८ वैशाख २०८१ शनिबार
राजनीति

मधेसी दलप्रति सीके राउत कठाेर – 'जनताको नाममा सत्तामा पुग्नेको अब दुकान बन्द गरिन्छ’

सरकारसँगको सहमतिपछि जनमत पार्टी गठन गरेका सीके राउत सिरहाको मिर्चैयामा पहिलो पटक आमसभामा बोल्दै।

मिर्चैया - सरकारसँग ११ बुँदे सहमतिपछि जनमत पार्टी गठन गरी मूलधारको राजनीतिमा आएका सीके राउतले मधेसी ‘दलको दुकान’ बन्द गरिदिने चेतावनी दिएका छन्। निर्दोष मधेसी जनतालाई आन्दोलनमा अघि सारेर सत्ता भोग गर्न पल्केका मधेसी नेताको दुकान अब धेरै दिन नचल्ने राउतले कडा चेतावनी दिएका छन्। 

शनिबार मिर्चैयाको मोहान माविमा जनमत पार्टीको पहिलो जनसभामा बोल्दै राउतले सरकारसँग सम्झौतापत्रमा होइन विजयपत्रमा सहमति गरेको दाबी गरे। ‘हामीले जनमतसंग्रह मागेका थियौं’, उनले भने, ‘सरकारले हामीलाई जनअभिमत दियो।’

जनअभिमतको अर्थ उनले यसरी प्रस्ट्याए– ‘जनअभिमत भनेको जनमतसंग्रह, जनमत र जनअभिमत सबै हो। सरकारसँग भएको सहमतिअनुरुप मधेसी जनताको स्वराज स्थापनाका लागि जनमतसंग्रह, जनमत र जनअभिमत तीन वटै विकल्प खुला छ। यसकारण हामी सम्झौता होइन ‘फतेह’ (जित) हासिल गरेका हौं। हामी टाल ठोकेर भन्छौं, यो सहमतिले मधेसी जनताको एतिहासिक जित भएको छ।’ 

पहिला आफूहरु जनताका बीचमा जाँदा ‘पहिला पार्टी बनाएर आउनुस्, जनमत दिन्छौं’ भनेको र पाटी बनाएर चुनाव चिह्न राखिएको उनले त्यसै मञ्चबाट उद्घोष गरे। उनले भने, ‘अब जनमत हाम्रो पक्षमा ओइरिने छ। हिजो जुन सरकारले हामीमाथि दमन गथ्र्यो, त्यही सरकार आज हाम्रो सुरक्षामा उभिएका छन् उनले थपे, ‘समयको खेल कहिले कसको पल्ला भारी कहिले कसको।’ 

उपप्रधानमन्त्री एवं संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवप्रति आक्रामक हुँदै राउतले भने, ‘सत्ताका लागि निर्दोष मधेसीको सासको सिँढी बनाउने खेल अब धेरै दिन चल्नेवाला छैन।’ 

मधेस र मधेसी जनताको जीवनमा सकारात्मक परिवर्तन अनभूति गराउन नसक्ने मधेसी दलका नेताहरुलाई अब यहाँका जनताले पाखा लगाउने उनले बताए। राष्ट्रिय जनता पार्टी (राजपा)प्रति लक्षित गर्दै उनले भने, ‘आफ्ना कार्यकर्तामाथि लागेका मुद्दा फिर्ता गराउन नसक्नेले मधेसी जनताको हक रक्षा कसरी गर्न सक्छ।’

आफूहरुले कार्यकर्तामा लागेका सम्पूण मुद्दा फिर्ता गराएका भन्दै उनले कुनै दलका नेतासँग सहमति नगरेको प्रस्ट पार्दै सरकारसँग प्रतिबद्धता गरेको दाबी गरे। 

 

प्रकाशित: ३० चैत्र २०७५ १३:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App