coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘पहिलो दिन सोचे भन्दा बढी सफलता’

इस्लामिक स्टेटको नियन्त्रणमा रहेको मोसुलमा आक्रमणकालागि प्रस्थान गर्दै।

बगदाद–इराकको मोसुल सहरमा इस्लामिक स्टेट आइएसका लडाकुहरुविरुद्ध इराकी फौजले पहिलो दिन गरेको कारवाही तय गरेको समयभन्दा अगाडि नै सकिएको पेन्टागनले बताएको छ । आक्रमणको पहिलो दिन इराकको सरकारी फौज र कुर्द लडाकुले उल्लेखनीय प्रगति हासिल गरेको पेन्टागनका प्रवक्ता पिटर कुकले बताएका छन् ।  
सन् २०१४ को जुनमा विद्रोही समूह इस्लामिक स्टेटले आफ्नो कब्जामा लिएको मोसुल शहरलाई उनीहरुको नियन्त्रणबाट मुक्त पार्नका लागि इराकी सरकारी फौजसहितको विभिन्न समूहको गठबन्धनले सोमबार सबेरैबाट त्यहाँ सैन्य कारबाही शुरु गरेको थियो ।

तर पेन्टागनका प्रवक्ता पिटर कुकले निर्णायक लडाइँ लामो समय चल्न सक्ने बताएका छन् । उनका अनुसार आइएस लडाकुले ‘स्ट्यान्ड एन्ड फाइट’ रणनीति अनुरुप इराकी फौजमाथि रातभर आक्रमण जारी राखेका थिए । तर कुकले शुरुको दिनको लडाइँले इराकी फौज आफ्नो उद्देश्य हासि ल गर्नका लागि निकै नजिक रहेको देखाएको बताए ।

महिनौंको तयारीपछि इराकको सरकारी फौज, कुर्दको पेशमेर्गा फौज र सुन्नी लडाकुहरुसहितको ३० हजार फौजले, इस्लामिक स्टेटको बलियो पकड रहेको मोसुल क्षेत्रमा सोमबार बिहानैबाट आक्रमण थालेका थिए । आक्रमणका लागि अमेरिकी लडाकुविमानहरुले सघाइरहेका छन् । वासिङ्टनमा सञ्चारकर्मीसँग बोल्दै कुकले मोसुललाई मुक्त गर्ने योजना अनुसार शुरु भएको अभियान अपेक्षा गरेभन्दा राम्रोसँग अघि बढिरहेको बताए ।

जे परे पनि जुध्नका लागि इराकसँग क्षमता भएको भन्दै त्यसका लागि सहयोग गर्न आफूहरु र बाँकी गठबन्धन तयार रहेको कुकले बताए ।

मोसुलमा चार हजार देखि आठ हजारको संख्यामा इस्लामिक स्टेटका लडाकु रहेको ठानिएको छ । कारबाही थालेको शुरुका केही घण्टामा कुर्दहरुले धेरै गाउँ आफ्नो नियन्त्रणमा लिएका थिए ।

सोमबार साँझ उनीहरुले २४ घण्टाभित्र नौ वटा गाउँ र दुई सय वर्ग किलोमिटरको क्षेत्र कब्जामा लिनेसहित आफ्ना सबै मुख्य उद्देश्यहरु पूरा भएको घोषणा गरेका थिए । यसैबीच, संयुक्त राष्ट्रसंघले लडाईँका कारण विस्थापित भएका हुनसक्ने गैरसैनिकका लागि आपत्कालिन शिविर बनाउन उसले तीव्र गतिमा काम गरिरहेको बताएको छ ।

चार लाख मानिसहरुलाई पुग्ने खाना र पाल आफुसँग रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । तर मोसुलमा फसेका सर्वसाधारण भने दोहोरो दुविधामा रहेको बताइएको छ । बिबिसी संवाददाताले त्यहाँका जनतामा आफूहरु आइएसको चंगुलबाट मुक्त हुन लागेको खुशी भएपनि यदि त्यसो हुन नसके आफूमाथि आइएसले कस्तो व्यवहार गर्ला चिन्ता रहेको बताएका छन् । युद्धका कारण एक लाख भन्दा बढी इराकी सिरिया वा अन्यत्र छिमेकी देशमा शरण लिन जाने संयुक्त राष्ट्रसंघको अनुमान छ । त्यसैले संघले यसरी भाग्नेहरुका लागि टेन्ट तथा खानाको व्यवस्था गर्न आफूहरु तयार रहेको बताएको छ । त्योसँगै आइएसले युद्ध हार्दै गए मोसुलका सर्वसाधारणलाई ढाल बनाउन सक्ने चिन्ता पनि संघले व्यक्त गरेको छ ।


 

 

प्रकाशित: ३ कार्तिक २०७३ ०४:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App