coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

खुम्बुका होटलमा कोठाको पैसा लिन सुरु

सोलुखुम्बु -  विगतमा खानाको पैसा तिरेपछि कोठामा सुत्न निःशुल्क दिँदै आएका यहाँका होटल व्यवसायीले अहिले खाने र बस्ने दुवैको पैसा दिन सुरु गरेका छन्। खुम्बुमा होटल संख्याको तुलनामा पर्यटक घटेपछि पहिले खानाको मात्र पैसा लिने गरेकामा अहिले कोठाको पनि लिन थालिएको हो।

होटल व्यवसायीले अहिले खानाको पैसा आफैं लिन्छन् भने सुतेको रकम होटल एसोसिएसनमार्फत संकलन गरिन्छ। नाम्चे होटल संघका सदस्य लामाकाजी शेर्पाले पर्यटक आगमन कम भइरहेका बेला गाइडले कोठा सहुलियतमा माग्न नछाडेकाले भाडा लिन थालिएको जानकारी दिए।
‘खुम्बुमा १५ सयदेखि दुई हजार पर्यटक धान्न सक्ने क्षमताका होटल सञ्चालनमा छन्,’ शेर्पाले भने, ‘वर्षको चार महिना पर्यटक बाक्लिन्छन् तर अन्य समयमा पर्यटक तान्न गाइडले कोठा सहुलियतका रुपमा माग्न थालेपछि यसलाई रोक्न होटल एसोसिएसनमार्फत कोठा भाडा उठाउने अवधारणा कार्यान्वयनमा ल्याएका हौं।’

यो अवधारणाले होटल व्यवसायीलाई फाइदा पुगेको शेर्पाको बुझाइ छ। व्यवसायीले पर्यटक तानातान हुँदा कोठा भाडा निःशुल्क दिने गरेपछि अस्वस्थ प्रतिस्पर्धा रोक्न एसोसिएसनमार्फत कोठा भाडा उठाउन थालेको शेर्पाको भनाइ छ। लुक्लाबाट माथिल्लो भाग जाने पर्यटकले एसोसिएसनमार्फत सिंगल कोठाको पाँच सय र डबल कोठाको एक हजार भाडा बुझाउँछन्। शुल्क बुझाएबापत पर्यटकलाई होटलको नामसहितको बिल थमाइन्छ। सो बिल लिएर सम्बन्धित होटलमा गएर पर्यटक बास बस्छन् भने खानाको पैसा होटलमै तिर्छन्। व्यवसायीका अनुसार होटल रोज्न पाउने अधिकार भने पर्यटकलाई दिइएको छ। ‘होटललाई बाध्यकारी बनाइएको छैन,’ एक होटल व्यवसायीले भने।

पर्यटकलाई बास दिएबापतको पैसा होटल व्यवसायीले बिलका आधारमा एसोसिएसनमार्फत एकमुष्ठ लिनसक्ने व्यवस्था मिलाइएको छ। खुम्बु क्षेत्रमा क्रियाशील आधा दर्जन एसोसिएसनले सेवा शुल्कमार्फत जम्मा रकमको केही प्रतिशत कटौतीसमेत गर्ने गरेको अर्का व्यवसायीले बताए। यसरी कोठा भाडा संकलन गर्दा पर्यटक निःशुल्क बास बस्ने अस्वस्थ काम रोकिएको र व्यवसायीलाई फाइदा पुगेको उनीहरुको भनाइ छ।

अवैधरुपमा कोठा भाडाको नाममा रकम असुलेको गुनासो चुलिएपछि जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण भएको छ। प्रशासन कार्यालयले एक साताभित्र हाजिर हुनका लागि भन्दै गत शुक्रबार पत्राचार गरेको प्रमुख जिल्ला अधिकारी नरेन्द्र राना मगरले बताए। उनले भने, ‘गुनासोको आधारमा यथार्थ बुझ्नका लागि पत्र काटेका छौं। सत्य कुरा बुझेर कारबाही अघि बढाउछौं।’ प्रजिअ रानाले अवैध रुपमा उठाइने शुल्क संकलन बन्द गर्ने बताए। उनले कोठा भाडा सम्बन्धित होटल सञ्चालकले उठाउनुपर्ने बताए।

खुम्बु पासाङल्हामू गाउँपालिकाको वडा नं. १ बाहेकका ४ वडामा झन्डै आधा दर्जन होटल एसोसियसनको नाममा रकम उठाउने काम भइरहेको छ। गाउँपालिकाले पनि एसोसियसनमार्फत रकम संकलन कार्यलाई उचित मानेको छैन। प्रवक्ता ल्हाक्पाछिरी शेर्पाले एसोसियनले होटल व्यवसायीलाई स्वस्थ प्रतिस्पर्धामा उत्रन सहयोग गर्नुपर्ने बताए। ‘व्यवसायीलाई सहजीकरण गरेर बेग्लै कोठा भाडा संकलन गर्न रोके बाहिर नराम्रो सन्देश पनि जादैन। व्यवसायी आँफै सुध्रिए मात्र अस्वस्थ प्रतिस्पर्धा रोकिन्छ।’ हाल गाउँपालिकामा चारवटा होटल एसोसियन दर्ता भएका छन् भने केही दर्ता प्रक्रियामा छन्।

होटल व्यवसायीको यो कदमले पर्यटन वर्ष सन् २०२० लाई समेत प्रभाव पार्ने पर्यटन व्यवसायी बताउँछन्। पर्यटन व्यवसायी कर्मा शेर्पाले बेग्लै कोठा भाडा उठाउने काम नरोक्ने हो भने पर्यटन वर्षमा अपेक्षित उपलब्धि हासिल गर्न मुस्किल पर्ने बताए। अर्का पर्यटन व्यवसायी छिमिग्याल्जेन शेर्पाले मर्कामा परेका होटल व्यवसायीलाई एसोसियसन माध्यम बनेर राहत दिलाउने काम काम स्वागतयोग्य रहेको बताए। उनले भने, ‘ट्रेकिङ एजेन्सिजले पर्यटकसँग मनग्य रकम असुलेर कोठा भाडा तिर्न आनाकानी र अनावश्यक बार्गेनिङ गरेका कारण यो अवस्था आएको हो।’ सल्लेरीमा एउटा कोठाको दुई हजारसम्म तिर्न तयार हुने तर खुम्बु क्षेत्रमा पाँच सय पनि तिर्न तयार नहुने गाइडको मानसिकताकै कारण होटल व्यवसायी धरासायी बन्दै गएको पर्यटन व्यवसायी शेर्पाको भनाइ छ।

प्रकाशित: १ वैशाख २०७६ ०३:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App