८ वैशाख २०८१ शनिबार
खेल

गर्मीमा आठौं राष्ट्रिय खेलकुद

बाँके - नेपालगन्ज रंगशालामा चहलपहल ह्वात्तै बढेको छ। अझैं पनि निर्माण भैरहेको नेपालगन्ज रंगशाला हेर्न स्थानीयले चासो देखाइरहेका छन्। रंगशालामा खेलकर्मीको भिड बढ्दै छ। आठौं राष्ट्रिय खेलकुदको माहोलले नेपालगन्जलाई दिन प्रतिदिन व्यस्त बनाउँदै गएको छ।

औपचारिक रूपमा उद्घाटन नभए पनि आठौंका केही प्रतियोगिता सुरु भैसकेको छन्। यसबीच उद्घाटन अगावै केही खेल भने सम्पन्न पनि हुनेछन्। नेपालगन्ज रंगशालामा बैशाख ५ गते आठौंको उद्घाटन हुँदै छ। आठौं राष्ट्रिय खेलकुद उद्घाटनको तयारी जसरी तीव्र गतिमा बढिरहेको छ, नेपालगन्जको मौसम पनि प्रतिकुल बन्दै छ। अत्याधिक गर्मी हुने सहर हो नेपालगन्ज। बैशाख र जेठ महिनामा त झन् अत्यासलाग्दो गर्मीले सताउँछ। जल तथा मौसम विज्ञान विभाग राझा विमानस्थल नेपालगन्जका फिल्ड इन्चार्ज अखिलेशप्रसाद चौरसियाका अनुसार नेपालगन्जको तापक्रम बढ्दो क्रममा छ।
चौरसियाका अनुसार उद्घाटन हुने भनिएको बैशाख ५ गते अधिकतम् तापक्रम ३५ देखि ४० डिग्री सेल्सियससम्म पुग्न सक्छ। आयोजक राष्ट्रिय खेलकुद परिषद्(राखेप)ले उद्घाटनलाई अहिलेसम्मकै भव्य बनाउने दाबी गर्दै आइरहेको छ। उद्घाटन समारोहमा १५ सय जनाले प्रस्तुती राख्नेछन्। बाँकेका विभिन्न विद्यालयबाट करिब ९ सय विद्यार्थी, नेपाल प्रहरी, नेपाली सेना र एपिएफका टोलीले आफ्नो प्रस्तुती देखाउँनेछन्।
३५ खेल समावेश आठौंमा ५ हजार २ सय ११ खेलाडी, ६ सय ४० प्रशिक्षक, ४ सय ६१ व्यवस्थापक र १ हजार ३ सय ९३ निर्णायक गरी करिब १० हजार जनाले आठांैमा प्रत्यक्ष रूपमा सहभागिता जनाउनेछन्। उद्घाटन भव्य गराउने तयारीसँगै आयोजकसामु अर्को एउटा चुनौती थपिएको छ, गर्मीबाट हुने सम्भावित समस्या कसरी समाधान गर्ने।

नेपालगन्जलगायत तराईका सहरमा गर्मीले हरेक वर्ष जनजीवन प्रभावित गर्छ। दिउँसो हिडडुल गर्न समेत समस्या पर्नेछ। अत्याधिक गर्मीको समयमा नेपालगन्जले बृहत खेलकुद गरिरहँदा खेलाडी भने प्रभावित हुने देखिन्छ। गर्मीले प्रतियोगितामा भाग लिने खेलाडीमा समेत मानसिक समस्या थपिने बताउँछन् नेपाल एथलेटिक्स संघका मुख्य प्रशिक्षक विक्रमजंग थापा। उनले भने, ‘हामीले अहिले खेलुकद प्रतियोगिता होस् भन्ने चाहेको थिएनौं। मंसिर गर्ने भनिएको थियो, तर सकिएन।’ बृहत् प्रतियोगिता गर्नको लागि अहिले तराई उपयुक्त नभएको बताउँछन् प्रशिक्षक थापा। उनले थपे,‘अहिलेको गर्मी मौसममा पहाडका खेलाडीलाई यहाँ खेल्न निकै गा¥हो हुन्छ। वास्तविक रूपमा राष्ट्रिय खेलका लागि अहिले अनुकुल अवस्था होइन। तर, जसरी पनि दुई वर्षमा राष्ट्रिय खेलकुद गर्नुपर्छ भन्ने नजिर बसाउन गरिएको हो।

यो वर्ष हाम्रो लागि नयाँ पाठ पनि हो।’ बैशाख ११ गते समापन हुने आठांैमा ३५ खेल समावेश गरिएको छ। २ घण्टा ३२ मिनेटको उद्घाटन कार्यक्रममा केही नयाँ प्रविधिको प्रयोग गर्ने तयारी गरिएको बताउँछन् आठौं राष्ट्रिय खेलकुदको समारोह निर्देशक कुलबहादुर थापा। उनकाअनुसार उद्घाटनमा रंगशालामा प्रकाश, सञ्चारका लागि इलेक्ट्रिक डिभाइसलगायत अन्य साधन प्रयोग गरिनेछ। उद्घाटन समारोहमा नेपाली सेनाले खुकुरी ड्रिल, ५ सय विद्यार्थीले सामूहिक नृत्य, ३ सय ६० खेलाडीले सामूहिक प्रस्तुती राख्ने तयारी भैरहेको छ। यसैगरी करिब ७ सय जनाले प्रदेश नम्बर ५ को सांस्कृतिक भेषभुषा, संस्कृति झल्कने झाकी देखाउँनेछन्। गर्मीबाट हुने सम्भावित समस्यालाई समाधान गर्न स्वास्थ्य टोलीलाई परिचालन गरिएको थापाले बताए। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले उपेन्द्र पौडेलको संयोजकत्वमा स्वास्थ्य उपसमिति बनाएको छ।
जल तथा मौसम विज्ञान विभाग राझा विमानस्थल नेपालगन्जका फिल्ड इन्चार्ज अखिलेशप्रसाद चौरसियाका अनुसार नेपालगन्जको तापक्रम बढ्दो क्रममा छ। चौरसियाका अनुसार उद्घाटन हुने भनिएको बैशाख ५ गते अधिकतम् तापक्रम ३५ देखि ४० डिग्री सेल्सियससम्म पुग्न सक्छ।

प्रकाशित: १ वैशाख २०७६ ००:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App