coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

राजधानीमा डेंगे फैलिएला, सावधान !

काठमाडौं- प्रत्येक तीनदेखि पाँच वर्षान्तरमा महामारीझैं देखा पर्ने प्रवृत्तिको डेंगे ज्वरोका बिरामी यही साता राजधानी काठमाडौंमै भेटिएका छन् तर सरकारले रोग फैलन नदिन कुनै चासो देखाएको छैन।

दसैंलगत्तै संक्रमित क्षेत्रबाट फर्किएका र त्यहाँ नपुगेकासमेत गरी राजधानीमै १२ जनामा डेंगे प्रमाणित भएको छ । यसको महामारी थप क्षेत्र र व्यक्तिसम्म फैलन नदिन आवश्यक सावधानीका निम्ति भने अहिलेसम्म कुनै कार्यक्रम सुरु भएको छैन ।

सफा पानीमा बस्ने र दिउँसो टोक्ने स्वभावको डेंगे सार्ने लामखुट्टे प्रशस्त रहेको, यस्ता लामखुट्टेलाई उपयुक्त पर्याप्त स्थान रहनु र बढी जनघनत्व भएकैले राजधानी उपत्यकामा यो रोग फैलिए ठूलो क्षति हुन सक्ने शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् ।

‘यो रोगले महामारीको रुप लिने साइकल हेर्दा पनि ३ देखि ६ वर्षमा जोखिम बढी हुन्छ,’ पुनले थपे, ‘नेपालमा सन् २०१० मा ठूलो महामारी फैलिएको थियो ।’

चिकित्सकले शरीरमा डेंगे भाइरस बोकेका बिरामीको काठमाडौं आवतजावत धेरै भएकाले उपत्यकामा रोग फैलिन सक्ने बताएका छन् । 

अव्यवस्थित सहरीकरणको दुष्परिणामको रुपमा लिइने डेंगेका काठमाडौंमा मंगलबार दुईसहित पछिल्ला ६ दिनमा १२ जना बिरामी भेटिएका छन् । तीमध्ये एक जना काठमाडौंबाहिरै नगएका र बाँकीले हाल बढी फैलिएको चितवन पुगेर फर्केका थिए । विभिन्न अध्ययनले काठमाडौंमा समेत डेंगे फैलाउने ‘एडिस एजिप्टाई’ प्रजाति लामखुट्टे ठूलो मात्रामा भएको र दुई वर्षदेखि फाट्टफुट्ट रुपमा स्थानीय तहमा समेत संक्रमण  देखिइरहेकाले पनि चिकित्सक बढी चिन्तित छन् । खासगरी विगतका वर्षमा समेत मंसिरको मध्यतिरसम्म डेंगे फैलने र कात्तिकमा यस्ता ‘केस’ बढ्ने गरेको छ ।

यस प्रजातिको लामखुट्टेले संक्रमित व्यक्तिलाई टोकेपछि स्वस्थ मानिसलाई टोक्नासाथ डेंगे सार्छ । नेपालमा सन् २००४ मा पहिलोपटक देखा परेको डेंगेले २००६ मा र सन् २०१० मा महामारीको रुप लिएको थियो । सन् २०१० मा हजारौ संक्रमित र १९ जनाको ज्यान गएको थियो ।

पछिल्ला दिन ठूलो संख्यामा बिरामीसमेत देखिन थालेसँगै विज्ञले रोग फैलन सक्ने औंल्याएका छन् । ‘अहिले फाट्टफुट्ट मात्रै छ, सावधान भइएन भने अबको केही सातामै केस ह्वात्तै भएर जाने देखिन्छ,’ पुनले भने ।

काठमाडौंमा पानी अभाव रहेकाले संकलन गरेर राख्ने प्रवृत्ति, जथाभाबी थोत्रा टायर, गमला प्रयोग र प्रशस्त पानी जम्ने ठाउँ रहेकाले लामखुट्टेको संख्या वृद्धिका लागि उपयुक्त वातावरण रहेको विज्ञ बताउँछन् ।

महामारी नियन्त्रण एवं रोकथाम जिम्मेवारी पाएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अधिकांश केस बाहिरबाट आएको हुनाले चिन्तित हुनु नपर्ने भन्दै कुनै विशेष अभियान नगरिएको जनाएको छ । ‘सतर्क त हुनुपर्छ, तर विशेष अभियान नै चलाउनुपर्ने अवस्था होइन,’ महाशाखाका निर्देशक डा. भीम आचार्यले नागरिकसँग भने, ‘ठूलो संख्यामा बिरामी आए सोचौंला ।’

सोही महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीका अनुसार राजधानीमै यस्तो सरुवा रोग फैलिए राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा समेत नकारात्मक प्रभाव पर्न सक्छ । त्यसले पर्यटन र कूटनीतिक क्षेत्रमा समेत नेपालको छविमै असर पार्ने भएकाले राजधानीमा रोग फैलन नदिन तत्कालै विशेष सावधानी आवश्यक छ ।

‘सुरुमा केस देखिन थालेको ७ देखि १० दिनपछि  ह्वात्तै हुन थाल्छ, एक दर्जन केस देखिइसकेका छन्,’ मरासिनीले भने, ‘अब पैसाको पर्वाह नगरी तत्काल जोखिम घटाउने विशेष अभियान चाहिन्छ, राजधानीमा फैलिँदो स्वास्थ्य र अन्य क्षतिसमेत महँगो पर्छ ।’

सरुवारोग विशेषज्ञ डा. पुनले पनि उपत्यकामा रोग फैलिए नियन्त्रण गर्न कठिन हुने र कूटनीतिक क्षेत्रमा संवेदशील असर पार्ने भएकाले पनि तत्कालै सावधानी चाहिने बताए । ‘अहिले बिरामीको बसोबास रहेको र बढी एडिस लामखुट्टे रहेको क्षेत्रमा खोजी गर्ने र नष्ट गर्ने (सर्च एन्ड डिस्टोइड) अभियान चलाइहाल्नुपर्छ,’ पुनले भने ।

मरासिनीका अनुसार कुनै रोगको हल्ला आउनासाथ विकसित देशका राजदूत नै मन्त्रालयमै पुगेर ‘हामी सुरक्षित छौं’ भनेर चासो राख्ने गरेका प्रशस्त दृष्टान्त छन् । ‘विश्व स्वास्थ्य संगठनले समेत केही समयअघि अन्तर्राष्ट्रिय विमानस्थल वरपर एडिस जातको लामखुट्टे छ÷छैन, समय–समयमा अनुगमन गरेर रिपोर्ट गर भनिसकेको छ,’ डा. मरासिनीले भने, ‘बर्डफ्लु  देखापर्दा जापानिज र अमेरिकन राजदूत मन्त्रालयमै आएर हामी सुरक्षित छौं भनेर सोधेका थिए ।’

डा. मरासिनीका अनुसार राजधानीमा झन् बढी लामखुट्टेले फुल पार्ने उपयुक्त स्थान टायर, गमला पानी जम्मा हुने ठाउँ बढी भएकाले पनि रोग बढी फैलन सक्छ । विज्ञका अनुसार मनसुन सकिएर पानी पर्न बन्द भएपछिको मौसममा बढी यस्तो प्रजातिको लामखुट्टेले बिडिङ गर्छ । ‘भर्खरै बिडिङ भएको लामखुट्टे झन् बढी आक्रामक र खन्चुवासमेत हुन्छ,’ उनले भने, ‘यस आधारमा पनि जोखिम यही समयमा बढी हुन्छ ।’ उनले दिल्लीमा रोग फैलिए पनि सबैका लागि टाउको दुखाइ बनिसकेको भन्दै काठमाडौंमा त्यस्तो अवस्था आउन दिन नहुने बताए । वर्षात छँदासम्म लगातार पानी पर्ने भएकाले लामखुट्टेले फुल पार्न अवसर कम हुन्छ, सकिएपछि पानी कम पर्ने हुँदा जमेको पानीमा बढी वृद्धि गर्छ । काठमाडौंमा पानीको अभाव भएकाले पानी संकलन बढी हुनुले पनि सफा पानीमा फुल पार्ने लामखुट्टेका लागि उपयुक्त स्थान हुने विशेषज्ञ बताउँछन् ।

साउनयता मात्रै देशभर २ सय ४२ जनामा डेंगे प्रमाणित भइसकेकोमा २ सय १९ चितवनमा छन् । तीमध्ये १ सय ७८ जना रत्ननगर नगरपालिकाको टाँडी क्षेत्रमा प्रमाणित भएका छन् ।

सन् २००६ र २०१० मा डेंगे फैलिएसँगै सौराहाको पर्यटन उद्योगमै असर परेको जानकार बताउँछन् । ती क्षेत्रमा भने ‘सर्च एन्ड डिस्टोइड’ अभियान पर्सिदेखि सञ्चालन गरिने तयारी भएको महाशाखाका जनस्वास्थ्य अधिकृत रेशम लामिछानेले बताए ।

लामिछानेका अनुसार महाशाखासँग स्टक भएको परीक्षण गर्ने करिब ५ सय किट सकिइसकेको छ ।

चिकित्सकका अनुसार संक्रमित लामखुट्टेले टोकेपछि करिब ४८ घन्टासम्म रगतमा भाइरस फैलिन्छ । त्यही अवस्थामा अर्को लामखुट्टेले बिरामीलाई टोकेर स्वस्थ मानिसलाई टोके यो रोग सर्छ । लामखुट्टेले टोकेपछि मानिसमा यसको लक्षण तीनदेखि १४ दिनभित्र देखिन्छ । पहिलोपटक संक्रमण फैलिएका ठाउँमा सामान्य रुघाखोकी र ज्वरोको लक्षण देखिने, जटिलता कम देखिने हुनाले औषधि खाएर पनि निको हुन सक्छ तर दोस्रोपटक फरक भाइरस भएको लामखुट्टेले टोक्दा जटिलता बढ्छ ।

डेंगेको खोप र छुट्टै उपचार छैन । बिरामीको उपचार लक्षणका आधारमा गरिन्छ ।  डेंगे सक्रमण गर्दा शरीरमा रगत जम्ने प्रक्रिया अव्यवस्थित हुन्छ । यसले घातक रूप लिँदा छाला, पेट, आन्द्राजस्ता शरीरका भित्री भागमा रक्तश्राव हुन्छ । भाइरसले रगतमा भएको प्लेटलेट्सलाई आक्रमण गर्छ ।

सावधानी

डेंगे सार्ने लामखुट्टेले दिउँसोको समयमा टोक्ने हुँदा टोकाइवाट बच्ने

सफा पानी पनि छोपेर राख्ने 

खुला ठाउँमा पानी जम्न नदिने

झ्यालढोकामा तार जाली लगाउने

बिरामीलाई कम्तीमा पाँच दिनसम्म अलग्याएर राख्ने

घर तथा छिमेकमा लक्षण देखिए स्वास्थ्य संस्थामा खबर गर्ने

डेंगेका अवस्था र लक्षण

डेगी फिबरमा

उच्च ज्वरो

टाउको दुख्नु

आँखाको गेडी दुख्नु

जोर्नी

 फ्लुजस्तो लक्षण

डेंगे सक सिन्ड्रोमका लक्षण

पेट दुख्नु

नाक, गिजा, तथा आन्द्राबाट रक्तस्राव हुनु

छालामा राता टाटा देखिनु

लगातार वान्ता हुनु

वान्तामा रगत देखिनु

कालो दिसा हुनु

अत्यधिक तिर्खा लाग्नु

कमजोरी महसुस हुनु

प्रकाशित: ३ कार्तिक २०७३ ०३:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App