८ वैशाख २०८१ शनिबार
समाज

नयाँ वर्षकै दिन सर्लाहीमा ५ जनाको मृत्यु, ४२ घाइते

पूर्व–पश्चिम राजमार्गअन्तर्गत लालबन्दीमा पल्टिएको बस

सर्लाही - छुट्टाछुट्टै सवारी दुर्घटनामा सर्लाहीमा ५ जनाले ज्यान गुमाएका छन् भने ४२ जना घाइते भएका छन्। 

बिहान सबा ५ बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत लालबन्दी नगरपालिका–१ नवलपुरस्थित उष्णप्रदेशीय वागवानी केन्द्र अगाडि बस पल्टिँदा तीन जनाको मृत्यु भएको छ। ३२ जना घाइते भएका उक्त दुर्घटनामा पाँच जनाको अवस्था गम्भीर छ।काठमाडौंबाट पूर्व जाँदै गरेको बा३ख १३१८ नम्बरको बसमा जोशी हाइड्रोपावर सिन्धुपाल्चोकका कामदा थिए। 

रिजर्भ गरेर घर फर्कंदै गरेको बस पल्टिएको हो। दुर्घटनामा मृत्यु भएका एवं घाइते सबै सुनसरी र मोरङका छन्। 

दुर्घटनामा मोरङ दुहवी नगरपालिका–८ निवासी २३ बर्से अनिल उराउ एवं गुरही गंगा गाउँपालिका–६ निवासी २२ वर्षीय बब्ली उराउ र सुनसरी रामधुनी नगरपालिका–९ निवासी ४० वर्षीय श्रीकान्त चौधरीको घटनास्थलमै मृत्यु भएको हो। 

गम्भीर घाइते ५ जनालाई थप उपचारका लागि विराटनगरस्थित न्युरो हस्पिटल पठाइएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक किरण न्यौपानेले जानकारी दिए। 

त्यस्तै सहचालक राजकुमार नेपालीलाई उपचारका लागि काठमाडौं पठाइएको छ। सामान्य घाइतेहरुको लालबन्दीका विभिन्न अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक किरण न्यौपानेले जानकारी दिए। प्रहरीका अनुसार बसका मालिकसमेत रहेका चालक संखुवासभा जिल्ला माडी नगरपालिका–७ निवासी ४० वर्षीय लाक्पा छिरिङ शेर्पालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ। गाडी तीव्र गतिका रहेको र चालक निदाएका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ।

यसैबीच दिउँसो साँढे १ बजे कविलासी नगरपालिका–१० सलेमपुरमा टाटा भिक्टा जिप पल्टिँदा एक जनाको मृत्यु भएको छ, १० जना घाइते भएका छन्। सदरमुकाल मलंगवाबाट फर्किदै गरेको बीआर ०१ पीडी ५९५१ नम्बरको भारतीय भिक्टा जिप पल्टिएको हो। 

जिपमा सवार बागमती नगरपालिका–८ शंकरपुर निवासी ४६ वर्षीय चिरञ्जिवी पोखरेलको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते पोखरेललाई उपचारका लागि सदरमुकाम मलंगवा लगिएको थियो। उनको बाटैमा ज्यान गएको हो। मृतक पोखरेल नेपाल कम्युनिष्ट पार्टीका नेता एवं शंकरपुर सोल्टीस्थित साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष हुन्। दुर्घटनामा बागमती नगरपालिका–१० का वडाध्यक्ष शेख जुवैद, बागमती नगरपालिका–६ की वडा सदस्य मीरा कार्की, गोमा लामा, देवीकुमारी महतोलगायत ९ जना घाइते भएका छन्। गम्भीर घाइते ४ जनालाई थप उपचारका लागि भरतपुरतर्फ पठाइएको प्रहरीले जनाएको छ। 

विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई जोगाउन खोज्दा अनियन्त्रत भई जिप पल्टिएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ। मोटरसाइकल लिएर चालक भने फरार भएको प्रहरीले जनाएको छ।

यसैबीच जिल्लास्थित लालबन्दी नगरपालिका–११ हीरापुरमा बिहान साँढे ११ बजे मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। ना३८प ८२९५ नम्बर २२० सीसी पल्सर मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ३५ वर्षीया मीना जर्गा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ।

घर अगाडि बाटोमा बसिरहेकी मगरलाई बाहुनीबाट लालबन्दीतर्फ तीव्र गतिको मोटरसाइकलले ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते मीनाको लालबन्दीस्थित टेक्सास हेल्थ केयरमा उपचार क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक न्यौपानेले जानकारी दिए। मृतकको शव पोष्टमार्टमका लागि सदरमुकाम मलंगवास्थित जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनालगतै चालक भने घटनास्थलमै मोटरसाइकल छाडेर फरार भएका छन्। प्रहरीले उक्त मोटरसाइकल नियन्त्रणमा लिएको छ।

 

प्रकाशित: १ वैशाख २०७६ ११:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App