coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

२० लाख पर्यटकको लक्ष्य चुनौतीपूर्ण

पोखरा फेवातालमा शनिबार डुंगा सयर गर्दै विदेशी पर्यटक। तस्बिर: उमेश पुन÷नागरिक

पोखरा - सन् २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यका साथ सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’ अभियान सुरु गरेको छ। पर्यटकीय सहर पोखराबाट शनिबार राष्ट्रियस्तरको यो अभियान थालनी भए पनि अहिलेकै पूर्वाधारका भरमा सरकारी लक्ष्य पूरा गर्न सहज नभएको व्यवसायीले बताएका छन्। पर्यटक भित्र्याउन सबैभन्दा बढी चुनौती पूर्वाधार अभाव रहेको व्यवसायीको भनाइ छ।

नेपाल पर्यटन बोर्डका अनुसार सन् २०१८ मा नेपालमा ११ लाख ७३ हजार विदेशी पर्यटक भित्रिएको तथ्यांक छ। यो संख्यालाई झन्डै दोब्बर पार्ने लक्ष्य यो अभियानमार्फत पूरा गर्न खोजिएपनि नेपालबारे अन्तर्राष्ट्रिय बजारमा प्रचारप्रसार कम हुनु र पूर्वाधार अभावमा पाहुनाको आउजाउ सहज नहुँदा लक्ष्य पूरा गर्न चुनौती रहेको व्यवसायीले बताए। पश्चिमाञ्चल होटल संघका निवर्तमान अध्यक्ष भरतराज पराजुलीले सरकारको यो लक्ष्य पूरा गर्न अहिलेको गतिले नहुने बताए। ‘पूर्वाधारलाई गति दिने र अबको ६ महिनामा प्रचारप्रसारलाई सरकारले भने झैं वायुपंखी घोडाको तालमा लगेमात्र २० लाख पर्यटक पुग्छन्। नत्र सरकारी लक्ष्य पुग्न सहज छैन,’ उनले भने, ‘पूर्वाधार बनाउछुँ र प्रचारप्रसार गर्छु भनेर मात्र हुँदैन, ती कामको थालनी गरिहाल्नुपर्छ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलको मर्मत सकेर २४ सै घण्टा सञ्चालन गर्ने र भैरहवामा बनिरहेको अन्तर्राष्ट्रिय विमानस्थल यही वर्ष सञ्चालन भएको खण्डमा केही सहज भए पनि ती पूर्वाधारको गति अझै तीव्र हुनुपर्ने उनले बताए। ‘सरकारले घोषणा गरेर मात्र हुँदैन। पूर्वाधार बनाउँछु भनेर मात्र हुँदैन, कामले गति दिनुपर्छ, अनि बल्ल पर्यटक आउँछन,’ उनले भने, ‘राज्य कस्सिएर लाग्नुपर्छ।’ सरकारले कामभन्दा कुरा बढी गरेकोले जनता भुलिरहे पनि अब त्यो अवस्था नरहेको उनले बताए। ‘घोडाको दौडको गतिमा गतिविधि गरिएमात्र सरकारी लक्ष्य पूरा हुन्छ, नत्र लक्ष्य पुग्दैन,’ उनले भने, ‘सरकारले नाराको रुपमा मात्र राखेर हुँदैन। यसलाई वास्तविकतामा परिवर्तन गर्नसहज छैन।’ सरकारले सन् १९९८ मा पनि नेपाल भ्रमण वर्ष मनाउँदै त्यो वर्ष १० लाख पर्यटक भिœयाउने लक्ष्य लिए पनि त्यो लक्ष्य पूरा हुन झन्डै २० वर्ष कुर्नुपरेकाले अबको लक्ष्य पूरा गर्न पनि उत्ति सहज नभएको उनले बताए। सन् १९९८ मा १० लाख पर्यटक भिœयाउने भनिएकामा त्यो संख्या सन् २०१८ मा मात्र पूरा भएको थियो। ‘सन् २०२० को लक्ष्य पूरा गर्न अर्काे २० वर्ष कुर्ने होइन। एक वा दुई वर्षभित्र यो लक्ष्य पूरा गर्नुपर्छ। त्यसका लागि विमानस्थल, सडकजस्ता पूर्वाधार निर्माणले गति लिनुपर्छ,’ उनले भने, ‘अहिलेकै सुस्त गतिको प्रचार शैली र पूर्वाधार विकासले लक्ष्य पूरा गर्नमा आशावादी हुन सकिन्न।’
व्यवसायीका अनुसार अहिले पर्यटक आउजाउका लागि सहज हुने गरी सडक, हवाई सञ्जाल, सुविधासम्पन्न सवारीको पहुँच अभाव छ। त्यस्तै नेपाल घुम्न आऊ भनेर गरिने प्रचारप्रसारको गति पनि निकै नै सुस्त छ। पछिल्लो समय पर्यटक आगमन बढेको देखिए पनि यसको गतिले व्यवसायी उत्तिसारो उत्साही छैनन्। पोखरा पर्यटक परिषद्का पूर्वअध्यक्ष सोम थापाले सन् २०२० मा २० लाख पर्यटक भिœयाउन सकिने सम्भावना नै नरहेको बताए। ‘लक्ष्य नै लिन नहुने भन्ने होइन। तर, अहिलेको तरिकाले सरकारी लक्ष्य सहजै पूरा हुँदैन,’ थापाले भने, ‘नेपाल किन आउने भन्नै नै पर्यटकले बुभ्mन पाएका छैनन्। विदेशीलाई नेपाल आउने कारण नै दिन सकिएको छैन।’
थापाका अनुसार राष्ट्रिय ध्वजाबाहकलाई युरोपियन मुलुकको आकाशमा कालोसूचीमा राखिँदा गतिलो सन्देश पुगेको छैन। युरोपियन मुलुकको ठूलो बजार हिस्सा नै नेपालले गुमाएको उनले बताए। त्यस्तै नेपालका पूर्वाधारको अवस्था कमजोर छ। पर्यटक आकर्षण गर्ने कार्यक्रम नै दिन सकिएको छैन। ‘यत्तिकै बोलाएर विदेशी आउने होइनन्, पाहुना बोलाउने बाहना बनाउन सकिएको छैन,’ थापाले भने, ‘भित्री रुपमा मात्र अभियान चलाएर हुने होइन। विदेशी भिœयाउने रणनीति नै बनेको छैन।’
नेपालमा ‘फेक रेस्क्यू’को अवस्था डरलाग्दो रहेको भन्ने सन्देश अन्तर्राष्ट्रिय बजारमा फैलँदा पनि समस्या भएको उनले बताए। फेक रेस्क्यूमा संलग्नलाई कारबाही नहुँदा विदेशी नेपाल आउन डराएको उनले बताए। त्यसबाहेक नेपाल आएका विदेशीको बढी गतिविधि हुने पदयात्रामार्ग पछिल्लो समय मोटरबाटोले छोट्याएको छ। त्यसबाहेक प्राकृृतिक विपदका घटना पनि बढ्न थालेका छन्। यी घटनाले पनि पर्यटक नेपाल आउन डराएको उनले बताए।
‘प्राकृतिक विपद् न मान्छेले रोक्न सकिन्छ, तर पूर्वाधार निर्माण र पहुँच तथा प्रचारप्रसारमा सरकारी भूमिका निकै नै कमजोर छ,’ उनले भने, ‘नेपाल घुम्न किन जाने भन्ने पनि स्पष्ट पार्ने आधार तय हुन सकेको छैन।’ पछिल्लो समय नेपालसम्मको हवाई पहुँच कमजोर बनेको छ। ध्वजाबाहक नेपाल एयरलाइन्सको पहुँच ठूला सहरसम्म पुग्न सकेको छैन। पर्यटकीय गतिविधि पनि देखिने गरी तय भएका छैनन्। ‘कम्तिमा प्याकेज त दिन सकिन्थ्यो नि त्यो पनि हामीले दिन सकेका छैनौं,’ थापाले भने, ‘यही गतिमा सरकारी घोषणाले पूर्णता पाउन मुस्किल छ।’
पर्यटन बोर्डका पूर्वसदस्य टिकाराम सापकोटा पनि २० लाख पर्यटक भिœयाउन निकै नै चुनौतीपूर्ण रहेको बताउँछन् । आन्तरिक पूर्वाधार निकै नै कमजोर रहेको उनले बताए। ‘राष्ट्रिय ध्वजाबाहकको पहुँच नै बढ्न सकेको छैन। नेपाल वायुसेवा निगम ठूला सहरसम्म पुग्थ्यो भने त्यसले केही आशा जगाउन सक्थ्यो,’ सापकोटाले भने, ‘तर नेपालसम्मको पहुँच नै कमजोर छ।’ पर्यटक भित्रिने गरी राष्ट्रियस्तरका कार्यक्रम केही हुन नसकेको पनि उनले बताए। ‘राज्यले सन् २०२० मा नेपाल भित्रिने विदेशीका लागि विशेष केही दिनुपर्छ। अनि मात्र विदेशी आउने हुन,’ उनले भने, ‘भिसा निःशुल्क वा अरु छुट पनि दिन सकिन्छ। तर सरकारले त्यसमा ढिलाइ गरिरहेको छ।’
निजी क्षेत्र र सरकारले दिने प्याकेज नै सार्वजनिक नहुँदा विदेशीले नेपालसम्मको भ्रमण योजना बनाउन नसकेको उनले बताए। ‘यो बेला हामीले विश्वसँग पर्यटक तान्नका लागि प्रतिश्पर्धा गर्ने हो। तर, त्यो तयारी हामीले गर्न सकेनौं,’ उनले भने, ‘अरु मुलुकले अभियान बिना आक्रामक कार्यक्रम गरिरहँदा हामी भने मौन छौं। यसले गर्दा लक्ष्य भेट्न सहज छैन।’
आन्तरिक यातायात सञ्जाल पनि समस्याग्रस्त रहँदा आउजाउमा समस्या रहेको उनले बताए। नेपालसम्मको हवाई सेवा नै महंगो पर्ने भएकाले पनि पर्यटक आउन नमानेको उनले बताए। ‘प्याकेज दिन सकिन्थ्यो, राज्यले दिने अतिरिक्त सुविधा पनि दिन सकिएको छैन,’ उनले भने, ‘त्यसबाहेक नेपालबारे प्रचारप्रसार पनि ब्यापक हुन सकेको छैन।’ यतिबेला पर्यटक तान्न अरु मुलुकले आकर्षक प्याकेज दिए पनि नेपालमा त्यो हुन नसकेको उनले बताए। उनका अनुसार पछिल्लो समय श्रीलंका, थाइल्यान्ड, इन्डोनेसिया, भारतलगायत सहरले पर्यटक भिœयाउन निकै नै पहल गरेको र प्याकेज दिए पनि नेपालमा हुन नसक्दा पर्यटक ती मुलुकतिर डाइभर्ट भएको सापकोटाले बताए।
अर्का पूर्वसदस्य गणेश भट्टराईले नेपाल एयरलाइन्सको पहुँच बढाएर ब्यापक रुपमा प्रचार गर्ने हो भने मात्र सरकारी लक्ष्यको नजिक पुग्न सकिने बताए। ‘२० लाख पर्यटक त आउँदैनन्। तर नजिक पुग्न सकिन्छ,’ उनले भने, ‘त्यसका लागि ब्यापक रुपमा प्रचारप्रसार र पूर्वाधार बन्नुपर्छ। त्यसमा ढिलाइ भइसकेको छ।’
 

प्रकाशित: १ वैशाख २०७६ ००:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App