६ वैशाख २०८१ बिहीबार
अर्थ

कम्पोजिट सिलिन्डर प्रयोगमा ल्याउने तयारी

काठमाडौं-उपभोक्ताको भान्सामा प्रयोग हुने फलामे सिलिन्डरको विकल्पमा नेपाल आयल निगमले कम्पोजिट सिलिन्डर प्रयोगमा ल्याउने तयारी गरेको छ। फमाले सिलिन्डर पटकपटक पड्किएर उपभोक्ताको ज्यान गएपछि विश्वमै सुरक्षित मानिएको ‘कम्पोजिट सिलिन्डर’ प्रयोगमा ल्याउन लागेको निगमले जनाएको छ।

आगो लागे पनि नपड्किने कम्पोजिट सिलिन्डरलाई उपभोक्ताको छनोट अनुसार उद्योगमार्फत वितरण गर्ने निगमका प्रबन्ध निर्देशक गोपाल खड्काले बताए । ‘विभिन्न कारणले ग्यास सिलिन्डर बिस्फोट भएर नागरिकको ज्यान गयो,’ खड्काले भने, ‘उपभोक्ताको सुरक्षालाई ध्यानमा राखेर कम्पोजिट सिलिन्डर ल्याउन लागेका हौं ।’

प्लास्टिक र फाइबर प्रयोग गरेर कम्पोजिट सिलिन्डर बनाइने भएकाले यसमा आगो लाग्दा नपड्किने र दुर्घटना भए पनि मानवीय क्षति नहुने निगमको दाबी छ । यो सिलिन्डर अहिले प्रयोग भएको फलामको सिलिन्डरभन्दा हलुका हुन्छ । सिलिन्डरको कुल तौल २२ किलोको हुने खड्काले बताए । ‘१४.२ किलो ग्याससहित सिलिन्डर २२ किलोमात्र भएकोले हलुका हुन्छ,’ खड्काले भने, ‘नयाँ सिलिन्डर प्रयोगमा ल्याएर क्रमशः पुराना बिस्थापित गर्दै जाने योजना छ ।’

नेपालमा अहिले करिब ७८ लाख फलामे सिलिन्डर प्रयोगमा रहेको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ । ५५ वटा कम्पनीले ग्यास सिलिन्डर बेच्दै आएको भए पनि यसको नियमन निगमले गर्छ । पुराना सिलिन्डरभन्दा केही महँगो पर्ने भए पनि उपभोक्ताले स्वेच्छाले प्रयोग गर्न सक्नेछन् । सुरुमा सिलिन्डर खरिद महँगो परे पनि रिफिल गर्दा अहिलेकै मूल्य लाग्नेछ । निगमले पहिलो चरणमा यो सिलिन्डरबारे जनचेतना जगाएर बजारमा ल्याउने गृहकार्य गरेको छ ।

ग्यास उद्योगीले सिलिन्डरको नियमानुसार हाइड्रोलिक टेस्ट गरेर बजारमा ल्याउनुपर्ने भए पनि त्यसो नगर्दा समयसमयमा सिलिन्डर विस्फोट भई उपभोक्ताको ज्यान गएको सरोरकारवालाको दाबी छ । एकैपटक विस्थापित गर्न कठिन भए पनि क्रमशः यसलाई बढावा दिने योजना छ । उद्योगीले पुराना सिलिन्डर नष्ट नगर्ने, हाइड्रोलिक टेस्ट नगरेको कारण आगो लाग्ने, सिलिन्डर पड्किने गरेको आरोप खेप्दै आएका छन् ।

गत जेठ पहिलो साता ललितपुरमा ग्यास विस्फोटमा परी तीनजनाको मृत्यु भएपछि सरकारले केही कम्पनीको पिडिओसमेत रोक्का गरेको थियो ।  ग्यास विस्फोटमा मानवीय क्षति भएपछि सरकारले उद्योगीकै दबाबमा निर्णय फिर्ता लिएको थियो ।

ग्यास सिलिन्डरको गुणस्तरको विषयमा पटक—पटक कुरा उठे पछि उद्योगी, नापतौल तथा गुणस्तर विभाग, नेपाल आयल निगम, आपूर्ति व्यवस्था विभागका अधिकारी संलग्न गरी एक छानबिन टोलीसमेत गठन भएको थियो ।

ग्यास उद्योगले नियमानुसार हाइड्रोलिक टेस्ट नगरेको नाप तौल तथा गुणस्तर विभागले बताउँदै आएको छ। समयमा हाइड्रोलिक टेस्ट, भल्व, रेगुलेटर, सिलिन्डर कमसल भएको कारण दुर्घटना हुने गरेको आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको दाबी छ । नियम अनुसार ग्यास सिलिन्डर बनेको १० वर्षपछि पहिलोपटक हाइड्रोलिक टेस्ट गर्नुपर्छ । त्यसपछि प्रत्येक पाँच वर्षमा टेस्ट गर्नुपर्ने नियम छ ।  नेपाल गुणस्तर तथा नापतौल विभाग रोहबरमा टेस्ट गर्नुपर्छ । तर अधिकांश उद्योगले त्यसो गरेका छैनन् ।

साढे २ वर्षअघि गुणस्तर तथा नापतौल विभागले फाइबर सिलिन्डरको गुणस्तर र मापदण्ड पारित गरिसकेको छ । कम्पोजिट सिलिन्डर चीन, भारत, लगायत युरोपेली मुलुकमा प्रयोगमा छ । अहिले नेपालमा तीन कम्पनीले अहिले प्रचलनमा रहेका सिलिन्डर बनाएर बेच्दै आएका छन् । गृहलक्ष्मी मेटल, एरोटेक सिलिन्डर र पञ्चकन्याले सिलिन्डर बनाउँदै आए पनि केही ग्यास उद्योगले भारतबाट आयात गर्छन् । यहाँ उत्पादित र आयातित सिलिन्डर गुणस्तर विभागले परीक्षण गरेपछि मात्र ग्यास भर्न पाइने नीतिगत व्यवस्था छ ।

निगमको तयारीलाई उद्योगीले भने सकरात्मक रुपमा लिएका छैनन् । नेपाली पैसा विदेश पठाउने अर्को खेल सुरु भएको नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिव घिमिरले बताए । ‘कम्पोजिट सिलिन्डर महँगो भएकाले नेपाली उपभोक्तालाई उपयुक्त छैन,’ अध्यक्ष घिमिरेले भने, ‘नयाँ प्रयोग गर्ने बहानामा फेरि नेपाली पैसा विदेश पठाउने खेल सुरु भयो ।’ अहिले प्रयोगमा रहेका सिलिन्डरको मूल्य करिब २५ सय रुपैयाँ भए पनि कम्पोजिट सिलिन्डरको मूल्य ८–१० हजार रुपैयाँ पर्ने घिमिरले बताए । ‘प्लास्टिक भएकाले विस्फोट हुँदैन भन्नेमात्र हो,’ उनले भने, ‘तर, आगो लागेपछि नष्ट हुन्छ ।’ अहिले उपभोक्ताले सिलिन्डर किनिसकेकाले अर्को भारी बोकाउनु उपयुक्त नभएको उनले बताए।

 

 

 

प्रकाशित: ३ कार्तिक २०७३ ०४:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App