म आएको छौँ। सरकारले त्यो कुरा बुझ्दैन।’

क्रिकेट छाडेपछि रित्तो हात घर फर्किनुको विकल्प देख्दिनन्, रुविना।

ब्याचलर भर्ना गरेपछि पढाइ छाडेकी रुविनालाई कहिलेकाहीँ त पढाइ छाडेर यो क्षेत्रमा बेक्कार आएछु जस्तो लाग्छ। कहिलेकाहीँ त खेल्नै छाडिदिऊँ र अरू केही गरूँ भन्ने लाग्छ उनलाई। तर, हरेक पटक नेपालको म्याच आउनासाथ उनको मन फेरिइहाल्छ। सोच्छिन्– देशलाई धोका दिनु हुँदैन।

‘योङ ट्यालेन्ट’हरुलाई जोगाउन पनि आफूहरुले यहीँ बस्नुपर्ने बाध्यता देख्छिन् उनी। 

‘हामीले नै खेल्न छोड्यौं भने अर्काे पुस्ता कसरी आउँछ ? नेपालको महिला क्रिकेट नै ध्वस्त हुन्छ। त्यसैले सरकारले बेलैमा सोच्नुपर्छ,’ उनी भन्छिन्, ‘नयाँ जनेरेसनलाई यहाँसम्म ल्याउनकै लागि भएपनि सबैथोक सहेरै खेलिरहेका छौँ।’

नयाँ पुस्ताको क्रिकेट मोह पनि राम्रै देख्छिन् उनी। अन्तर–स्कुल कम्पिटिसहरु भइरहेको छ।

प्लेटफर्म तयार पार्ने हो भने अब आउने पुस्ताले महिला क्रिकेटमा राम्रो गर्न सक्लान् भन्ने रुविनाको आशा छ। 

 

 

आफैले ब्याट किनेर खेल्दै छु, महिला क्रिकेटरको पिडा

सम्बन्धित भिडियो :

प्रकाशित: २ वैशाख २०७६ ०७:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App